May 5th, 2024

घरजग्गा कारोबारमा देखिएन उत्साह

बैंकिङ खबर/चालु आर्थिक वर्षको ९ महिनासम्म घरजग्गा कारोबारमा उत्साह देखिएको छैन। राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो। तर पनि घरजग्गा कारोबार बढ्न भने सकेको छैन। चैतमा ५० हजार २ सय ५२ लिखित पास भएको छ। फागुनमा भन्दा केही सुधार देखिएपनि उत्साहप्रद नभएको व्यवसायी बताउँछन्।

माघ महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै ५० हजार ९ सय २१ लिखत पास भएकोमा फागुनमा ४९ हजार २ सय ८७ लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा छ।

विभागका अनुसार फागुनमा भन्दा केही बढेर ५० हजार २ सय ५२ लिखत पारित भएको छ। गतवर्षको चैतमा भन्दा केही सुधार देखिएको छ। गतवर्षको चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको थियो।

चैतमा पनि फागुन सरहकै राजस्व संकलन भएको छ। चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको हो। गतवर्षको चैतमा ४ अर्ब ५१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। गतवर्ष भन्दा चालु वर्षमा झन्डै ६० करोडले कमी आएको हो।

चालु आर्थिक वर्षको माघमा ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा बढेर ३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ लिखत पास भएको थियो। असोज महिनामा ४७ हजार ४ सय ९८ वटा लिखत पास भएको थियो।

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६ वटा, असोजमा ४७ हजार ३ सय ९८ वटा घरजग्गा किनबेच भएको थियो।साथै कात्तिक महिनामा २६ हजारमात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।

राष्ट्र बैंकका अनुसार फागुनसम्म बैंक तथा वित्तीय संस्थाले आवसीय कर्जा ३ खर्ब ८४ अर्ब ४७ करोड रुपैयाँ प्रवाह गरेका छन्। गत असारको तुलनामा कर्जा १०.४ प्रतिशतले बढी हो। त्यस्तै ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३६ अर्ब ३५ करोड रुपैयाँ आवासीय कर्जा लगानी गरेका छन्।