बैंकिङ खबर/बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको छ । तरलतासँगै नेपाल राष्ट्र बैंकले २ दिनमै ८५ अर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलनको औजार प्रयोग गरी ७० अर्ब र स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरी थप १५ अर्ब रुपैयाँ तरलता प्रशोचन (मप–अप) गरेको हो ।
अत्यधिक तरलता रहेका बेला प्रशोचन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनको उपकरण प्रयोग गर्ने गर्छ । जेठ २५ को तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अहिले ६५ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ अधिक तरलता छ ।
राष्ट्र बैंकका अनुसार जेठ २४ गते ४० अर्बको र २५ गते ३० अर्बको निक्षेप बोलकबोलका माध्यमबाट संकलन गरिएको छ । दुवै निक्षेप १४ दिनका लागि हुन् । ४० अर्बको निक्षेपका लागि ४४ अर्ब १० करोडको कबोल परेको थियो भने ३० अर्बका निक्षेप जारी गर्ने बेलामा बैंकहरु ३८ अर्ब ९५ करोड रुपैयाँ राख्न तयार थिए ।
यसरी बोलकबोलमा राखिने निक्षेपको ब्याजदर ३ प्रतिशतको हाराहारीमा हुने गर्दछ । २ दिनको अवधिमा बैंकहरु न्यूनतम २.९८ प्रतिशत र अधिकतम ३.१५ प्रतिशत ब्याजदरमा निक्षेप राख्न तयार थिए ।
४० अर्बको निक्षेपमा १४ बैंक वित्तीय संस्थाले ३७ वटा कबोल गरेका थिए भने ३० अर्बको निक्षेपमा १७ संस्थाले ५१ आवेदन दिएका थिए । केन्द्रीय बैंकले जेठ महिनामै २ खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन निक्षेप संकलनमार्फत् गरेको छ । आइतबारमात्र राष्ट्र बैंकले १४ अर्ब ७० करोड रुपैयाँ बराबरको एसडीएफ सुविधा उपलब्ध गराएको छ ।