बैंकिङ खबर/ एक महिना अगावै नयाँ कपडा, चप्पल, यूके लेखेको बेल्ट, छिर्केमिर्के क्याप टोपी, गोठमा दशैंलाई नै भनि पालिराखेको खसी अनि एक वर्षपछि फर्किन लागेका खुशी देखेर मन चंगा जस्तै उड्दथ्यो अनि बल्ल लाग्दथ्यो अब दशैं आएछ ।
रहर अनि बाध्यताका खातिर वैदेशिक रोजगारमा गएका आफन्तले पछिपछि एकजना भरिया अनि काँधमा मेड इन जापान लेखेको दर्बिलो क्यासेट प्लेयर, पुराना स्टाइलका तर अचम्मै बलिया चिजबिजहरुले भरिभराउ भारी, चक्लेट अनि कपुरले मगमग छरेको सुगन्धले घरै बसाउँथ्यो अनि लाग्दथ्यो अब त दशैं आँगनमै आएछ ।
बारिमा हरियो कोदोको नलले पँहेलापँहेला बाला बनाउन लागेको, पँहेला धानका बालाहरुले बेसी सबै झपक्कै ढाकेको, जुनार अनि सुन्तलाको मिठो स्वाद, घुर्यानमा काँक्रा घारिमा मुठेक्रो काँक्रो कर्याप्पै टोकेर स्वाद लिनेबेला, शान्त अनि सुशील मनोरम दृश्यलाई मन्त्रमुग्द पार्ने सुर्यको किरण सबैले दशैंलाई रमणीय बनाउँथे ।
पुच्छार घरे साइलाबा का घरदेखी सिरानघरे हजुरबाका घरसम्म पुगेर पिङ बाट्न खर बटुल्दै हिँड्दा अनि कसैले खर नदिदा मनभरी हुँदै भक्कानिदै अनि अलिक पर पुगेर भरपुर गाली गर्दै हिँडेका ती हरेक पलहरुले त्यो बेलाको दशैं सम्झाउँछन् ।
एकजोर नयाँ कपडा, चिचिको स्वाद अनि ढिकिमा रातभर लगाएर कुटेका चिउराले बल्ल दशैंको आगमनाइ स्वागत गर्दथ्यो । आमाको काँखमै निदाउँदै भएपनी ढिकिमै रातभर बसेर भुससहितकै भएपनी चमचम चिउरा चपाउनको त्यो पल अहिले सम्झनामा मात्रै सिमित भएको छ ।
पारी गाउँमा रातभर टर्चहरुको पिलपिल प्रकाशले कहिले सुत्न जा भन्दै भन्थेन किनकी त्यो प्रकाश संगै मलाइ नयाँ नाना, चिची खाने रहर, कपुरको त्यो सुगन्ध, ग्याइग्याइ गुन्जिने क्यासेटको दुनियाँ , फलफुल अनि मिठाईका कैयौं चिजबिजले लोभ्याएको हुन्थ्यो । वर्षभरी बेवास्था गरिएका करेसा, आँगन, वरपर, नसिङ्गारिएका घर अनि मतान, कमेरो र रातोमाटोले चिरिच्याट्टै पारेर चम्किला पारेका ती हसिला पेटिहरुले सबै आगन्तुक पाहुनालाई स्वागत गरिरहन्थे !
नयाँ नोट, त्यसमा अङ्कित मुल्यको कुनै लेखाजोखानै थिएन , मात्रै नयाँ नोट क्याटक्याट पार्दै वरपर बजाउदै अनि हेर मेरो पैस हेर भन्दै हिड्दाको त्यो पल आज बिरलै अनुभव गर्न सकिन्छ ।
वर्षौपछि भेटिने चेलिबेटी, तल्लाघरे काइला दाइ, माथ्लाघरे साइला दाइ, छरछिमेकका आफन्त अनि अनेकौ मान्छेको गाइगुइले मन उडेर एकैछिन सगरमाथाको चुचुरोमै पुगेर बस्दथ्यो अनि फेरि मन फरक्कै फर्केर अगिनै बटुलेर ल्याएको खरको पिङमा बसेर सरररररररर चाचाहुई गर्दै मच्चिनतिर लाग्दथ्यो ।
पुनश्चः चाडपर्व हाम्रा धरोहरहुन सधैँब सम्मान रहनेछ । त्यसैले अवस्थालाइ आत्मसाथ गर्दै व्यवस्थालाई कदर गरौं ।