April 13th, 2023

ब्याजदर घट्ने अवस्थामाः अर्थतन्त्रमा सुधार हुने अपेक्षा

बैंकिङ खबर/ निक्षेपको ब्याजदर एकल अंकमा कायम गरेसँगै वैशाखबाट कर्जाको ब्याजदर पनि केहि घट्ने भएको छ । निक्षेपको ब्याजदर वैशाखको लागि घटाउन लागिएको कारणले नभएर केही महिनादेखि यस्तो ब्याज घटेकोले कर्जाको ब्याजदर पनि सामान्य दरले घट्ने भएको हो । त्यसबाहेक बैंकहरूले असारसम्म कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएर ४ प्रतिशतमा कायम गर्नुपर्ने हुन्छ। अहिले नै यो दर ४.२ प्रतिशत हाराहारी आइसकेको छ ।

बैंकर्सहरूका अनुसार कर्जाको ब्याजदर ०.१५ प्रतिशतदेखि ०.२ प्रतिशत विन्दुसम्म घट्न सक्ने सम्भावना छ । यसरी ब्याजदर घट्ने अवस्थामा पुगेको बेला अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरिएको छ ।

मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ शृंखला अन्तर्गतको कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्व मन्त्री भगवती चौधरीले देशको आर्थिक अवस्था सुधार गर्न सबै एकजुट हुनुपर्ने बताइन् ।

उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र राष्ट्र बैंक मिलेर अगाडि बढ्नुपर्ने बताइन् । उनले ब्याजदर केहि घट्ने अवस्थामा रहेको बताउँदै अवका दिनमा सहज हुने बताए । उनले भनिन् ‘तर अहिले ऋणीको अवस्था नहेर्दा र संस्थाको व्यवसायमा राष्ट्र बैंक उदार हुँदा अलि समस्या ल्यायो ।’ ग्रास रूटमा काम गर्ने संस्थाहरूलाई ऋण तिर्न नसक्नेको डेटा ल्याउनुस र सोही अनुसार सीएसआर अन्तर्गत केही गर्न सकिन्छ भन्ने विषय उठाउन सकिने उनको भनाइ छ ।

यसको लागि छुट्टै नियमनकारी निकाय पनि आवश्यक रहेको उनले बताइन् । उच्च ब्याजदरले अनुत्पादक क्षेत्रमा जाने लगानी रोके पनि उद्योगी र उद्यम गर्नेहरूका लागि सहज नभएको उनको भनाइ छ । आन्दोलनमा सहभागी भएर ऋण मिनाहा हुन्छ भन्ने सोचाइमा नरहन पनि उनले आग्रह गरिन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त महाशाखा प्रमुख रेवती नेपालले बैंकवित्तविरुद्ध अराजक गतिविधि गर्न नहुने बताए । उनले अर्थतन्त्रमा देखिएको मन्दीलाई सुधार्न सबै एक भएर लाग्नुपर्ने बताए । उनले बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेको भन्दै अबका दिनमा अर्थतन्त्र थप सवल हुँदै जाने अपेक्षा गरे । 

‘बैंक तथा वित्तीय संस्था सधै नाफामा जानूपर्छ । त्यो निक्षेप सर्वसाधारण कै हो,’ उनले भने । संस्थाहरू स्वनियमनमा गए सहज हुने उनले बताए । उत्पादनहरू बजारीकरण गर्नेमा सहजीकरणका लागि सी टूसी मोडलमा जान सकिने उनले बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकमा पैसा राखेर ब्याज खाने प्रवृत्ति हटाउनुपर्ने बताए । ‘१० प्रतिशत भन्दा बढी ब्याज लगाउनै हुँदैन् । बैंकमा पैसा राखेर ब्याज खाने प्रवृत्ति हटाउनुपर्छ,’ उनले भने, ‘आज एउटा होटल खोल्न १ करोड ऋण लियो भने वर्षको २५ लाख ब्याज तिर्नु पर्ने अवस्था छ । यस्तो प्रकारको ब्याज खाएर बस्ने प्रवृत्ति अर्काे देशमा छैन ।’ यस्तै उनले बैंकवित्तले ब्याजदर घटाएको भन्दै उद्योगी व्यवसायीलाई केहि भएपनि सहज हुने बताए । 

 

नेपाल व्यापार संघका अध्यक्ष हरिप्रसाद गौतमले व्यवसाय तहसनहस अवस्थामा पुगेको बताए । ‘व्यवसाय आज तहसनहस अवस्थामा छ । यो तमाम समस्याले गुज्रिएको अवस्था छ । मौद्रिक नीति आउँदा अर्थतन्त्रको आत्मनिर्भरता तिर जानू पर्थ्यो तर, त्यो भएन्,’ उनले भने ।

‘आज मुलुक भित्रने भन्दा बाहिरिने रकम बढ्दो छ । उच्च शिक्षाका लागि बाहिरने क्रम धेरै छ,’ उनले भने । पुनरकर्जा सुविधालाई निरन्तरता दिनुपर्ने, मौद्रिक नीतिले ब्याजदर र आत्मनिर्भर बनाउने अवस्थातिर जानू पर्ने उनले बताए । व्यवसायीका मागहरू राज्यले सम्बोधन गर्न नसकेको उनको गुनासो छ ।