June 26th, 2024

बैंकहरूले पर्पेच्युअल नन–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गर्न पाउने(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्राथमिक पूँजीकोषको दबाबमा रहेका बैंकहरूलाई पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गरी समस्या समाधानको विकल्प खुला गरेको छ । पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ मा बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो उपकरणमार्फत अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था रहेकोमा कन्द्रीय बैंकले त्यसलाई कार्यान्वयनमा ल्याएको हो । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिकामा संशोधन गर्दै प्राथमिक पूँजीकोषको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानीमा भएका बैंकले भने त्यस्तो सेयर जारी गर्न नपाउने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले पूँजीकोष सबल बनाउन वैकल्पिक औजार मार्फत पूँजी थप गर्ने विकल्प खुल्ला गर्ने उल्लेख गरेको थियो । मौद्रिक नीतिको सोही व्यवस्थालाई कार्यान्वयन गर्दै उसले पर्पेच्युअल नन्–क्युमुलेटिभ (अबिमोच्य असञ्चिति) अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ । यस्तो सेयर संस्थागत लगानकिर्ताले मात्रै खरिद गर्न पाउँछन् ।

‘अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पूँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्मको डिबेन्चर/अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेस गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशिकामा छ, ‘त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक सर्त तोकी डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ ।’

Circular-9-Final-ABC