March 10th, 2016

वित्तिय साक्षरतामा नेपाली रुपैँया : छपाई प्रकृयादेखि जलाउने प्रकृयासम्म

poisaतपाई हामी मध्ये धेरैलाई लाग्न सक्छ, हामीले प्रयोग गर्ने नोटहरु कहाँ बन्छन् होला ? विश्वभरमा पैसा छाप्ने कम्पनि कति होलान् ? के सबै नोटमा गर्भनरले हस्ताक्षर गर्न भ्याउलान् ? यी यस्ता प्रश्न जिज्ञासु स्वभावका जोकोहिको मनमा उठ्नु स्वभाविक हो । तर धन्दा नमान्नुस् । विजनेस संसार डटकमले यी सबै जिज्ञासा समाधान गर्ने रिपोर्ट तयार पारेको छ । 

नेपालमा कागजी नोटको ईतिहास
नेपालमा राजा त्रिभुवनको पालामा वि.सं २००२ सालदेखि कागजको नोट छाप्न सुरु गरिएको हो । नेपालले नोटको चलन चल्ती सुरु गरताकाका केहि वर्ष बेलायत, होल्याण्ड अष्ट्रेलिया लगायतका देशमा नोट छाप्दै आएको थियो । विशेषत बेलायतको डिलारु करेन्सीमा नेपालले धेरैवर्ष सम्म नोट छापेको थियो । छिमेकी मुलुक भारत र चिनमा पनि नोट छाप्ने कम्पनी छ । पूर्व गभर्नर युवराज खतिवडाको पालामा भारतबाट नेपाली नोट छापिएको थियो । यद्यपी भारतमा छापिएको कागज गुणस्तरीय नभएका कारण पछिल्लो समय भारतमा नोट छाप्न छोडेको बताईन्छ । त्यस्तै नेपालले चिनमा सिक्का छाप्दै आएको छ । चिनबाहेक दक्षिण कोरियाका कम्पनीमा पनि नेपालले सिक्का छाप्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कतिपय नोट विशेष अवसर पारेर स्मारिकाको लागि पनि छापिन्छ । एकताका स्मारीकाको लागि २ सय ५० दरको नोट छापिएको थियो । यद्यपी २ सय ५० को नोट चलन चल्तिमा छैन ।

यसरी गरीन्छ नोट छाप्ने तयारी 
printing notनोट जुन वर्ष प्रचलनमा ल्याउने हो, त्यही वर्षमा छापेर ल्याईदैन । पैसा छाप्नु अघि एक वर्षमा चलन चल्तिको निमित्त कति रुपैयाँ बराबरको नोट आवश्यक पर्छ भनेर नेपाल राष्ट्र बैंकले अध्ययन गरी रिपोर्ट निकाल्छ । मुलुकको अर्थतन्त्र धान्न कति रकम चाहिन्छ भन्ने आँकलन गर्नको लागि यो अध्ययन गर्नुपरेको हो । बढी चलनचल्तिमा बजारमा जुन नोट  छ, सो नोट बढी मात्रामा छापिन्छ । सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै देवनागरिको ‘अ १’ बाट छाप्न सुरु भएको नोट ‘अ १००’ सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरी ‘आ १’ बाट अरु नोट छापिन्छ । यसरी आवश्यकताको आधारमा ‘ज्ञ’ सम्म नम्बरिङ गरेर नोट छाप्ने गरिन्छ ।

यसरी गरीन्छ नोटको डिजाइन
नेपाल राष्ट्र बैंकमा गर्भनर, डेपूटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकार सम्मीलित नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तु विज्ञले कुन बन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रबद्र्धन गर्ने भन्ने सुझाब दिन्छन् । सबै पक्षको सुझाबको आधारमा नोटमा कस्ता चित्र, नम्बर समावेश गर्ने भन्ने निर्णय हुन्छ । यसपछि राष्ट्र बैंकमा नोटको डिजाईन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ । राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराएपछि मन्त्रीपरिषदु्मा नोटको डिजाइन र डिनोमेशन स्वीकृतिका लागि पेश गरिन्छ । अर्कोतर्फ, हरेक देशको केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गरेका हुन्छन् । सबै नोटमा गर्भनरले हस्ताक्षर गर्ने होईन । गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ । यद्यपी सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्न पाएका हुँदैनन् । 

नोटभन्दा बढि लाग्छ नोट बनाउने लागत 
अझै अनौठो कुरा के छ भने, एक रुपैयाँको सिक्का छाप्नको लागि डेढ रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर यसको तुलनामा दुई रुपैयाँको नोट छाप्न भने केहि सस्तो पर्ने बताईएको छ । त्यस्तै नोट छाप्दा सानो नोटको भन्दा ठुलो नोटको लागत बढी पर्छ । ठुलो नोटमा ‘सेक्युरिटी फिचर्स’ बढी हुने गरेका कारण यसलाई छाप्नको लागि लागत बढी लाग्ने स्रोतको भनाई छ ।

