July 15th, 2024

कर्जा लगानी निराशाजनक

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ११ महिनामा निजी क्षेत्रतर्फ बैंकहरूको कर्जा लगानी निराशाजनक छ । जेठ मसान्तसम्म निक्षेप संकलन ९ प्रतिशत अर्थात् ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँले बढ्दा कर्जा लगानी जम्मा ५.१ प्रतिशत (२ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ) ले मात्र बढेको छ ।

केन्द्रीय बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र अन्य वित्त कम्पनीहरूले कुल ६२ खर्ब ६० अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५१ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अघिल्लो वर्ष ८.८ प्रतिशतले निक्षेप वृद्धि गर्दै कुल ५५ खर्ब ६८ अर्ब ६० करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैंकहरूले ४८ खर्ब ५८ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका थिए ।

बैंकमै थप्रियो पैसा

बैंकिङ प्रणाली निक्षेप थुप्रिएसँगै सीडी रेसियो लगातार घटिरहेको छ । कर्जाको माग नबढ्नु र निक्षेप थुप्रिँदै जानुले सीडी रेसियो लगातार घटिरहेको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार २६ मा बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो घटेर ७७.७५ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७७.८४ प्रतिशत थियो। बैंकहरुले सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम राख्न पाउने नियामकीय प्रावधान छ।

यसैगरी असार २६ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा एकैदिन ६ अर्ब रुपैयाँले घटेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ५० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ५६ अर्ब रुपैयाँ थियो। यो एक दिनमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी भने ५ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको छ।

असार २६ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप भने स्थिर रहँदै ६४ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ५७ अर्ब रुपैयाँ नै थियो। अघिल्लो दिनको तुलनामा वाणिज्य बैंकहरुको कुल निक्षेप भने असार २६ मा १ अर्ब रुपैयाँले बढेर ५७ खर्ब २९ अर्ब रुपैयाँ कायम भएको छ। असार २६ मा बैंकहरुको अन्तरबैंक ब्याजदर २.९८ प्रतिशत कायम भएको छ।

कर्जा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । हालै मौद्रिक नीतिको सुझाव लिन आयोजित अन्तरक्रियामा सहभागीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कर्जा विस्तार बढाउने गरी खुकुलो बनाउन सुझाव दिएका छन् ।

राष्ट्र बैंकले निजी क्षेत्रका व्यवसायी, बैंकर र अन्य सरोकारवालालाई समेत बोलाएर मौद्रिक नीति तर्जुमाको लागि छलफल गरेको थियो। सो छलफलमा व्यवसायीहरुले राष्ट्र बैंकले आगामी वर्ष अर्थतन्त्र चलायमान बनाउने गरी खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका छन्।

राष्ट्र बैंकले कर्जामा गरेको कडाइले गर्दा अर्थतन्त्रमा समेत असर गरेको भन्दै व्यवसायीहरुले कर्जा लगानी बढ्ने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने धारणा राखेका हुन्।

अहिले राष्ट्र बैंकले चालु पूँजी कर्जा, रियलस्टेट कर्जा, शेयरधितो कर्जा, ओभरड्राफ्ट कर्जा लगायतमा गरेको कडाइले गर्दा कर्जा लगानी बढ्न सकेको छैन। यसै कारण व्यवसायीहरुले कर्जा लगानी बढाउने गरी अहिले गरिएको कडाइलाई खुकुलो पर्नु पर्ने माग राखेका हुन्।

व्यवसायीहरुले शेयर धितो कर्जाको क्याप हटाउनुपर्ने, रियलस्टेट क्षेत्रमा जाने कर्जामा लचिलो नीति लिनुपर्ने, लोन टु भ्यालु रेशियो बढाउनुपर्ने तथा कर्जाको जोखिमभार घटाउनुपर्ने माग राखेका थिए। यस्तै चालु पूँजी कर्जामा समेत संशोधन गर्नुपर्ने माग उनीहरुले राखेका छन्।

अहिले कर्जा लगानी निकै सुस्त रहेको अधिकांश सहभागीले कर्जा विस्तारलाई बढाउनुपर्ने सुझाव दिएका छन्। पछिल्लो दुई वर्षमा कर्जा लगानी निकै सुस्ताएको छ। यसले गर्दा अर्थतन्त्रमानै सुस्तता आएको भन्दै सरोकारवालाहरुले अगामी वर्ष राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएर कर्जा लगानी बढाउनुपर्ने माग राखेका हुन्।