June 30th, 2024

सुदूरपश्चिम प्रदेश : निक्षेप १.९१ प्रतिशतले बढ्दा कर्जा प्रवाह ७.२८ प्रतिशतले ह्रास(पूर्णपाठ)

बैंकिङ खबर/ प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्मको निक्षेप २०८० असार मसान्तको तुलनामा १.९१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ७.२८ प्रतिशतले ह्रास आएको छ ।

राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार समीक्षा अवधिमा यातायात साधन संख्या २.७७ प्रतिशतले वृद्धि भई १ लाख ७२ हजार ६ सय २७ पुगेको छ । समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ७१.११ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन्।

समीक्षा अवधिसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल १७१ मेगावाट विद्युत उत्पादन भएको छ । समीक्षा अवधिमा यस प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या १० हजार ३ सय ८९ पुगेकोछ जुन राष्ट्रिय संख्याको तुलनामा ३.०५ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सुदूरपश्चिममा औषत रोजगारी दिन ६५.७७ रहेको छ भने जम्मा रोजगारी दिन ४७ हजार ४२२ पुगेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये समीक्षा अवधिमा १५.७६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये ११.९९ प्रतिशत खर्च भएको छ ।

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.९५ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । आ.व.२०७९/८० को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ८.०७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४९.९८ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा रोजिन, चामल, साबुन र ईटाको उत्पादन वृद्धि भएको छ भने गँहुको पीठो, चिनी र तोरीको तेलको उत्पादनमा ह्रास आएको छ ।

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १७.९४ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ६.१८ प्रतिशतले घट्न गई रु.२५ अर्ब २२ करोड ९४ लाख पुगेको छ ।

समीक्षा अवधिमा पर्यटकस्तरीय होटल तथा लजको संख्या ४.३५ प्रतिशतले बढ्न गई ४८ पुगेकोछ भने होटल शैयाको संख्या १.०५ प्रतिशतले बढेर १ हजार ६ सय ३५ पुगेकोछ । समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन संख्या १९.८६ प्रतिशतले बढेको छ भने रजिष्ट्रेशन राजस्व ३.३५ प्रतिशतले बढेको छ ।

Dhangadhi_EAR-2080.81-Half-Yearly