November 23rd, 2016

कसरी प्रयोग गर्ने फोरजी सेवा ?

4g२ वर्षअघि नै ल्याउने भनिएको मोबाइल कम्युनिकेशन्सको चौथो पुस्ता ‘फोरजी’ सेवा आगामी पुसको दास्रो हप्तापछि सञ्चालनमा आउने भएको छ । गत साउनमा विद्यमान फ्रिक्वेन्सी नीतिमा संशोधन गर्दै टेक्नोलोजी न्युट्रालिटी अर्थात् प्रविधि तटस्थता लागू गर्ने निर्णय भएपछि फोरजी नेटवर्क उपलब्ध गराउने तयारी सुरु भएको हो । यसअन्तर्गत अन्तर्राष्ट्रिय रुपमा प्रचलित १८०० मेगाहर्जमा नेपालमा सञ्चालित दूरसञ्चार सेवाप्रदायकलाई फोरजी सञ्चालन गर्न दिने निर्णय भएको छ । यसअनुरुप नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले सञ्चालनार्थ निवेदन दिएकोमा सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई मात्रै सुरुको चरणमा फोरजी चलाउन स्वीकृति दिइएको छ । टेलिकमले मंसिरको अन्तिम सातासम्म सबै तयारी सकी पुसको पहिलो हप्तादेखि काठमाडौं उपत्यका र पोखरामा फोरजी सञ्चालनमा ल्याउने कार्ययोजना बनाएको छ । 

उपभोक्ताले फोरजीबाट कस्तो सुविधा पाउँछन् ?
उपभोक्ताले फोरजीबाट पाउने भनेकै फास्ट डेटा सर्भिस हो । यसमा भिडियो डाउनलोडिङ र स्ट्रिमिङलगायत फास्ट हुन्छ । भिडियो च्याटिङ गर्न गाह्रो हुँदैन । ठूलो क्षमताका फाइलहरु अपलोड वा डाउनलोड गर्न सकिन्छ ।  इन्टरनेट स्पीडका कारण फेसबुक म्यासेन्जर, भाइबर, स्काइपजस्ता म्यासेजिङ एपहरुमा कुरा गर्दा आवाज नबुझिने समस्या पनि हुँदैन । त्यस्तै, म्युजिक, भिडियो, गेमलगायत विनारोकावट चलाउन सकिनेछ । 

कसरी प्रयोग गर्ने फोरजी सेवा
फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन, क्लाउड कम्प्युटिङ लगायतका सेवा प्राप्त गर्न सकिन्छ । भिडियो, भ्वाइस, तस्वीर, ग्राफिक्सलगायत उच्च गतिको इन्टरनेट चाहिँदा फोरजी प्रयोग गर्नुपर्छ भने सामान्य अवस्थामा थ्रिजी नै उपयुक्त हुन्छ ।

सुधारिएको स्पिडमा इन्टरनेट चलाउन र मोबाइल डाटामै लाइभ भिडियो हेर्न सकिने बताइएको फोरजी प्रयोग गर्न सर्वसाधारणले यसअघिको थ्रिजीभन्दा महँगो शुल्क तिर्नुपर्नेछ भने फोरजी सपोर्ट गर्ने मोबाइल, ट्याब्लेटलगायतका ह्यान्डसेट किन्नुपर्नेछ । फोरजीका लागि मोबाइल डिभाइसहरु पनि फोरजी सपोर्टेड हुनुपर्छ । यसअघि नेपाली बजारमा थ्रिजी नेटवर्क सपोर्ट गर्ने मोबाइल, ट्याब्लेट लगायतका डिभाइस भित्रिन्थे । तुलनात्मक रुपमा केही बढी शुल्क पर्ने फोरजी मोबाइलमा मात्रै यस्तो सेवा लिन सकिन्छ ।

फोरजीबाट भिडियो कललगायतका सेवा लिन सकिने भएपछि तुलनात्मक रुपमा यसको शुल्क बढी नै हुन्छ । अहिले नेपाल टेलिकम, एनसेलले भोलुमबेस्ड प्याकेजहरु पनि ल्याएका छन् । यो तुलनात्मक रुपमा महँगो छ । यसमा इन्टरनेशनल ब्यान्डविथ पनि गाँसिएको छ । यसमा लोकल स्पेक्टर्म र लाइसेन्सलगायतका कुरा पनि गाँसिन्छन् । भोलुम बढ्दै गयो भने प्राइस पनि स्वभावैले घट्छ । 

मनोरञ्जनका लागि फोरजी प्रयोग नगर्दा राम्रो 
थ्रिजी सर्भिस नै महँगो मान्ने ग्राहकका लागि फोरजी अझ कठिनाइ बन्न सक्छ । शुल्क बढी लाग्ने कारण नेपालीहरुले आनाकानी नगरी फोरजी चलाउनेमा विश्वस्त हुन सकिँदैन । तर, विस्तारै फोरजी अनुकूलको एप्लिकेशन र माग बढ्दै गए यो सस्तो पर्न सक्छ । सेवाप्रदायकले प्राइस सन्तुलनमा नल्याउँदासम्म ग्राहकले ननप्रडक्टिभ वा मनोञ्जनका लागि फोरजी कमै चलाउने आँकलन गरिएको छ ।