बैंकिङ खबर/ सञ्चालनमा रहेका विकास बैंकमध्ये ११ वटा विकास बैंकले ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ११ विकास बैंकमध्ये ६ वटाको नाफा घट्दा पाँच वटाको भने वृद्धि भएको छ । एघार बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीनासम्मको अवधिमा कुल ३ अर्ब ५७ करोड ११ लाख ७६ हजार खुद नाफा कमाएका छन् ।
गत आवको यसै अवधिमा यी एघार बैंकले कुल ३ अर्ब ७० करोड ६७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ३.६६ प्रतिशत (१३ करोड ५६ लाख ४ हजार रुपैयाँ) ले नाफा खस्किएको हो । राष्ट्र बैंकबाट हाल १७ ओटा विकास बैंक सञ्चालनमा रहेका छन् । सालपा बाहेक सबै १६ ओटा विकास बैंक नेप्सेमा सूचीकृत छ ।
आर्थिक सुस्ताता र कोभिड महामारीको दीर्घकालीन असर विकास बैंकहरुको खुद नाफामा देखिएको छ । साथै अर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तीय विवरण खस्कन पुगेको हो । चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको अर्जा असुली प्रभावित हुँदा बढेको प्रोभिजनका कारण मुनाफामा गिरावट आएको हो । खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापन खर्च (प्रोभिजनिङ) बढ्दा विकास बैंकको मुनाफा संकुचन भई लगानीकर्ता निराश हुने अवस्था आएको हो ।
चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीना अवधिमा मुक्तिनाथ विकास बैंकको खुद नाफा ८.१३ प्रतिशतले बढेर ८७ करोड १८ लाख २४ हजार रुपैयाँ पुगेको छ । यो नाफा दुई वाणिज्य बैंकहरु नेपाल बैंक र माछापुच्छ्रे बैंकले आर्जन गरेको नाफाभन्दा बढी हो । यस्तै दोस्रो ठूलो नाफा गररिमा विकास बैंकले गरेको छ । गरिमाले चैत मसान्तसम्म ६८ करोड ३४ लाख६२ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आवको सोही अवधिको तुननामा ४.८५ प्रतिशतले नाफा बढेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आवको चैतसम्ममा ५१ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा ७.१९ प्रतिशतले घटेको हो । यसैगरी महालक्ष्मी विकास बैंकको खुद नाफा पनि १.४२ प्रतिशतले घटेर ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।
चैत मसान्तसम्म लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख ६८ हजार र कामना सेवा विकास बैंकले ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा लुम्बिनीको खुद नाफा २६.९१ प्रतिशतले घट्दा कामना सेवाले ८.४० प्रतिशतले नाफा वृद्धि गरेको छ ।
यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले २०८० चैत मसान्तसम्म २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत धेरै हो । ज्योति विकास बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा झरेको छ । यस्तै मितेरी डेभलपेन्टको नाफा पनि ३०.३७ प्रतिशतले संकुचित भएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ६ करोड ८२ लाख ७९ हजार नाफा आर्जन गरेको हो ।
ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा सबैभन्दा धेरै ७४.४३ प्रतिशतले बढेर १ करोड ८१ लाख २५ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा सिन्धु विकास बैंकको खुद नाफा ५ करोड ४० लाख ७९ हजार ऋणात्मक छ । गत आवको तुलनामा २६३ प्रतिशतले नोक्सानी बढेको हो ।