कृष्ण बाबु घिमिरे
आ.व. २०८१/०८२ को सुरुवातसँगै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले बचत तथा मुद्दती खाताको व्याजदर सर्लक्कै घटाएका छन् । वाणिज्य बैंकहरुले साधारण बचत खातामा सरदर ३ प्रतिशत मात्र ब्याज दिने र सरदर ६ प्रतिशत मुद्दती खातामा व्याज दिने गरी आ–आफ्ना दर सार्वजनिक गरेका छन् ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरे अनुसार उपभोक्ता मुद्रास्फिती सरदरमा ५ प्रतिशत छ । यसको मतलव हिजो रु.१०० मा किन्न पाइने बस्तु आज रु.१०५ तिर्नु पर्दछ ।
प्रष्ट छ, बचतमा प्राप्त हुने ब्याजले मूल्य वृद्धिलाई धान्दैन । बचतमा ३ प्रतिशतले आम्दानी हुँदा बजार मूल्य ५ प्रतिशतले वृद्धि भएको अवस्था छ, बैंकहरुको यस्तो प्रतिक्रियात्मक कदमले बचतकर्तालाई निरुत्साहित गराउँछ । त्यसमा कुनै सन्देह छैन । विगत ५–६ महिनामा बैंकले ब्याजदर घटाउन गरेका निर्णय हेर्दा व्याजदर अझै घट्न सक्ने सम्भावना देखिन्छ ।
यसरी नै ब्याजदर घटाउँदै लगिए बचतकर्ताको मनस्थिति परिवर्तन हुन सक्छ र उनीहरुले बैंकमा निक्षेप राख्नुको सट्टा सरकार र नियमनकारी निकायको प्राथमिकतामा नपरेको क्षेत्र तथा अवैध क्षेत्रतर्फ लगानी बढाउन सक्छन् ।
त्यसले पुन : तरलता समस्या फर्किन सक्ने सम्भावना देखिन्छ । एकातर्फ बैंकहरुले लागत कम गर्न बचतको व्याजदर घटाएका छन्, जसले गर्दा बेस रेट कम हुन गइ विस्तारै कर्जाको ब्याज पनि घट्दै गएको देखिन्छ । कर्जामा ब्याजदर घटेर एकल अंकमा आएको छ, तर बजारमा कर्जाको माग छैन ।
पुराना केही व्यावसायिहरु धमाधम बन्द गर्दै कोही विदेशिए त कोही विकल्पको खोजिमै भौतारिएको देखिन्छ । हाल बैंकको ब्याज एकल अंकमा आउँदासम्म पनि नत पुराना व्यावसायीमा खुशी अनुभव छ, नत नव प्रवेशी सलबलाएको देखिन्छ ।
व्यावसायिहरु किन निराश छन् ?
एकल अंक ब्याज भएको कर्जा उपभोग गरी चालु पुँजी व्यवस्थापन गर्दै व्यवसाय विस्तार गर्दा पनि उत्पादित बस्तु बजारमा बिक्री हँुदैन, माग कम छ, लाखौं युवकहरु विदेशीए, जनसंख्या कम हुँदैछ । जसले गर्दा उत्पादनले बजार पाउने अवस्था छैन । बिक्री नाफाले सञ्चालन खर्च धान्न ठिक्क छ, बैंकको ब्याज तिर्नसम्म धौधौ अवस्था छ, यस्तो अबस्थामा नव प्रवद्र्धन,तथा व्यवसाय विस्तार कसरी हुन्छ ?, स्थिति गम्भीर छ, निराशा भन्दा थप केही छैन ।
अर्कोतर्फ बैंकले बेस रेट कम गरेको छ , कम ब्याजदरमा ग्राहक आकर्षक गर्दै कर्जा प्रवाह गर्न बैंक आतुर छन् तर परिमाण भने ठिक उल्टो छ । ब्याज कम हुँदा व्यावसायी आकर्षक नदेखिनु परिमाण दुःखद हो । सरकार तथा राष्ट्र बैंकले नै नयाँ रणनीति तय गर्न जरुरी देखिन्छ । नव व्यावसायिहरु आकर्षक तथा पुराना व्यावसायीहरुलाई टिकाइ राख्न दीर्घकालीन रणनीति तय गर्नैपर्छ ।
नेपालको कुल ग्रास्त उत्पादनको करिब २२ प्रतिशत स्थान एसएमइएस व्यवसायीहरुले योगदान गरेका छन् । भने करिब १७ लाख रोजगारी सृजना गरेका यी व्यवसायीहरु कर्जाको ब्याज घटेर एकल अंकमा आउँदासम्म उत्साही नहुनुले दीर्घकालीन टिकाउ रहन्छ भन्ने सोच्न सकिएला त ? कर्जाको ब्याजदरमा कमी आउँदा ऋण लिइसकेका वा लिनेहरूलाई पनि ब्याज कम पर्न जान्छ यो सबैका लागि सबल पक्ष हो ।
आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति ल्याउने तयारी हुँदैछ । सरकारले सम्पूर्ण व्यावसायिहरुको मर्कालाई सम्बोधन हुने गरी उत्साहजनक नीति ल्याउनुपर्दछ । ताकी घट्दै आएको बैंक ब्याजमा उच्च कर्जाको माग होस् ।
घट्दो ब्याजसँगै राष्ट्र बैंकले खुकुलो नीति ल्याउन सके पुनःबजारमा कर्जाको माग बढ्ने सम्भावना देखिन्छ । पछिल्लो समय अर्थतन्त्रमा पनि केही आशाका सकारात्मक संकेतहरु देखिएका छन् । जुन कुरा सरकार परिवर्तन पछिको धितो पत्र बजारमा देखिएको ग्रीन सिग्नलबाट बुज्न सकिन्छ ।
घटेको ब्याजदरमा स्थायित्वका साथै व्यावसायिको लागि उपयुुक्त मौद्रिक नितिको निर्माण हुन सकेको खण्डमा पक्कै पनि पुराना व्यावसायीहरु टिकिरहने र नयाँ प्रवेशिकाको सम्भावना बढ्दै जाने देखिन्छ ।
(बैंकर घिमिरेका उल्लेखित विचार निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन )