April 9th, 2023

कर्जाको माग नहुँदा बैंकमा थुप्रियो पैसा

बैंकिङ खबर/ बैंकको ब्याजदर उच्च भएको भन्दै उद्योगी, व्यवसायी आन्दोलित हुँदै आएका छन् । उनीहरुले कर्जाको ब्याजदर घटाउन माग गर्दै आएका छन् ।

हाल बैंकहरुमा कर्जाको माग ह्वातै घटेको छ । एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो तर अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग भने कम छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा गत बुधबारसम्म कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब २३ अर्ब रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैत २१ सम्म बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७१ अर्ब रुपैयाँ कुल निक्षेप थपिएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्।

करिब १ खर्ब ६३ अर्ब रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा रहेको राष्ट्र बैंकले जनाएको छ । तरलता र पुँजी जोड्दा चैत तेस्रो सातासम्म करिब २ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बैंकमा लगानीयोग्य रकम पर्याप्त रहे पनि ब्याजदर उच्च भएका कारण कर्जा माग कम भएको बताउँछन् ।

गत माघमा वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत थियो । यो एक दशकअघिकै हाराहारी हो । ०६९ असारमा कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो । यस अवधिमा ब्याजदर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म पनि झरेको थियो । यस अवधिको निक्षेपको ब्याजदर र अन्य खर्च पनि बढेकाले बैंकको आधारदर वृद्धि भएको बैंकहरूको दाबी छ ।