आज पाँचौ राष्ट्रिय कर दिवस ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नाराका मनाइँदैछ । मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन २०५४ मङ्सिर १ को सम्झना गर्दै कर सम्बन्धी जनचेतना र जनसहभागिता वृद्धि गर्ने उद्देश्यले विगत चार वर्षदेखि राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । मूल्य अभिवृद्धि कर नेपालको राजस्व प्रणालीको प्रमुख हिस्साको रूपमा स्थापित भएको छ ।
विगतमा भन्सार महसुल र घरजग्गा रजिष्ट्रेशन कर राजस्वको प्रमुख हिस्सा रहेकोमा हाल ती करको हिस्सा क्रमशः कम हुँदै गएको छ भने मूल्य अभिवृद्धि करको दुईतिहाइ हिस्सा भन्सार बिन्दुबाटै सङ्कलन भइरहेको छ । आर्थिक वर्ष २०७२/७३ असार मसान्तसम्ममा व्यवसायिक स्थायी लेखा नम्बरमा र व्यक्तिगत स्थायी लेखा नम्बरमा गरी कूल स्थायी लेखा नम्वर लिने करदाताको संख्या एक करोड ४४ लाख २८ हजार १८ पुगेको छ । सो मध्ये मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको संख्या १ लाख ६४ हजार २४ र अन्त शल्कमा दर्ता हुने करदाताको संख्या ८२ हजार ४ सय ९५ रहेको छ । यसरी हेर्दा कूल जनसंख्याको करिब ५ प्रतिशत करको दायरामा आएको देखिन्छ ।
आर्थिक वर्ष २०७२÷७३ मा आन्तरिक राजस्व विभागको राजस्व संकलनको लक्ष्य १ सय ९४ अर्ब ७६ करोड रुपैयाँ भएकोमा २ सय ४ अर्ब ४३ करोड रुपैयाँ संकलन भई लक्ष्यभन्दा ९ अर्ब ७६ करोड रुपैयाँ बढी संकलन भएको देखिन्छ । यस आर्थिक वर्षमा जिडिपीमा कर राजस्वको योगदान १८ दशमलव ६ प्रतिशत रहेको छ ।
कर दिवसका अवसरमा कर सम्बन्धी जनचेतना जगाउने, पर्चा पम्प्लेटिङ वितरण गर्ने, प्रभातफेरी र चियापानको कार्यक्रम गर्ने गरिन्छ । आजकै दिन अघिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने करदातालाई कदरपत्र र खादा ओडाएर सम्मान गर्ने गरिन्छ ।
करको सदुपयोग खोई ?
सरकारले कर दिवसलाई विशेष कार्यक्रम गरेर मनाउने तयारी गरेपनि नागरिकस्तरमा भने राज्यले करको सदुपयोग गर्न नसकेको भन्ने गुनासाहरु बढेको देखिन्छ । राज्यले उठाएको कर मुलुकको विकासभन्दा बढी अनुत्पादक क्षेत्रमा लगानी भएको गुनासो बढेको हो । नेताहरुले आफ्नै हितअनुकुल करको दुरुपयोग गरेको भन्दै जनतामा नैराश्यता पैदा भएको छ । जीडिपीको १८ प्रतिशतभन्दा बढी कर संकलन भएपनि त्यसअनुसारको विकास हुन सकेको छैन । अझै पनि पूर्वाधारको अभावमा धेरै जनता बस्नुपरेको छ ।
कर दिवसको शुभकामना
पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्यसचिव सोमलाल सुवेदी, अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल, आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालगायतले शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले सरकारले जोड दिएको संविधान र संघीयताको कार्यान्वयन, शान्ति प्रकृयालाई पूर्णता, आर्थिक समृद्धि, भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता र सुशासन कायम गर्ने जिम्मेवारीलाई पूरा गर्न सरकार वित्तीय हिसावले सक्षम हुनु आवश्यक रहेको औँल्याएका छन् । यसमा राजश्व प्रशासन बढी जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उनेले जोड दिएका छन् । अर्थमन्त्री महराले सरकारको दिगो र भरपर्दो श्रोतको रुपमा रहेको राजस्व प्रणालीलाई उत्पादनमूलक बनाउनुका साथै आर्थिक क्रियाकलाप मैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।