मिडिया इन्टरनेशनलले वित्तीय जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । बुद्धको जन्मस्थल लुम्बिनीबाट सो अभियानको सुरुवात शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले गर्नेछन् । रुद्रपुरस्थित ज्ञान निकेतन उच्च माविमा समुद्घाटन हुने सो कार्यक्रममा १० हजारभन्दा बढीको सहभागीता रहने आयोजकको विश्वास छ । कार्यक्रममा लुम्बिनी अञ्चलका विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागीता रहने जनाइएको छ । ती बैंक तथा वित्तीय संस्थाका विभिन्न चेतनामूलक स्टलहरु रहने निर्दोषले बताए । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्संघ, विकास बैंकर्स संघ र नेपाल लघुवित्त विकास बैंकर्स संघले समन्वय गरेका छन् । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदा बारे सर्वसाधरलाई अवगत गराइने छ । त्यस्तै पैसा के हो, यसको परिचालन कसरी गर्ने, बैंक तथा वित्तीय संस्था कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी गराइनेछ । वित्तीय साक्षरता विस्तारका लागि मिडिया इन्टरनेशनलको यस प्रयासका विषयमा केन्द्रित रहेर केही बैंकरहरुसँग बैंकिङ खबर डट कमले कुराकानी गरेको छ :
प्रभावकारी र सफल होस्, शुभकामना छ
रेवति प्रसाद नेपाल, निर्देशक, नेपाल राष्ट्र बैंक, भैरहवा
नेपालका ग्रामिण भेगमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरुको आवश्यकता छ । यो कुरालाई हृदयंगम गरी मिडिया इन्टरनेशनलले वित्तीय जागरण अभियानको थालनी गरेको छ, त्यो पनि एउटा विकट क्षेत्रबाट । यसलाई हामीले निकै सकारात्मक रुपमा हेरेका छौँ । यसमा हाम्रो तर्फबाट सक्ने सहयोग र समर्थन रहनेछ । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बाक्लो भएपनि ग्रामिण भेगका जनताको पहुँचमा अपेक्षित रुपमा पुग्न नसकेकाले राष्ट्र बैंकले त्यसको समाधानका लागि विभिन्न प्रयास गर्दै आएको छ । चालू वर्षको नीति तथा कार्यक्रममा पनि सरकारले वित्तीय साक्षरताको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ र राष्ट्र बैंकले त विभिन्न कार्यक्रम गरिरहेको पनि छ ।
यस्तो अवस्थामा मिडिया इन्टरनेशनलले राष्ट्र बैंककै कार्यक्रममा सहयोग पुग्ने गरी कार्यक्रम सुरु गरेकोप्रति हामी पनि उत्साहित छौँ । यस्ता कार्यक्रम वित्तीय साक्षरताका लागि प्रभावकारी बनाउनका लागि सरोकारवाला सबैले समन्वय गर्न सक्ने हो अझै राम्रो हुन्थ्यो । नेपालमा रुद्रपुर र त्योभन्दा विकट क्षेत्रहरु थुप्रै छन् । त्यस्ता क्षेत्रलाई लक्ष्यित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता छ । मिडिया इन्टरनेशनले सुरु गरेको यस्तो कार्यक्रम प्रभावकारी र सफल होस् शुभकामना छ ।
राष्ट्र बैंक साथमै छ
नारायण प्रसाद पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक
अहिले कहाँबाट, कति, कसरी ऋण लिने, त्यसलाई कुन क्षेत्रमा कसरी लगानी गर्ने तथा लिएको ऋण कहिलेसम्म कसरी भुक्तान गर्ने भन्नेसम्बन्धी ज्ञान उद्यमीहरूलाई मात्र होइन, सर्वसाधारणलाई पनि हुनुपर्छ । त्यसैले पनि सर्वसाधारण जनतालाई वित्तीय क्षेत्रका आधारभूत ज्ञान प्रदान गर्न बृहत स्तरको ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गर्न आवश्यक छ । राष्ट्र बैंकबाट पनि विभिन्न प्रयास भईरहेको छ । यसबीचमा एउटा संचारगृहबाट वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन हुनु निकै खुशीको कुरा हो । राष्ट्र बैंकले यस्ता कार्यक्रमलाई सकारात्मक कामको थालनीको रुपमा लिन सक्छ । कार्यक्रम प्रभावकारिताको शुभकामना छ ।
स्वागतयोग्य कार्यक्रमको थालनी
रामचन्द्र जोशी, कार्यबाहक अध्यक्ष, नेपाल माइक्रोफाइनान्स एसोसियसन
