June 28th, 2023

नेपालमा डच डिजिजको सम्भावना (तिलक महराको लेख)

तिलक महरा

डच रोग नेदरल्यान्ड्समा देखा परेको आर्थिक समस्याबाट आएको महत्वपूर्ण अवधारणा हो। अर्थशास्त्रीहरुले कुनै विरोधाभासपूर्ण अवस्था चित्रण गर्न प्रयोग गर्ने एउटा चर्चित अवधारणा डच डिजिज (डच रोग) हो।

खासगरी अर्थतन्त्रको कुनै एउटा क्षेत्रमा भएको अत्याधिक विस्तार तथा विकासले दीर्घकालमा देशको समग्र अर्थतन्त्रमा विभिन्न नकारात्मक असरहरु निम्त्याई समग्र अर्थतन्त्रलाई नै रोगी बनाउँछ भनेर देखाउने अवधारणा डच डिजिज हो वा त्यसप्रकारको अवस्था देखाउन डच डिजिज अवधारणा प्रयोग हुन्छ।

डच डिजिज अबधारणाको उत्पत्ति

डच डिजिज शब्द पहिलोपटक The Economist नामक म्यागजिनले प्रयोग गरेको थियो । म्यागजिनले सन् १९७७ मा नेदरल्यान्ड्समा सन् १९६० को दशकमा भएको समस्यालाई वर्णन गर्न शब्द प्रयोग गरेको थियो। नेदरल्यान्ड्समा सन् १९५९ मा ठूलो प्राकृतिक ग्यासको भण्डार फेला पर्यो र त्यसका कारण नेदरल्यान्ड्सले अत्याधिक मात्रामा तेलको निर्यात बढायो, जसबाट त्यो बेलाको डच मुद्रा ग्युल्डर (Guilde) को मूल्य निकै बढ्यो (डच मुद्रा अत्याधिक Appreciate भयो)।

यसले गैर-तेल सामानहरूको डच निर्यातलाई कम प्रतिस्पर्धी बनायो र परिणाम स्वरूप, म्याक्रो अर्थव्यवस्था बिग्रियो, नेदरल्याण्डमा बेरोजगारी दर बढ्यो र पूँजी लगानी तीव्र रूपमा घट्यो। यसरी नेदरल्यान्ड्समा एउटा प्राकृतिक ग्यास भण्डार फेला परेपछि उक्त देशमा उत्पादनमूलक क्षेत्र खुम्चिएको घटनालाई अर्थशास्त्रमा ‘डच डिजीज’ भनेर व्याख्या गर्ने चलन छ।

त्यसकरण डच डिजिजले अर्थतन्त्र नकारात्मक तरिकाले प्रभावित भएको घटनालाई इंगित गर्दछ। खासगरी देशको कुनै एउटा क्षेत्र अत्याधिक सफल हुदै जादा स्वदेशी मुद्राको मुल्य असामान्य तरिकाले बढ्न गइ सोहि कारण देशको बाह्य क्षेत्र हुँदै वास्तविक क्षेत्रपनि रोगि हुदै जानु लाई डच डिजिज भनेर भन्ने गरिन्छ। विश्वका बिभिन्न देशहरुले बेला बखतमा यसप्रकारको समस्या भोग्दै आइरहेका छन् ।

नेपालमा डच डिजिजको सम्भावना

नेपालमा रोजगारीका दीगो र भरपर्दो अवसरहरु न्यून भएकाले अधिकांस युवा जनशक्ति वैदेशिक रोजगारीमा रहेको र देशमा अत्याधिक आर्थिक गतिविधिहरु विप्रेषणले नै भरणपोषण गर्दै आइरहेको देखिन्छ। सन् १९९० मा वार्षिक २.१२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिने मुलुकमा सन् २०२१/२२ मा १००७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। चालु आर्थिक वर्ष २०२२/२३ को १० महिनामा करिब १००५ अर्ब बराबरको विप्रेषण प्राप्त भएको छ।

