June 11th, 2024

दश महिनामा बाहिरियो एक खर्ब चार अर्ब

बैंकिङ खबर/चालु आर्थिक वर्ष (२०८०/८१) को दश महिनामा मात्रै ९० हजार ८७६ जनाले नो अब्जेशन लेटर (एनओसी) लिएका छन् । दश महिनाको अवधिमा नेपालबाट अध्ययन गर्न जानेले एक खर्ब चार अर्ब रूपैयाँ विदेश लगेका हुन। जापान, अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता मुलुक नेपाली विद्यार्थीको मुख्य गन्तव्य बन्न थालेको छ। नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले भने सोही अवधिमा एक अर्ब ९५ करोड भित्र्याएका छन् ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ६२ देशमा वैदेशिक अध्ययनको लागि नेपालीले एनओसी लिएका छन् । जसमध्ये नेपाली विद्याथीहरुको रोजाइमा जापान परेको छ। अन्य देशहरुमा भन्दा जापान जाँदा लाग्ने खर्च र पुगेपछि पाइने शिक्षा तथा रोजगारीले पछिल्लो समय जापान जानेको संख्या बढ्दै गएको छ ।

चालु आवको दश महिनामा पनि अध्ययनका लागि जाने कुल संख्याको एक तिहाई विद्यार्थीले जापानको लागि अनुमती लिएका छन् । कुल ९० हजार ८७६ जनाले अनुमती लिएकामा जापानको लागि ३० हवार ११४ जनाले अनुमती लिएका छन् ।

यस्तै अध्ययनको लागि रोजाइमा पर्ने गरेको अको देश क्यानडा हो । दश महिनाको अवधिमा क्यानडाको लागि १५ हजार २३७ जनाले एनओसी लिएका छन् । यसैगरी, अष्ट्रेलियाको लागि १२ हजार ५५८ जना, युकेको लागि ९ हजार ५६९ जना, अमेरिकाको लागि ७ हजार ४९२ जना र कोरियाको लागि ३ हजार ७३० जनाले अनुमति लिएका छन् ।

१० वर्षको अवधिमा ५ लाख विद्यार्थी विदेश पलायन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विद्यार्थीले लिएका अनुमतिपत्र (नो अब्जेक्सन लेटर) का आधारमा १० वर्षको अवधिमा ५ लाख ४३ हजार ८ सय ४२ जनाले एनओसी लिएका छन् ।

चालू आर्थिक वर्षको दश महिनामा ठूलो रकम वैदेशिक अध्ययनका लागि बाहिरिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । वैदेशिक अध्ययनको लागि तीन वर्षमा लगभग ३ खर्ब रुपैयाँ नै बाहिरिएको छ ।

गत साउनदेखि बैशाखसम्ममा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ बाहिरिएको छ। यस्तै, गत आर्थिक वर्ष मा ०७९/०८० मा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।