बैंकिङ/ देशको अर्थतन्त्र बेलैमा सुधार गर्न सरोकारवालाहरुले जोड दिएका छन् । मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संकटमा अर्थतन्त्र बहसमाः निकास’ विषयक अन्तरक्रियामा सहभागीहरुले उक्त कुरामा जोड हुन् ।
कार्यक्रममा राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष एवम् वरिष्ठ व्यवसायी कुमार कार्कीले हरेक क्षेत्रमा राजनीति घुस्दा समस्या हुने गरेको बताए । नेपाल आफैंले उत्पादन गर्न सक्ने वस्तुहरु समेत बाहिरबाट ल्याउँदा समस्या भएको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए । देशको मूल नीति राम्रो नहुँदा आज लाखौं युवाहरु विदेशीन बाध्य भएको पनि उनले बताए । कुनै पनि देशको बैंक नीतिमा १५ प्रतिशत ब्याज लिने व्यवस्था नभएको भन्दै उनले १५ प्रतिशत ब्याजदरले उद्योग धन्दा फस्टाउन नसक्ने बताए । सरकारले दिने अनुदान कार्यकर्ता पाल्न मात्रै दिएको भन्दै उनले सहुलियत कर्जा वास्तविक कृषकलाई दिन आवश्यक रहेको बताए । सरकारले २, ३ प्रतिशत ब्याजमै कर्जाको व्यवस्था गर्नुपर्ने उनको जोड छ । उनले भने, ‘जो सिंहदरबारको गेटमा फाइल बोकेर जान्छ । उसले करोडौं करोड अनुदान लिएको हुन्छ । यो अन्त्य हुनुपर्छ ।’
फाइनान्सियल विज्ञ श्रीराम पोखरेलले पछिल्लो समय सहकारी, माइक्रोफाइनान्सलाई असहजका साथै चौतर्फी रुपमा आक्रमण भएको बताए । उनले भने, ‘त्यसको प्रत्यक्ष प्रभाव असुलीमा देखिएको छ । लघुवित्तको सुधार गर्नुपर्ने केहि पक्षहरु पनि होला, तर अहिले राजनीति छिरेको अवस्था छ । विभिन्न नाम दिएर असुलीमा अवरोध गरेको अवस्था छ । पछिल्लो अर्थतन्त्रले सोचेजस्तो व्यवसाय हुन नसकेको अवस्था छ ।’ हाल ६४ वटा लघुवित्त रहेको भन्दै उनले ६० लाखको हाराहारीमा सेवाग्राही रहेको बताए । पछिल्लो २०७३ सालदेखि ७६ असार मसान्तसम्म ५४ वटा लघुवित्तले लाइसेन्स पाएको उनले बताए । यसले पनि लघुवित्तबीचमा अस्वास्थ्य प्रतिस्पर्धा रहेको उनले बताए । नेपालको राजनीतिले पनि समग्र अर्थतन्त्रमा समस्या देखिएको उनकाे भनाइ छ । बैंकवित्तको पछिल्लो परिघटना हेर्दा डिपोजिट राख्न निरुत्साहन हुन पुगेको उनले बताए ।
शैक्षिक परामर्श विज्ञ एवम् युवा राजनीतिज्ञ सूर्य कुमार डागीले राजनीतिक कारण पनि उद्योग, व्यवसाय समस्यामा परेको बताए । उनले भने, ‘देशमा अस्थिर राजनीतिक छ । जसको असर उद्योगधन्दामा समेत परेको छ ।’ अहिले व्यवसायीहरुको व्यापार घटेको अवस्था र उत्पादन र उपभोग घट्दो रहेको उनले बताए । उनले भने, ‘बजारमा पैसा अभाव छ तर पैसा नै नभएको होइन् । हाम्रो पैसा हामीमै छ ।’ व्यवसायीको मनोबल घट्दो अवस्थामा रहेको भन्दै उनले घरजग्गाको कारोबार शिथिल, मुद्रा स्फिती बढ्दो र बैंकवित्त प्रतिको विश्वास घटेको बताए । उनले कर्जा सूचना केन्द्रको लिस्टमा व्यवसायी पर्ने क्रम बढ्दो रहेको बताए ।
कृषि प्राविधिक विज्ञ राजन गैरेले अब स्मार्ट कृषितर्फ लाग्नुपर्ने बताए । जलवायु अनुकुलन प्रविधिको प्रयोगबाट गरिने कृषि बजारलाई हेरेर उत्पादन गर्नुपर्ने उनको जोड छ । उनले भने, ‘किसानले बजारलाई हेरर उत्पादन गर्नुपर्छ ।’ रेमिट्यान्सको रकम स्मार्ट कृषिमा लगानी गर्नुपर्ने उनको सुझाव छ । कृषि लोन सहर केन्द्रित भएको भन्दै उनले वास्तविक किसान लोन पाउन नसकेको बताए । अनुदानको रकम अन्य क्षेत्रमा खर्च भएको पनि उनले बताए ।
