बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०८०/०८१ मौद्रिक नीतिले मूल्यवृद्धि नियन्त्रण र अर्थतन्त्रलाई गतिशील बनाउन सक्षम हुने बताएको छ ।
‘गत आर्थिक वर्षमा अर्थतन्त्र शिथिलता आए पनि चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धि प्राप्त हुने देखिन्छ । मुद्रास्फीति घट्ने अपेक्षा गरिएको छ, अर्थतन्त्रका बाह्य सूचक निरन्तर बलिया बन्दै गएका छन् । नेपाल राष्ट्र बैंकले सावधानीपूर्वक र तथ्यमा आधारित मौद्रिक नीति ल्याएकाले मूल्यवृद्धि नियन्त्रण र बाह्य क्षेत्रका उपलब्धि जोगाइराख्न सक्षम हुने देखिन्छ,’ नेपाल भ्रमणमा रहेको आईएमएफको टोलीले फर्कनुअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टिडियन किन्डाको नेतृत्वमा आईएमएफको एक टोली गत शनिबारदेखि बुधबारसम्म नेपालमा थियो । यद्यपि वित्तीय स्थायित्व कायम गर्न सतर्कतापूर्वक कर्जाको गुणस्तरमा निगरानी र यसका लागि चरणबद्ध नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै जानुपर्नेमा उसको जोड छ ।
सरकारी वित्तमा दोगो सुधारका लागि आर्थिक वर्ष ०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको आईएमएफको धारणा छ । बजेटमा तय गरेका लक्ष्य प्राप्तिका लागि सरकारले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने आईएमएफको सुझाव छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रतर्फ तय गरेको साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्यले आन्तरिक अर्थतन्त्र समेत चलायमान हुने आईएमएफको विश्वास छ । गत आर्थिक वर्ष कर्जा विस्तार साह्रै न्यून भएको आईएमएफको भनाइ छ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि ३ प्रतिशतभन्दा कम मात्र प्रगति भएको छ ।
आईएमएफले विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) अन्तर्गत नेपाल सरकारलाई बिनाब्याजको ३७ करोड डलरको ऋण सुविधा प्रदान गरेको छ । यसमध्ये हालसम्म नेपालले दुई किस्तामा १५ करोड ७४ लाख डलर सुविधा पाइसकेको छ । आईएमएफको आगामी सेप्टेम्बरमा हुने भ्रमणले यस्तो कर्जा सुविधाअन्तर्गत कार्यान्वयन गरिने विषयवस्तुको अवलोकन गर्ने बताइएको छ ।