रेमिट्यान्स आप्रवाहका कारण नेपालको भुक्तानी सन्तुलन सामान्यतया बचतमा रहन्छ र विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त हुन्छ। यस अर्थमा, नेपालको अर्थतन्त्र सबै तहमा रेमिट्यान्समा निर्भर भएकोले डच रोग प्रायः बहस हुन्छ। तसर्थ, निम्न तथ्यहरूले रेमिटेन्सहरू डच डिजिज हो/हुन सक्छ भनेर संकेत गर्न सक्छ ।

• नेपालको विनिमय दर भारतसँग स्थिर रहेको र अरु देशसंगको विनिमय दर अमेरिकी डलरसँग भारतीय मुद्राको विनिमय दरमा भएको परिवर्तनसँग सम्बन्धित रहेकाले मौद्रिक विनिमय दरमा विप्रेशणको केहि असर हुँदैन। यद्यपि, प्रतिस्पर्धात्मकता वास्तवमा मौद्रिक विनिमय दरमा हुने परिवर्तनहरू द्वारा मापन गरिदैन र सोका लागि वास्तविक विनिमय दर मापन गर्नु पर्दछ। यदि आन्तरिक मुद्रास्फीति अन्य देशको तुलनामा उच्च छ भने मौद्रिक विनिमय दर निश्चित भए पनि, आन्तरिक मुद्रा (नेपाली) वास्तविक अर्थमा बढ्छ।

यसरी नेपाली मुद्राको वास्तविक मूल्य अप्रिसिएट हुँदा रेमिट्यान्स प्रवाहले माग बढाउन मद्दत गरेको छ, मुद्रास्फीतिको दबाब सिर्जना गरेको छ, अन्तर्राष्ट्रिय बजारमा स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मकता घटाएको छ र केही हदसम्म डच रोगका लक्षणहरू सिर्जना गरेको छ भन्न सकिन्छ।

• रेमिट्यान्स आप्रवाहका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको विभिन्न अध्ययनले देखाएको पाइन्छ ।

• रेमिट्यान्सले परनिर्भरता सहितको व्यापार बढाएको छ र व्यापार घाटा फराकिलो बनाउन भूमिका निर्वाह गरेको देखिन्छ ।

• रेमिट्यान्सले सहज पैसा (Easy money) को लक्षणहरू सिर्जना गरेकोले काम गर्ने उमेरको जनसंख्याले विदेशी राष्ट्रहरूमा काम गर्न अनुकूल रूपमा छनौट गरिरहेको देखिन्छ। यसले रेमिट्यान्स प्राप्त गर्ने घर परिवारका सदस्यहरूको कार्यदक्षतामा थप ह्रास आएको छ ।

• रेमिट्यान्सले आन्तरिक उत्पादन घटाएको छ, घरेलु व्यापार वातावरणमा नकारात्मक असर पारेको छ र कामदारको निकासीमा जोड दिएको छ ।

• रेमिट्यान्सले उपभोक्तावादी व्यवहारलाई बढाएको छ र आन्तरिक उत्पादन नहुँदा यसले ओरालो लागिरहेका आर्थिक शक्तिको मापनलाइ अझै कमजोर बनाइदिएको छ ।

• उपभोग मुखी शैली सहितको समाजको आवश्यकता पुरा गर्न उत्पादन भन्दा आयात तर्फ उन्मुख व्यवसायिक वातावरणले देशको उत्पादन क्षेत्रलाई थप संकुचित बनाएको छ । उल्लेखित तथ्यहरु हेर्दा नेपालमा विप्रेषण आयले डच रोग पैदा गरिरहेको भन्न सकिन्छ। यसको समाधन पहल गरि देशभित्रै श्रोत साधन परिचालन हुने र दीगो बिकासका लागि वातावरण बन्ने गरि रेमिट्यान्सलाई उपयोग गर्न सकियो भने डच रोगको लक्षणहरु कम गर्न सकिन्छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]