नेपालमा निर्जीवन बीमा कम्पनीहरूले जारी गर्ने बीमा लेखहरूमध्ये अग्नि बीमा लेखको हिस्सा सबैभन्दा अधिक रहेको छ । पछिल्लो समयमा सरकारले सम्पत्तिको बीमा गर्दा अग्नि बीमालाई पनि अनिवार्य गरेपछि अग्नि बीमालेख जारी हुने क्रम बढिरहेको छ । सम्भावित कुनै पनि दुर्घटनाबाट बच्नका लागि अग्नि बीमालेख अति नै उपयोगी हुन्छ । अग्नि बीमालेख भनेको भवन, भवन भित्र राखिएका सामान, मेशिनरीलगायत स्थिर सम्पत्तिका लागि गरिने बीमा हो । यसमा अग्नि, चट्याङ र अहिले भूकम्प पनि अनिवार्य जोखीमको रूपमा समावेश भएको छ । यसमा अन्य जोखिमहरू, जस्तै–बाढीपहिरो, हुरीबतास, आँधीबेहरी, हुलदङ्गा, आतङ्कवादसमेत समावेश गर्न सकिन्छ । यसका लागि बीमितले अतिरिक्त बीमा शुल्कको भुक्तानी गर्नुपर्छ ।
अग्नि बीमा योजना खरीद कसरी गर्ने ?
अग्नि बीमा गर्दा बिमितले बीमा कम्पनीबाट प्राप्त प्रस्ताव फारम भरेर बुझाउनुपर्छ । फारममा बिमितले बीमा गर्न चाहेको सम्पत्तिको सम्पूर्ण विवरण, जस्तै– सम्पत्तिको तत्कालीन अवस्था, मूल्य आदि तोकेर उक्त सम्पत्तिका लागि जोखीम लिन चाहेको जोखिमबारे खुलाउनुपर्छ । साथै, बीमा कति अवधिका लागि गर्न चाहेको हो, त्यो पनि खुलाएर भर्नुपर्छ । यस्तो विवरणसहितको फारम बीमा कम्पनीलाई बुझाएपछि कम्पनीले स्वीकार गरेपछि बीमाशुल्क तिरेर बिमालेख प्राप्त गर्न सकिन्छ । बीमा गर्दा आफ्नो सम्पत्तिको अवस्था हेरेर जोखिम निर्धारण गर्न गर्नुपर्छ । जस्तै–खोलाको किरानामा घर छ र त्यस्तो घरको अग्नि बीमा गर्ने हो भने बिमितले अनिवार्य जोखिमबाहेक बाढीपहिरोको जोखिमका लागि बीमा गर्नु उपयुक्त हुन्छ । बीमाशुल्क जतिसम्मको पनि गर्न सकिन्छ । सम्पत्ति अनुसार बीमाशुल्क निर्धारण गर्न सकिन्छ । थोरै सम्पत्तिका लागि हो भने थोरै रकमको पनि गर्न सकिन्छ । यदि धेरै सम्पत्तिको हो भने धेरै बीमाशुल्क निर्धारण हुन्छ । अग्नि बीमाको अवधि १ वर्षका लागि मात्रै हुन्छ । प्रत्येक वर्ष सकिएपछि नवीकरण गर्नुपर्छ ।
बीमा दाबी कसरी गर्ने ?
दाबी परेमा वा दाबी पर्न सक्ने घटना भएमा बीमा कम्पनीलाई खबर गर्नुपर्छ । त्यस्तै, अवस्था हेरेर प्रहरीलाई समेत सूचित गर्नुपर्छ । त्यसपछि बीमा कम्पनीले सर्भेयर खटाएर मूल्याङ्कन गर्छ । यस्तो अवस्थामा बिमितले आवश्यक कागजपत्र बुझाएर भुक्तानी कार्यमा सहयोग गर्नुपर्छ । सर्भेयरको रिपोर्ट पाएको ३ हप्ताभित्र कम्पनीले दाबी भुक्तानी गर्छ ।
बीमालेखले सुरक्षण प्रदान गर्ने अवस्थाहरू
बिमितले प्रस्ताव फारममा उल्लेख गरेका सम्पत्ति आगलागी, चट्याङ, भूकम्प, वाष्पचाप उत्पादन गर्ने सरसामानको विस्फोटनबाहेक अन्य सबै विस्फोटनबाट हानि नोक्सानी भएको अवस्थामा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्छ । त्यस्तै, बाढी तथा जलमग्न, पहिरो, भूस्खलन र नयाँ संरचना निर्माण गर्दाबाहेकको अवस्था भएको जमिन भासिने कार्य, हुरीबतास तथा आँधीबेहरीबाट सम्पत्तिको हानीनोक्सानी भएमा पनि कम्पनीले क्षतिपूर्ति प्रदान गर्छ । कुनै प्रयोजनका लागि बालिएको आगोले आफ्नो क्षेत्रभन्दा