वित्तीय रूपमा शिक्षित उपभोक्ताले यो वित्तीय क्षेत्रको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छन्, जसले आर्थिक वृद्धि तथा गरीबी न्यूनीकरणमा पनि सघाउ पुर्याउँछ । गाउँ–गाउँमा बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदाबारे सचेतना फैल्याउनु आवश्यक छ । विदेशिरहेका युवालाई स्वदेशमै गर्न सक्ने उद्यमशीलतातर्फ आकर्षित गर्नु आवश्यक छ । गाउँ–गाउँमा पुगेका लघुवित्त संस्थाबाट कसरी फाइदा लिन सकिन्छ भन्ने कुराको बारेमा अझै सचेतनाको खाँचो छ । त्यस्ता कार्यक्रमहरु खासगरि ग्रामिण क्षेत्रमा बढी आवश्यक देखिन्छन् । त्यसैले त्यस्तै क्षेत्रलाई तार्गेट गरी सुरु गरिएको वित्तीय साक्षरतासम्बन्धी यस्ता कार्यक्रम स्वागतयोग्य छ ।
वित्तीय साक्षरताका यस्ता कार्यक्रम अति नै आवश्यक
पर्वत कार्की, प्रमुख कार्यकारी अधिकृत, नेपाल ग्रामिण विकास बैंक, बुटवल
नेपाल राष्ट्र बैङ्क र अन्य बैङ्कले खुद्रा रूपमा सञ्चालन गरिरहेका यससम्बन्धी कार्यक्रमहरू पनि कमी भइरहेको अवस्थामा ग्रामिण भेगमा पुगेर बैंकिङ खबरले थालेको प्रयास सराहनीय छ । मिडिया इन्टरनेशनलले अहिले जो कार्यक्रमको सुरुवात गर्दैछ यसले एउटा नयाँ सन्देश दिन्छ । वित्तीय साक्षरता बढाउनु मुलुककै लागि हितपूर्ण छ । यसमा सबै पक्षको समन्वय र सक्रियता आवश्यक रहेछ भन्ने कुराको सबैलाई भान हुनुपर्छ । रुपन्देही जिल्ला बैंकिङ हवको रुपमा विकास हुँदै गर्दा यस आसपासका ग्रामिण भेगमा वित्तीय साक्षरताका कार्यक्रमहरु आवश्यक छ । लघुवित्तका माध्यमबाट हामीले पनि प्रयास गरिरहेका छौँ । यसमा मिडिया इन्टरनेशनलले पनि कदम अघि बढाएको छ । आशा छ, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम अझ प्रभावकारी ढंगबाट अघि बढ्नेछ ।
कार्यक्रम उपयुक्त ठाउँमा भयो
प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङगा डेभलपमेन्ट बैंक, बुटवल
संख्यात्मक हिसाबले नेपालको वित्तीय क्षेत्रको वृद्धि उत्साहजनक भए पनि अधिकांश जनता बैङ्किङ सेवाबाट वञ्चित छन् । त्यसो हुनुमा विभिन्न कारण छन् । तर, जनतामा वित्तीय साक्षरता नहुनुले यसमा मुख्य भूमिका निर्वाह गरेको छ । गाउँका मात्र होइन, शहरमै बस्नेहरू पनि पर्याप्त वित्तीय साक्षरता छैन । क्रेडिट कार्ड, मोर्टगेज कर्जा, बोण्ड तथा इक्विटीमा लगानीजस्ता प्राविधिक कुरा त परै जाओस् बचत, चल्ती र मुद्दती खाताबीच के फरक हुन्छ भन्ने पनि अधिकांश मानिस जान्दैनन् । त्यसैले पनि मिडिया इन्टरनेशनलले वित्तीय साक्षरता अभियान सुरु गरेको छ यो अति नै राम्रो कामको थालनी हो । हाम्रो तर्फबाट हार्दिक शुभकामना पनि छ ।
राजनीति धेरै भयो, अब पालो आर्थिक समृद्धिको
माधव निर्दोष, अध्यक्ष, मिडिया इन्टरनेशनल, काठमाडौँ (आयोजक)
नेपालमा वित्तीय जागरणको अति नै आवश्यकता देखिन्छ । अझै झण्डै ६० प्रतिशत नागरिक बैंकिङ कारोबार गर्दैनन् भने २० प्रतिशत नागरिक वित्तीय कारोबार नै गर्दैनन् । यो विडम्बना हो । यस्तो विडम्बना न्युनिकरण गर्न वित्तीय साक्षरताको अति नै आवश्यकता देखिन्छ । त्यसैले हामीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एउटा ग्रामिण क्षेत्र रुद्रपुरबाट वित्तीय जागरण अभियान सुरु गरेका हौँ । यस कार्यक्रमबाट हामी पैसा के हो ? यो कसरी परिचालन हुन्छ ? बैंक तथा वित्तीय संस्थाबाट कसरी फाइदा लिन सकिन्छ ? भन्नेलगायतका साक्षरता अभियान चलाउने छौँ ।
यो कार्यक्रम रुद्रपुरको ज्ञान निकेतन उच्च माविमा आयोजित छ । कार्यक्रमलाई राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने बैंकर्स संघ, विकास बैंकर्स संघ, लघुवित्त विकास बैंक संघले समन्वय गरेका छन् । कार्यक्रममा हामी बैंकबाट थोरै ऋण लिएर उद्यमशीलतामा लागेका उदाहरणीय व्यक्तिहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्नेछौँ र बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न सर्वसाधरणलाई उत्प्रेरित गर्नेछाँै । विदेशिनु समस्याको समाधान होइन, यही माटोमा उत्पादन गरी मालिक भएर बस्न सकिन्छ भन्ने कुरा हामी उदाहरणसहित पस्किनेछाँै । यो अभियानको थालनी हो । हामी देशभरिनै यस्ता कार्यक्रम लैजाने छौँ ।