July 2nd, 2024

बैंक तथा वित्तीय संस्थाहरूबाट हुने शंकास्पद कारोबारमा अत्यधिक वृद्धि

 

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूबाट हुने शंकास्पद कारोबारमा वृद्धि भएको राष्ट्र बैंकको एक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू) ले सन् २०२३ मा शंकास्पद कारोबार ५७ प्रतिशतले बढेको राष्ट्र बैंकको एक प्रतिवेदनले देखाएको छ ।

सन् २०२० मा बैंक तथा वित्तीय संस्थाहरूबाट १ हजार १०३ वटा शंकास्पद कारोबार भएको देखिएको थियो। त्यसको पछिल्लो वर्ष अर्थात् २०२१ मा यस्तो कारोबार बढेर १ हजार ८५४ वटामा पुग्यो। त्यसपछिको एकै वर्षमा यस्तो कारोबारमा ४६.५९ प्रतिशतले वृद्धि भएको देखिएको छ। सन् २०२२ मा ३ हजार ९७९ वटा शंकास्पद कारोबार राष्ट्र बैंकले भेटेको थियो। सन् २०२१ को तुलनामा २०२२ मा दुई गुणाले बढेको शंकास्पद कारोबार २०२३ मा ५७ प्रतिशतले बढेको छ।

सन् २०२३ मा ६ हजार २५५ वटा शंकास्पद कारोबार बैंक तथा वित्तीय संस्थाबाट भएको देखिन्छ। जसको कुल रकम ४० अर्ब रुपैयाँबराबर हुन्छ। राष्ट्र बैंकले गरेको अध्ययनमा बैंक तथा वित्तीय संस्थाहरूबाट भएका ६ हजार २ सय ५५ वटा शंकास्पद गतिविधि र कारोबारमध्ये ८४ प्रतिशत वाणिज्य बैंकहरूबाट भएको देखाएको छ।

एक वर्षमा वाणिज्य बैंकहरूबाट ३८ अर्ब ७२ करोड रुपैयाँ बराबरको ५ हजार २८२ वटा शंकास्पद कारोबार भएको छ। यस्तै विकास बैंकबाट ४ अर्ब ७२ करोड रुपैयाँबराबरको ३३० वटा कारोबार भएका छन्। सेयर ब्रोकर कम्पनीको ४ अर्ब २९ करोड रुपैयाँबराबरको ६२ वटा कारोबार शंकास्पद देखिएका छन्। यस्तै फाइनान्स कम्पनीबाट २ अर्ब ६५ करोड रुपैयाँबराबरको ९९ वटा र रेमिट्यान्स कम्पनीबाट १ अर्ब ११ करोड रुपैयाँबराबरको १५६ वटा शंकास्पद कारोबार गरेको भेटिएको छ।

यस्तै जीवन बिमा कम्पनीमा यो वर्ष ३६ करोड रुपैयाँबराबरका २६ वटा कारोबार शंकास्पद भेटिँदा भुक्तानी प्रदायक सेवा (इसेवा, खल्ती लगायतका डिजिटल वालेट)बाट २११ वटा र पेमेन्ट सिस्टम अपरेटर (फोनपे, कनेक्ट आईपीएसलगायत) बाट ४९ वटा ११ करोड रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको भेटिएको छ।

यस्तै, लघुवित्त कम्पनीबाट २ करोड रुपैयाँबराबरको २४ वटा, सहकारीबाट ४ अर्बबराबरको २ वटा, मर्चेन्ट बैंकबाट ४ अर्ब बराबरको १ वटा र नियामक निकाय राष्ट्र बैंकबाटै ११ वटा शंकास्पद कारोबार भएका देखिएको छ।