बाहिर फैलिएर पुर्याएको क्षति तथा हानिनोक्सानी, बिमालेखको अपवादमा उल्लेख भएको कारणबाहेक अन्य कारणबाट आगलागी हुँदा सोको धूवाँ वा अत्याधिक तापको कारणले गुणस्तर बिग्रिएर वा भौतिक संरचना भत्किएर भएको क्षति, पानी वा अग्नि नियन्त्रक अन्य साधन तथा उपकरणबाट आगो फैलिन रोक्न प्रयास गर्दा हुने हानिनोक्सानी, आगलागी फैलावट रोक्न भवनलाई कुनै उपायले अलग्याइएमा वा छुट्याइएमा सोबाट हुने हानिनोक्सानी, आगो लागेको स्थानबाट सम्पत्ति अन्यत्र सार्दा त्यस्तो सम्पत्तिमा जोखिम न्यूनीकरणका उपाय प्रयोग गर्दा तथा मौसमको कारणले हुने हानिनोक्सानी, आगलागी नियन्त्रण गर्न वारुणयन्त्र वा अन्य अग्निनियन्त्रक यन्त्रलाई आगलागी भएको स्थानसम्म ल्याउँदा वा लैजाँदा उक्त यन्त्रले सोहीबिमितको बीमा गरिएको अन्य सम्पत्तिमा क्षति पुर्याएमा, भूकम्पको कारणबाट आएको बाढी वा नदी जल ताल वा पानी जम्मा गरेको पोखरीको पानी उर्लिएर, बाँध फुटेर वा भत्किएर पानी उर्लिई क्षति भएमा पनि कम्पनीले क्षतिपूर्ति प्रदान गर्छ ।
बीमालेखले नसमेट्ने अवस्थाहरू
ग्यास उत्पादन नगरिने वा ग्यास कारखाना क्षेत्रभित्र नपर्ने घरमा बत्ती बाल्न, तताउन वा अन्य घरेलु कामका लागि मात्र प्रयोग वा भण्डारण गर्दा ग्यास तथा घरेलु उपकरण विस्फोटन भई हुन गएको क्षति/हानि नोक्सानीबाहेक अन्य विस्फोटनको कारणबाट भएको कुनै क्षति÷हानि नोक्सानी भएमा क्षतिपूर्ति भुक्तानी गर्नका लागि बिमक बाध्य हुँदैन । त्यस्तै, बन्द व्यापार वा उत्पादन प्रक्रियामा परिवर्तन आएमा, बीमा गरिएको भवन वा बीमा गरिएको सम्पत्ति रहेको भवनको प्रयोगमा परिवर्तन भएमा, बीमा गरिएको भवन वा बीमा गरिएको सम्पत्ति रहेको भवन ३० दिनभन्दा बढी समय मानिस नबसी खाली रहेमा, बीमा गरिएको भवन वा सम्पत्ति बीमा गरिएको भनी लेखिएको कुनै भवन वा स्थानबाहेक अन्य भवन वा स्थानमा भएमा वा सारिएमा, प्रचलित कानूनबमोजिम उत्तराधिकारीमा सरेकोमा बाहेक बिमितबाट अन्य व्यक्ति वा संस्थामा बीमा गरिएको सम्पत्तिको हकहित सरेको अवस्थामा हानिनोक्सानी हुनुअघि बिमकको तर्फबाट लिखित समर्थन नगराएमा बिमकले त्यस्तो हानिनोक्सानीको क्षतिपूर्ति दिँदैन । त्यस्तै, अधिकारप्राप्त निकायको आदेशानुसार सम्पत्ति जलाइएमा, नष्ट गरिएमा वा हटाइएमा, ज्वालामुखी वा भूमिगत (पृथ्वीको सतहमुनि) आगलागीबाट क्षति÷हानिनोक्सानी भएमा, आणविक हातहतियार वा तत्सम्बन्धी पदार्थको कारणबाट प्रत्यक्ष वा अप्रत्यक्ष क्षति÷हानिनोक्सानी भएमा, आणविक विकिरण वा आणविक इन्धन वा आणविक इन्धनको ज्वलनपछि शेष रहेको कमाम नलाग्ने पदार्थबाट निस्कने रेडियोधर्मी तत्वको संसर्गबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले कुनै क्षति÷हानिनोक्सानी भएमा, सैनिक विद्रोह, सैनिक वा शक्ति अपहरण वा जङ्गी कानूनपालन वा घेराबन्दी स्थितिको घोषणा, युद्ध, आक्रमण, विदेशी शत्रुको कारबाही वा कुनै युद्धसरहको कारबाही (घोषित वा अघोषित), गृहयुद्ध कारण वा सोको परिणामस्वरूप भएको क्षतिको कम्पनीले भुक्तानी गर्दैन ।