April 4th, 2024

बैंकमा थुप्रियो सुन

बैंकिङ खबर/नेपाल बैंकर संघका अनुसार अहिले बैंकमा १ सय १७ किलो सुन मौज्दात रहेको छ । फागुन मसान्तसम्म १ सय ९६ किलोसम्म मौज्दात थियो ।  

राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । त्यस्तो सुन वाणिज्य बैंकले मात्र बिक्री गर्न सक्छन् ।

कोटा बढाएर दैनिक २० किलो वितरण गर्छन् । सिजनमा कोटा बढाउन माग गर्छन् । अहिले भने कोटाअनुसार खरिदबिक्री भएको छैन । बैंकले आयात गरेको सुन व्यापारीले गरगहना बनाएर मात्रै बेच्न पाउने व्यवस्था छ ।

यसैगरी नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार रुस र युक्रेनबीच जारी द्वन्द्व र डलरको भाउ उकालो लागेपछि सुनको भाउले कीर्तिमानी बनाएको छ ।

बुधबार १ अमेरिकी डलर बराबर १ सय ३३.४१ रुपैयाँ कायम भएको छ । सुनको मूल्य भने प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसरी मूल्य अचाक्ली बढ्दा सर्वसाधारणले सुनमा त्यति ध्यान दिएका छैनन् । अर्थतन्त्र शिथिल भएको अवस्थामा सर्वसाधारण दैनिक उपभोग्य सामानबाहेक खरिद नभएको महासंघको भनाइ छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपालमा पनि बढाइन्छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । उक्त सुन यूएईबाट आयात भएको छ । सुन आयातबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको २९ लाख १६ हजार ५८६ किलो आयात भएको थियो ।