बैंकिङ खबर/ विभिन्न देशका लघुवित्त क्षेत्रमा विभिन्न किसिमका नमुनाहरू प्रचलनमा रहेका छन् । समग्रमा यी नमुनाहरूलाई यस उप–खण्डमा प्रस्तुत गरिएको छ ।
ग्रामीण बैंकिङ मोडेल
बंगलादेशका प्राध्यापक मोहम्द युनुसले प्रतिपादन गरेको यस मोडलमा बैंकको एउटा इकाई तथा फिल्ड अफिसर अन्तर्गत कुनै निश्चित क्षेत्रमा ५–५ सेवाग्राहीहरूको समूह गठन गरिन्छ ।
पहिलो चरणमा २ जना सदस्यहरूलाई मात्र कर्जा प्रदान गरिन्छ र सो कर्जा साँवा तथा ब्याज चुक्ता गरिसकेपछि बाँकी सदस्यहरू कर्जा प्राप्त गर्नको लागि योग्य हुन्छन् । यस प्रकारको मोडेलमा समूह सदस्यहरूमा वित्तीय ज्ञानको आदान प्रदान पनि हुने तथा नयाँ सदस्यहरू योग्य हुनको लागि पुराना सदस्यहरू वित्तीय अनुशासनमा समेत बस्नु पर्ने भएकाले कर्जाको जोखिम न्यून हुन्छ ।
Self Help Group-Bank Linkage Program
भारतमा National Bank for Agriculture and Rural Development (NABARD) ले सन् १९९२/९३ मा शुरु गरेको यस कार्यक्रमको उद्देश्य वित्तीय पहुँच बाहिर रहेका जनतालाई वित्तीय सेवा पुर्याउनु रहेको छ ।
यस प्रकारको दर्ता भएको वा नभएको समूहमा १५ देखि २० जनासम्मको सदस्यहरू आबद्ध रहन सक्ने व्यवस्था छ । यस प्रकारको समूहले पञ्चसूत्रमा (नियमित रुपमा समूह बैठक, नियमित समूह बचत, आवश्यकताको आधारमा समूह भित्रका सदस्यहरूलाई कर्जा प्रवाह, समयमै कर्जा भुक्तानी र व्यवस्थित तथा अद्यावधिक रेकर्ड व्यवस्थापन) रहेर काम गर्ने गरेका छन्।
भारतीय रिजर्भ बैंकको पछिल्लो सन् २०२२ अप्रिल १ को Master Circular को SHG-Bank Linkage Program निर्देशन बमोजिम यस प्रकारको समूहको नाममा बैंक खाता खोल्न सकिने व्यवस्था रहेको छ । यस प्रकारको समूहमा बैंक बचतको अधिकतम ४ गुणासम्म समूह जमानीमा कर्जा दिन सक्ने नियामकीय व्यवस्था रहेको छ ।
संयुक्त दायित्व समूह
SHG भित्रका केही सदस्यहरूको चाडो वृति विकास हुने र बढी रकमको कर्जाको लागि योग्य हुने हुँदा नयाँ समूहको गठन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी भारतमा NABARD ले सयुक्त दायित्व समूह गठन गरेको हो।
यस अन्तर्गत लघुवित्त सेवा प्रदान गर्नको लागि बिना धितो ४–१० जनासम्मको समान किसिमको उद्यमशीलता, पेशा वा व्यवसाय गर्ने सेवाग्राही समूहलाई सामूहिक जमानीमा कर्जा प्रदान गरिन्छ । भारतमा NABARD ले सुरु गरेको यस प्रकारको मोडलमा कर्जा प्रवाह गर्ने सम्बन्धमा भारतिय रिजर्भ बैंकले सन् २०१४ नोभेम्बर १३ मा Financing या Joint Farming groups of Bhoomi Heen Kisan निर्देशन समेत जारी गरेको छ ।
यस अन्तर्गत समूहलाई एकमुष्ट वा समूह भित्रका प्रत्येक सदस्यहरूलाई लघुकर्जा प्रदान गरिन्छ । यस प्रकारको समूहमा कर्जा प्रवाह गर्नको लागि NABARD ले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई १०० प्रतिशत पुनरकर्जा प्रदान गर्ने व्यवस्था रहेको छ ।
भारतमा यस प्रकारको समूहलाई प्रदान गरेको कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जा अन्तर्गत गणना गर्ने व्यवस्था रहेको छ । यस प्रकारको लघुवित्त मोडेलहरूको विभिन्न अफ्रिकी तथा एसियाली मुलूकहरूले समेत अभ्यास गरेको पाइएको छ ।
सहकारी मोडेल
यस मोडेल अन्तर्गत लघुवित्तका सदस्यहरूले स्वयम नै शेयरधनी भइ संस्था सञ्चालन गर्ने र सामूहिक बचतबाट आवश्यकता अनुसार कर्जा प्रवाह गर्ने गर्दछन्। क्रेडिट युनियन मोडेल
यस अन्तर्गत समान हैसियत, पृष्ठभूमि तथा उद्देश्य भएका सदस्यहरूले युनियन निर्माण गर्दछन् र त्यस प्रकारको युनियन मार्फत बचत तथा कर्जा परिचालन गर्दछन्। उदाहरणको रुपमा कम्बोडियाको Cambodian Community Savings Federation (CCSF) लाई लिन सकिन्छ ।
एकल व्यक्ति कर्जा मोडेल
यस विधि अन्तर्गत लघुवित्त प्रदायक संस्थाहरूले सम्बन्धित ऋणीलाई व्यक्तिगत जमानी वा अचल सम्पत्ति धितो राखी लघुकर्जा प्रवाह गर्दछन्। यस विधि अन्तर्गत ऋणीको आवश्यकता अनुसार लघुकर्जा प्रदान गरिन्छ । साथै, ऋणीको कर्जा प्रति सामूहिक दायित्व सिर्जना हँुदैन ।