March 27th, 2024

विकास बैंकको खराब कर्जा बढ्दो, कुनकाे कति ?

बैंकिङ खबर/ विकास बैंकहरूकाे खराब कर्जा ह्वात्तै बढेकाे छ । विकास बैंकहरूमध्ये सबैभन्दा बढी खराब कर्जा अनुपात नारायणी डेभलपमेन्ट बैंकको रहेको छ । राष्ट्र बैंकले प्रकाशन गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यस बैंकको सबैभन्दा बढी खराब कर्जा रहेको हो । बैंकको कुल खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तसम्ममा २.८३ प्रतिशतमात्रै रहेको नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात चालु आवको सोही समयसम्ममा बढेर २७.७५ प्रतिशत पुगेको हो ।

नारायणीले ६ महिनामा कुल निक्षेप ५२ करोड ५२ लाख ५४ हजार संकलन गरेको छ । यस्तै ४७ करोड ९० लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९४.५० प्रतिशत कायम छ । यस बैंकको नेट लिक्वीडीटी २८.६५ प्रतिशत रहँदा वैधानिक तरलता सुविधा (एसएलआर) २४.६७ प्रतिशत छ । आधार दर (बेस रेट) १२ प्रतिशत कायम रहँदा स्प्रेड रेट ५.९६ प्रतिशत छ ।

खराब कर्जाको दोस्रो नम्बरमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । बैंकको खराब कर्जा १४.१६ प्रतिशत पुगेको हो । सबैभन्दा कम खराब कर्जा अनुपात हुनेको पहिलो नम्बरमा सिन्धु विकास बैंक रहेको छ । यो बैंकको खराब कर्जा १.०५ प्रतिशतमात्रै छ । यस्तै थोरै खराब कर्जा अनुपात हुने विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंकको २.५१ प्रतिशत छ । यसैगरी, साइन रेसुङगा डेभलपमेन्ट बैंकको २.६२, मितेरी डेभलपमेन्ट बैंकको २.७४ र गरिमा विकास बैंकको २.९४ प्रतिशत पुगेको छ ।

यस्तै ७ वटा विकास बैंकको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा तल छ । जसमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । यसैगरी कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशतभन्दा कम खराब कर्जा अनुपात छ।

साल्पा विकास बैंकको खराब कर्जा ६.४५ प्रतिशत पुग्दा कामना सेवा विकास बैंकको ३.४२ र लुम्बिनी विकास बैंकको ३.५५ प्रतिशत छ । विकास बैंकहरूको औषत खराब कर्जा नै ३.६१ प्रतिशत पुगेको हो ।