November 23rd, 2016

‘बैंकिङ हब’मै यस्तो अबस्था : शिक्षककै छैन ‘बैंकिङ खाता’

butwalनवराज कुँवर / रुपन्देहीको भैसिहवा ४ स्थित एक निजी बोर्डिङका शिक्षक रामानन्द प्रसाद मिश्रले अहिलेसम्म बैंकमा खाता खोलेका छैनन् । न उनले बैंकबाट कुनै कारोबार नै गरेका छन् । आर्थिक समस्या आइपर्दा अझै पनि उनी साहूकै शरणमा पुग्छन् । ‘५८ वर्षको भएँ, अहिलेसम्म बैंकबाट कुनै कारोबार गरेको छैन’, उनले भने, ‘बैंकबाट कारोबार गर्दा झण्झट हुन्छ भनेको सुनेको छु, त्यसैले बैंक जान मन लाग्दैन ।’ बैंकमा धनिहरुलेमात्रै कारोबार गर्ने उनको बुझाई छ । भन्छन्– ‘बैंकमा धनिहरुले मात्रै कारोबार गर्छन् । पैसा डुबिहाल्यो भने उनीहरुको ठूलो केही विग्रदैन ।’ ४५ सालमा एसएलसी पास गरेका उनी भैसिहवाका एक कृषक थिए । विगत दुई वर्षदेखि स्थानीय एक निजी विद्यालयमा अध्यापन गर्दै आएका छन् । 
 
भैसिहवाकै जितेन्द्र शाह (तेली) ले भने बैंकलाई अर्कै अर्थमा बुझेका छन् । उनलाई लाग्छ– ‘बैंकमा पैसा राख्यो भने पैसा घट्छ ।’ दुई वर्षअघि उत्तरी क्षेत्रमा पर्ने सालझण्डीमा कुनै सहकारीले ठगी गरेको सुनेपछि पैसाको कारोबार गर्ने संस्थाहरुप्रति विश्वास लाग्न छाडेको जितन्द्र बताउँछन् । ‘आफ्नै घरमा पैसा राख्दा के हुन्छ र बैंकमा राख्नुपर्यो ?’ उनी भन्छन्, ‘पैसाको सुरक्षा त आफुसँग भएपछिमात्रै हुन्छ । त्यही पनि हामीसँग धेरै पैसा कहाँ हुन्छ र बैंकमा राख्नु ?’ 
बैंकिङ हवको रुपमा विकास हुँदै गरेको बुटवलबाट झण्डै दुई कोस दक्षिण पश्चिम पुगेपछि र भैरहवाबाट त्यतिनै दुरीमा रहेको सो गाउँका नागरिकमा वित्तीय साक्षरतको अभाव प्रष्ट हुन्छ जब त्यहाँ गएर स्थानीयसँग बैंकसम्बन्धी कुरा सुरु गरिन्छ । यद्यपी त्यस ठाउँमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति शून्य भने छैन । भैसिहवाबाट करिब ३ किलोमिटर दक्षिणमा केही बैकका शाखा छन् । तर त्यहाँ कारोबार गर्नेको संख्या भने उत्ति नै पातलो छ । सरकारले पछिल्लो समय सबै कारोबारहरु बैंकिङ च्चानलबाट गर्ने÷गराउने नीति अख्तियार गरेपछि कारोबारीको संख्या बढ्न थालेको सोही क्षेत्रमा रहेको शाइन रेसुङगा डेभलपमेन्ट बैंक रुद्रपुर शाखाका म्यानेजर लेखनाथ पौडेलले बताए । 
रुपन्देहीका बुटवल र भैरहवा बैंकिङ हवका रुपमा विकास हुँदै गर्दा ती शहर आसपासका ग्रामिण भेगमा बसोबास गर्ने नागरिकमा वित्तीय साक्षरताको अवस्था एकदमै न्यून देखिन्छ । उनीहरुले बैंकलाई स्पष्ट रुपमा बुझेका छैनन् । बैंकबाट कारोबार गर्दा हुने फाइदा, बैंकको आवश्यकता बोध हुन नहुँदा बैंक तथा वित्तीय संस्थाप्रतिको नकारात्मक धारणा उनीहरुमा व्याप्त देखिन्छ । रामानन्दप्रसाद मिश्र र जितेन्द्र शाह त प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरुजस्तै धेरै नागरिकलाई अझै बैंक के का लागि र यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने कुराबारे जानकारी गराइएको छैन । भैसिहवाभन्दा उत्तरमा पर्ने रुद्रपुर, जितपुर, सालझण्डीका अलि भित्रि बस्तीका किसानहरुलाई बीमासम्बन्धी सेवाहरु थाहा छैन । व्यवसायिक रुपमा कृषिमा लाग्ने हिम्मत गरेकाहरुले आफ्नो सम्पति र कारोबारलाई बैंक तथा वित्तीय संस्थासँग अझै जोड्न नसकेको देख्न सकिन्छ ।                        15102016075407sindhupalchok
जितपुरका हरिशरण सापकोटाले २ वटा जर्सी गाई आफ्नै लगानीमा किनेर पाल्न थालेका छन् । तर उनले कुनै फर्म दर्ता गरेका छैनन् । न उनले ती गाईको बीमा नै गराएका छन् । ‘फर्म दर्ता गर्ने विचारमा छु तर बीमाबारे मैले त्यति कुरा नबुझेर नगराएको हुँ ।’ उनले भने । सरकारले वित्तीय साक्षरता विस्तार गर्ने रणनीति अवलम्बन गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको ती ग्रामिण इलाकामा पसेर नियाल्दा स्पष्ट रुपमा देख्न सकिन्छ । 

एउटा तथ्यांकले भन्छ–अझै पनि मुलुकका ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर छन् । अर्थमन्त्रालयको तथ्यांकअनुसार कम्तीमा २० प्रतिशत नागरिक वित्तीय कारोबार अझै ‘साहू–महाजन’ मार्फत नै गरिरहेका छन् । यो तथ्य र रुपन्देहीका भैसिहवा, रुद्रपुर, जितपुरका ग्रामिण इलाकामा बस्ने नागरिकको वित्तीय कारोबार गर्ने बानीलाई नियाल्ने हो भने यथार्थ अझै फरक आउने देखिन्छ । ुमलुकमा १ महानगर, १२ उपमहानगरसहित २१७ नगरपालिका र ३१५७ गाविस छन् । ७५ वटा जिल्लामा ग्रामिण इलाका हजारौँ छन् । त्यस्ता क्षेत्रमा बसोबास गर्ने बहुसंख्यक मानिसहरुलाई वित्तीय साक्षरता खाँचो छ । मुलकभर बैंक तथा वित्तीय संस्थाहरुले २९ सयको हाराहारीमा शाखा विस्तार गरेका छन् । ३३ हजारभन्दा बढी सहकारी संस्था दर्ता भएका छन् । बैंक तथा वित्तीय संस्था एवम् सहकारीको संख्यासँग तुलना गर्ने हो भने वित्तीय साक्षरता र बैंक तथा वित्तीय संस्थामा नागरिकको पहुँच भने अत्यन्तै कमजोर देखिन्छ । त्यसैले सरकारसँगै सरोकारवाला निकायको समेत यस विषयमा बेलैमा ध्यानाकर्षण हुन जरुरी छ ।