November 9th, 2016

पाँच सय र हजारको भारु किन बन्यो ‘कागजको खोस्टा’ ? 

bharu

नक्कली नोट प्रकरणले भारत सरकारलाई विगत देखिनै हैरान पार्दै आएको छ । भ्रष्टाचार, र कालोधनलाई न्युनिकरण गर्न भारत सरकारले देखेको अन्तिम विकल्पले अब त्यहाँको ५ सय र एक हजारको पुरानो नोटहरु कागजको खोस्टासरह भएका छन् । भारत सरकारले यो सब गर्नुको एउटै मुख्य कारण छ, त्यो हो, कालोधन, भ्रष्टचार र नक्कली नोटको हैरानीबाट मुक्त हुनु ।  
त्यसैले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए – ‘अब भारतीय रुपैयाँ पाँच सय र एक हजारका नोट यही रातिबाट सिर्फ कागजसरह हुनेछन् ।’ 
भारतमा अब मंगलवार राति १२ बजेदेखि भारतमा ५ सय र एक हजार भारुको पुरानो नोटमाथि प्रतिबन्ध लगाइएको छ । अहिले भारतीय रुपैयाँ ५ सय र एक हजारका नोट बोकिरहेका व्यक्तिहरुले नजिकको बैंक वा पोष्ट अफिसहरुमा लागेर डिपोजिट गर्न सक्ने बताइएको छ । 
भारत सरकारको यो फैसलाप्रति विभिन्न संघ संगठनले ऐक्यवद्धता जनाएका छन् । 
फेडरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले भारतीय सरकारको यस्तो फैसलाको समर्थन गर्दै भनेको छ– ‘प्रधानमन्त्रीले गरेको यो फैसला एकदमै जायज फैसला हो । यो समानान्तर रुपले चलिरहेको अर्थव्यवस्था र आतंकवादप्रति कडा प्रहार हो । सरकारको यस्तो कदमप्रति फिक्की पूर्ण समर्थन गर्दछ र कालोधनविरुद्धको लडाईमा सरकारको साथमा छ ।’ 
कन्फेडरेशन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) का अध्यक्ष नौशाद फब्र्सले भनेका छन्– ‘ठूलो नोटलाई बन्द गर्नु धेरै रकमलाई नगदमा जम्मा गर्नबाट रोक्नका लागि प्रभावकारी  तरिका हो । सरकारले कालो धनबाट जोगिनका लागि अपनाएको राम्रो निर्णय हो । सीआईआई यसका लागि प्रधानमन्त्री र सरकारलाई बधाई ज्ञापन गर्दछ । यो फैसला एकदमै राम्रो र यसको सफलतापूर्वक कार्यान्वयनका लागि ठूलै तयारीको आवश्यकता छ ।’ 
यस्तै एयरलायन्स कम्पनी इन्डियाले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो घोषणापछि नभेम्वर ८ को राति १२ बजेदेखि लागु हुने गरी फ्लाइट सेल्स, अतिरिक्त ब्यागेज चार्ज, फास्ट फरवार्डसहित कुनै पनि सर्भिसका लागि ५ सय र एक हजार रुपैयाँको नोट स्वीकार गरिनेछैन । ११ नोभेम्वर २०१६ सम्म इन्डिगोको टिकेट काउन्टर्समा भने नोट स्वीकार गरिनेछ ।’
अब भारतीयहरुले ५ सय र एक हजार भारुको पुरानो नोट बैंक वा पोष्ट अफिसको आफ्नो अकाउण्टमा डिसेम्बर ३० सम्म जम्मा गरिसक्नुपर्नेछ । यद्यपी हरेक दिन दस हजारमात्र निकाल्न पाइनेछ र हरेक हप्ता बीस हजार मात्र । नोभेम्बर २४ सम्म ५ सय र एक हजारको नोट आइ कार्ड देखाएर ४ हजारसम्म मुख्य पोष्ट अफिस र सहायक पोष्ट अफिसमा परिवर्तन गर्न सकिनेछ । चेक, डेविट कार्ड, क्रेडिट कार्ड वा डिमान्ड ड्राफ्टबाट भुक्तान गर्नका लागि भने कनै सीमा वा बन्देज हुने छैन । 
७२ घण्टासम्म पुरानो नोटहरु चल्ने ठाउँहरु  
पुरानो नोट सरकारको घोषणापछिको ७२ घण्टासम्ममा चल्नेछ । सरकारी अस्पतालमा पुरानो नोट स्वीकार गरिने बताइएको छ । त्यस्तै रेलवे टिकट बुकिङ काउन्टर, सरकारी बस र एयरलाइन टिकट काउण्टरमा पनि टिकट किन्नका लागि पुरानो नोट मान्य हुनेछ । त्यसैगरी सरकारी तेल कम्पनीद्धारा अधिकृत पेट्रोल, डीजल र ग्यास स्टेशनमा पनि पुरानो नोट चल्नेछ । यस्तै राज्य र केन्द्र सरकार अधिकृत कोअपरेटिभ स्टोरमा पनि पुरानो नोट चल्नेछ । राज्य सरकारको मिल्क बूथमा पनि ७२ घण्टासम्म पुरानो नोट चल्ने छ । त्यसैगरी शमशान घाटमा पनि पुरानो नोट चल्ने छ ।