कार्यक्रममा वरिष्ठ व्यवसायी नविन कुमार श्रेष्ठले बैंकको ब्याजदरका कारण उद्योगी व्यवसायहरु समस्यामा परेको बताए । उनले भने, ‘काठमाडौं न्यूरोड क्षेत्रले राष्ट्रको ट्याक्समा ६६ प्रतिशत योगदान दिएको छ । तर अहिले न्यूरोडमा व्यापार व्यवसाय छैन । चर्को ब्याजले ब्यवसायी आक्रान्त बनेका छन् ।’ उनले बैंकले दिने ब्याजदमा बढी मात्रामा मार्जिन लिएको तर ब्यापारीले २० प्रतिशत बढी नाफा लिएमा कालोबजारमा राख्ने गरेको बताए । कर्मसियल बैंकले ७८.७६ सम्म बैंक बेस रेट राखेको भन्दै उनले १० को १२, १२ को १४ बेस रेट राख्नुपर्ने बताए । धेरैजसो आयतमा कटौती हुँदै गएको भन्दै उनले अहिले व्यापारीहरु बैंक र घरबहालका कारण समस्यामा परेको बताए ।
वरिष्ठ सहकारीकर्मी जनार्जन सापकोटाले न्यूरोडमा रहेका सहकारीहरु बढी समस्यामा परेको बताए । उनले भने, ‘सहकारीहरुले विना धितो ऋण दिँदै आएका छन् । न्यूरोडमा व्यवसायीहरुले ११, १२ वटा सहकारीबाट ऋण लिएको अवस्था छ ।’ व्यवसायीले व्यापार व्यवसाय गर्छन् तर किस्ता किन आएन भनेर सोध्दा चीनको नाका बन्द भयो, व्यापार भएन जस्ता समस्याहरु देखाउने गरेको उनले बताए । सबै सहकारी एउटै समस्या फसिरहेको उनको भनाइ छ । बैंकिङ नीति अनुसार सहकारीले ७० प्रतिशत लगानी गर्ने गरेपनि लगानी अनुसारको ब्याज र रकम असुल गर्न नसकेको बताए । कोभिड र लकडाउनका कारण अहिले समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘७० प्रतिशत ऋण लगानी भएको छ । सहकारी बन्द गर्नुपर्ने अवस्था छैन ।’ सहकारीले तत्कालीन अवस्थामा मल्हम लगाउने काम गरेको भन्दै उनले पछिल्लो समय सहकारीमा असुरक्षा हुने कारण देखाउँदै ट्रेन्ड बढेको बताए ।
सहकारीलाई नांगे झार हुने काम नगर्न पनि उनले आग्रह गरे । उनले भने, ‘पैसा डुबाउनका लागि सहकारी खोलेको होइन् । राष्ट्रलाई हामीले बचाएका छौं । सहकारीलाई बचाउनुपर्ने ठाउँमा सहकारीलाई लखेट्यौं ।’ सहकारीको बारेमा हाउगुजीको समस्याका कारण हल्लैहल्लाका पछाडि दौडिएको उनले बताए । उनले भने, ‘सहकारी डुविसकेको छैन । हल्ला बढी भयो ।’ अहिले व्यवसायी नै समस्यामा परेको भन्दै उनले व्यवसायीबाट पैसा फर्किएर आएसँगै सहकारीले रकम फर्काउने पनि बताए ।
कफी एवं चिया व्यवसायी गंगा राईले समस्या सँगै सम्भावनाहरु धेरै रहेको बताए । अहिले राजनीतिक अस्थिरता कारण समस्या हुने गरेको भन्दै उद्योगी व्यवसायीहरुप्रति राज्यले अभिभावकको भूमिका खेल्नुपर्ने बताए । सही भिजन ल्याएर, अध्ययन गर्न लगाएर उद्योगी व्यवसायीको समस्या समाधान गर्नुपर्ने उनले बताए । अहिलेको अप्ठ्यारोलाई सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए ।
व्यवसायी उचिता महर्जनले कृषि क्षेत्रलाई मलको आवश्यक रहेको भन्दै मलमा पनि राजनीति हुने गरेको बताइन् । उनले भनिन्, ‘कृषि देखि राजनीतिसम्म मल भन्ने वित्तीकै रासायनीक मललाई मात्र लिइन्छ । तर जैविक मल भिन्दै रहेको छ ।’ रासायनिक, प्राङ्गरिक र जैविक मलमा अनुदान छुट्याउनुपर्ने उनको भनाइ छ । मलकै कारण नेपालको करौडौं रकम बाहिरिएको भन्दै उनले जैविक मललाई जोड दिएर यसलाई राक्नुपर्ने बताइन् ।
मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले कोभिडपछि अर्थतन्त्र धरासायी भएको बताए । उनले मिडिया इन्टरनेशनलले यस्ता अन्तरक्रियासँगै निकासको बाटो पनि खोज्ने बताए ।