यी मुलकमा छापिन्छन् सिक्का 
१. चिन
२. जर्मनी 
३. स्वीडेन
४. बेलायत
५. नेदरल्याण्ड 
६. क्यानडा
७. फ्रान्स
८. रसिया
९.इन्डोनेसीया 
यद्यपी माथि उल्लेख गरीएका सबै मुलुकले आफ्नो देशका हरेक स्थानबाट पैसा छाप्ने भने होईन । उनिहरुले आफ्ना देशको एक स्थानको एउटा कम्पनिबाट मात्रै पैसा छाप्ने गर्दछन् । चिनले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनबाट, जर्मनीले जिस्क एण्ड डेभ्रिएनट जिएमबिएच र बन्डेस डर्केरी, स्वीडेनको क्रेन एबि कम्पनि, बेलायतको डिलारु करेन्सी त्यस्तै फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसीयाको पेरुम पेरुरी, नेदरल्याण्डको जोन ईन्सेड बैंक नोट बिभि, क्यानडाको क्यानेडीयन बैंक नोट कम्पनी लिमिटेड बाट नोटहरु छाप्ने काम हुन्छ । नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । यसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्दछन् । तर नेपाल राष्ट्र बैंकले यसमध्ये १० वटा कम्पनीलाई मात्रै ‘प्रि क्वालिफिकेसनका’े सूचीमा समाबेश गर्ने गरेको छ । ‘प्री क्वालिफीकेसनमा’ परेका कम्पनिको प्राविधीक, र आर्थिक सर्वेक्षण अध्ययन गरेर मात्रै नेपाल राष्ट्र बैंकले कम्पनी छनौट प्रक्रिया टुंगाउँछ । यद्यपी नोट छाप्नको लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको ‘सेक्यूरेटीज’ खरिद गरेको हुन्छ । यस्तो  ‘सेक्यूरेटीज’मा लगानी गर्दा त्यसको व्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यिनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजानिक गर्नुपर्ने हो, त्यस बराबरको सम्पति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ । यी विभिन्न प्रक्रिया पुरा गरी छापेको नोट सिधै बजारमा पठाईदैन । छापिएका नोटको ‘प्रिफेक्स’ नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दा सम्म त्यो नोटको मान्यता हुँदैन । त्यसैले राष्ट्र बैंकले सूचना जारी गर्नुपूर्वसम्म मुद्रा व्यवस्थापन विभागको स्टोर रुममा सुरक्षित रुपमा नोट राख्छ । 

यसकारण राखिन्छ, सुरक्षा चिह्न
nepali-noteनोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । नोटमा ‘एनआरबी’ लेखिएको सेक्युरीटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ । नोट प्रिन्ट गर्दा नै यो धागोको केही भाग नोट बाहिरै देखिने गरी मिलाईन्छ भने केही भाग नोट भित्र लुकेको हुन्छ यसका साथै नोटमा सामान्य आँखाले नदेखिने ‘सेक्युरिटी फिचरहरु’ प्रशस्त मात्रामा राखिएको हुन्छ । नक्कली नोट बजारमा आउन नसकोस् भनेर अभिप्रायले यस्ता सुरक्षा चिन्ह राखिएको हो । 

अनौठो कुरा : जलाइन्छ नोट
अचम्म मान्नुपर्दैन । नोट छापिएर बजारमा गएपछि कारोबार हुँदै जाँदा कतिपय नोट  नेपाल राष्ट्र बैंकमा नै फर्कन्छन् । त्यसपछि नेपाल राष्ट्र बैंकले पुराना नोटको सट्टामा नयाँ नोट बजारमा पठाउँछ । पुराना भएका नोट भने सम्बन्धित् देशको कानुनले व्यवस्था गरेबमोजिम जलाउने गरिन्छ । कतिपय नोटहरु प्रयोगका क्रममा च्यातिएर नष्ट हुन्छन् त कतिपय आगलागि भएर पनि । यसरी च्यातिएर वा आगलागि भएर डढेका नोटहरु नेपाल राष्ट्र बैंकमा फर्कदैनन् । यद्यपी राष्ट्र बैंकमा नफर्केका नोटहरु अर्थतन्त्रमा चलायमान भइरहेको मानिन्छ । कतिपय डढेकै नोटको भएपनि नम्बर सहित नोटको दुई तिहाइ भाग भएको खण्डमा भुक्तानी पाउन सकिन्छ । आधा नोट एक ठाँउमा र आधा अर्को ठाँउमा पेश गरी दोहोरो भुक्तानी लिन सक्ने संभावनालाई मध्यनजर राख्दै नोटको आधा भाग मात्र भयो भने त्यसको भुक्तानी हुँदैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]