भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आएका छन् । झोलामा पेचकस, नट, रवर, ह्याम्बर, प्रेसरकुकरका सिटी, ढकनी, ग्यास सफा गर्ने सामान र यस्तै अन्य साधन बोकेर गाउँ चाहार्ने शाहनीले मासिक रु २५ हजारदेखि रु ४० हजारसम्म कमाउछन् ।
शाहनी मात्रै होइन भारतकै गोन्डा जिल्ला घर बताउने मनोहरलाल गुप्ता, फैजावादका पवनलाल श्रीवास्तव लगायतका भारतीय नागरिकले जिल्लाका गाउँ गाउँमा पुगेर आफ्नो सीपको प्रयोग गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दैआएका छन् । “एक दिनमा रु दुई हजारदेखि रु तीन हजारसम्म कमाइ हुन्छ,” शाहनीले भने ।
त्यसैगरी झुल, तन्ना, सिरकका खोललगायतका कपडाको व्यापार गर्दै आएका भारत गोन्डाका मनोहरलाल गुप्ताले जिल्लाका गाउँ गाउँमा पुगेर बिक्री गर्दछन् । उनले दैनिक रु चार हजारदेखि रु छ हजारका कपडा बिक्री गर्दछन् । त्यस्तै भारत फैजावादका पवनलाल श्रीवास्तवले औषधिजन्य चिजको व्यापार गर्दै आएकाछन् । उनले खुला रुपमा आयुर्वे्दिक औषधि भनिएका सामान र महको बिक्री गर्दै आएका छन् । “औषधि र मह बिक्री गरी दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म आम्दानी हुन्छ,” उनले भने ।
सदरमुकाम बेनी बजारमा सयौँ भारतीय नागरिकले सैलुन, चनाचटपटे, तरकारी तथा मिठाइ बनाएर बिक्री गर्दै आएका छन् । नेपाली नागरिक मासिक रु २०/२५ हजार कमाउन लाखौँ खर्च गरेर खाडी मुलुक जाने गरेका छन् । तर भारतीय नागरिकले भने नेपालकै गाउँघरमा थोरै लगानीमा मासिक लाखौ कमाउने गरेका छन् ।
म्याग्दी बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक भोला घिमिरे आफ्नै गाउँघरका सानासाना काममा नेपालीको ध्यान जान नसकेको बताउछन् । आफ्नै गाउँघरमा रोजगारीका प्रशस्तै सम्भावना रहेका भएपनि नेपाली युवा भारतीय सहर जाने गरेका छन् । रासस