November 20th, 2016

गणतन्त्र आयो, समृद्धि आएन : द्धन्द्धकालमा विस्थापित ६ बैंक अझै पुनःस्थापित भएनन्

banksतत्कालीन विद्रोही नेकपा माओवादी र राज्य पक्षबीच शान्ति सम्झौता भएको आइतबार १० वर्ष पूरा भएको छ । यो अवधिमा बागमतीमा थुप्रै पानी बगिसक्यो तर द्धन्द्धका बेला भत्काइएका संरचना र चर्किएका सम्भावनाहरु जोडिने क्रम भने अझै जारी छ । कतिपयले त पुनस्र्थापनाका कामहरु सुस्त गतिमा भएको टिप्पणी गर्दै आएका छन् ।

द्धन्द्धका बेला विद्रोही र राज्य पक्षबीच भएका लडाईमा थुप्रै संरचनाहरु ध्वस्त हुन पुगे । कति संस्थाहरु विस्थापित भए । त्यतिबेला गाउँ–गाउँमा पुग्ने क्रममा रहेका खासगरी सरकारी बैंकका शाखाहरु थुप्रै विस्थापित भएका थिए । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलाई तत्कालीन विद्रोही माओवादीले निशाना बनाएको थियो । त्यसअवधिमा धेरै बैंकहरु लुटिए पनि । त्यस्तो त्रासमय समय गुज्रिएर तत्कालीन विद्रोही र राज्य पक्षबीच शान्ति सम्झौता भएको पनि १० वर्ष पूरा भईसकेको छ ।

कति बैंक पुनःस्थापित भए ? 
बैंक तथा वित्तीय संस्थाहरुको नियामक संस्था नेपाल राष्ट्र बैंकले सशस्त्र द्धन्द्धका क्रममा विस्थापित भएका विभिन्न बैंकहरुका शाखा पुनस्र्थापनाका लागि प्रोत्साहन गर्दै आएको छ । राष्ट बैंकले यस क्रममा सबैभन्दा बढी विस्थापित भएका सरकारी स्वामित्वका दुई बैंकका ६१ वटा शाखा पुर्नस्थापित भएको जनाएको छ ।  राष्ट बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार द्धन्द्धकालमा विस्थापित भएका  राष्ट्रिय वाणिज्य बैंकका १०८ मध्ये ५७ र नेपाल बैंकका ६ मध्ये ४ शाखा पुनस्थापित भएका हुन । यी दुई बैंकका शाखा द्धन्द्धकालमा सबैभन्दा बढी विस्थापित भएका थिए । 

त्यसयता पनि यी दुई बैंकले अन्य ठाउँमा पनि शाखा पुनःस्थापनाका लागि पहल गर्दै आएका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकका ५१ वटा र नेपाल बैंकका २ वटा शाखा पुनस्थापनाको चरणमा रहेको जनाएको छ ।