बैंकिङ खबर/ केहि दिन अघिको संसद बैठकमा सांसद तेजुलाल चौधरीले गाउँ-गाउँमा पुगेका बैंक तथा वित्तीय संस्था प्रभावकारी सेवा नदिएको गुनासो गरे । ‘पालिकामा विभिन्न बैंक तथा वित्तीय संस्थाको दर्जनौ शाखा खुलेको हुन्छ । त्यस्तो बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको वास्तविक पहुँच न्यून छ’ उनले भने । बैंक तथा वित्तीय संस्थाले टोल–टोलमा पुगेर बैंकिङ शिक्षा नदिनु र जनचेतना जगाउन नसक्नु नै यसको कारण भएको उनको भनाइ छ । यसतर्फ ध्यान दिन उनले सरकारलाई आग्रह समेत गरे । सांसद चौधरीले भनेजस्तै अहिले नेपालका गाउँ–गाउँमा बैंकवित्तका शाखा पुगेका छन् तर सर्वसाधरणको पहुँच भने न्यून छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७९ माघसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७८ माघसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ माघ मसान्तमा १२१ रहेको छ । यसमध्ये २२ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०७९ माघ मसान्तमा ११,६११ पुगेको छ ।
विश्वमा हाल करिब २ अर्ब ५० करोड जनता बैंकिङ तथा वित्तीय सेवाको पहुँचबाहिर रहेको अनुमान गरिएको छ । विकासोन्मुख राष्ट्रहरूमा यो अवस्था अझ बढी भयावह देखिन्छ । त्यसैगरी एसिया प्रशान्त क्षेत्रमा १ अर्बभन्दा बढी मानिसहरू औपचारिक वित्तीय सेवाको पहुँचबाट धेरै टाढा छन् । विश्व बैंकको ‘ग्लोबल फिन्डेक्स २०१८’ को प्रतिवेदनले विश्वभरका ६९% वयस्कहरूको मात्र बैंक खाता रहेको देखाएको छ । सन् २०११ र सन् २०१४ मा विश्वभरका ५१% र ६२% वयस्कहरूको मात्र बैंक खाता रहेको थियो ।
विकसित राष्ट्रहरूमा ८९% मानिसहरूसँग औपचारिक वित्तीय संस्थाहरूमा बैंक खाता रहेको देखिएको छ भने न्यून आय भएका राष्ट्रहरूमा ५९% मानिसहरूमा अझै पनि वित्तीय पहुँच पुग्न सकेको छैन । दक्षिण एसियाली राष्ट्रहरूमा ६७% मानिसहरूमा अझै पनि वित्तीय सेवाको पहुँच पुग्न सकिरहेको छैन ।
त्यसैगरी विश्वभरका करिब २ अर्ब २० करोड बालबालिकाहरूमध्ये करिब एक अर्ब बालबालिकाहरू अहिले पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् भने हालसम्म १ प्रतिशतभन्दा कम बालबालिकाहरू मात्र वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका दायरामा आएका छन् । विश्वभरका १५ देखि २५ वर्ष उमेर समूहका युवाहरूमध्ये करिब ४० प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थाहरूमा खाता रहेको पाइएको छ ।
नेपालका सन्दर्भमा यहाँको जनसङ्ख्याको ठुलो भाग अझै पनि औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेको देखिन्छ । मुलुकमा अहिले पनि १८.७ प्रतिशत जति जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन् र सो जनसङ्ख्यालाई गरिबीबाट मुक्त गराउनु आवश्यक छ । गरिबी तथा बेरोजगारीको यस्तो भयावह स्थिति र वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिका लागि वित्तीय चेतना वा साक्षरता अभियान अपरिहार्य छ । वित्तीय सेवाको मागका पक्षमा अर्थपूर्ण सुधार ल्याउन नेपालमा पनि वित्तीय चेतना एवम् साक्षरता कार्यक्रम विस्तार गर्नु अपरिहार्य र महत्वपूर्ण हुन आउँछ ।
नेपालमा वित्तीय साक्षरता सबै स्तरका मानिसहरूलाई अत्यन्त आवश्यक देखिएको छ । उच्च शिक्षा हासिल गरेका ठुला ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ । उपयुक्त वित्तीय शिक्षाका अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना हुनगई ठुलो वित्तीय क्षतिसमेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको छ । यद्यपि मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरकफरक वित्तीय शिक्षा आवश्यक हुने देखिन्छ ।
वित्तीय शिक्षा समाजका हरेक आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता व्यक्तिलाई आवश्यक छ किनभने उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका
सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुन्छ । नेपालमा एक दशकको अवधिमा बंैकिङ पहुँंचमा उछाल आएको छ । स्थानीय सरकार आएपछि देशभरका ७५३ वटै स्थानीय तहमा बैकिङ पहुँंच पुर्याउने सरकारको नीतिअनुरूप नागरिकहरूमा बैकिङ पहुँंच तथा वित्तीय साक्षरता बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार ६७.३४ प्रतिशत नेपालीहरूमा बैकिङ पहुँंच पुगेको छ । त्यसैगरी कुल निक्षेप खातालाई हेर्दा महिलाको निक्षेप खाता निकै बढिरहेको छ । कुल निक्षेप खातामा ६७.७ प्रतिशत खाता सक्रिय छन् र त्यसमा पुरुषको हिस्सा ६५.२ प्रतिशत र महिलाको हिस्सा ७२.२ प्रतिशत रहेको छ । कुल निक्षेप खातामध्ये बचत खाता सङ्ख्या ९०.६ प्रतिशत रहेको छ । सहकारी संस्थामा करिब २२ प्रतिशत र लघु वित्तीय संस्थामा १४ प्रतिशत नागरिकको आबद्धता रहेको देखिन्छ ।
वित्तीय साक्षरता मार्गदर्शन
वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ ।
वित्तीय प्रणाली प्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्त्व रहेको भन्दै मार्गदर्शन ल्याइएको हो । वित्तीय स्थायित्वको आधारशिला वित्तीय साक्षरता भएको तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउन मार्गदर्शन ल्याइएको हो ।
वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैंकका साथै इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न समयसमयमा विभिन्न निर्देशन जारी गर्दै आइरहेको छ ।
यद्यपि विभिन्न संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवद्र्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढङ्गले एकीकृत रूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा २०७९ जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
मार्गदर्शनका अनुसार बैंक तथा वित्तीय संस्थाले अब वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल बैङ्किङ सेवा पनि समावेश गर्नुपर्ने भएको छ । मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाले वित्तीय सेवामा युवालक्षित कार्यक्रम र विद्युतीय वित्तीय सेवा पनि समावेश गर्न पाउने व्यवस्था गरिएको हो ।
मार्गदर्शनको उद्देश्यमा लक्षित वर्गकेन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने तथा वित्तीय साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने रहेको छ ।
साइपालमा अझै पुुगेनन् बैंक
बैङ्किङ पहुँचदेखि वित्तीय साक्षरतामा सरकार र नियामक निकायले समेत अभियान चलाइरहँदा सुदूरपश्चिम प्रदेश बझाङको साइपाल गाउँपालिकाका स्थानीय बासिन्दा भने बैङ्किङ सेवा उपभोगका लागि तीन दिन हिँडेर सदरमुकाम पुग्नुपर्छ ।
वाणिज्य बैंक र तिनका शाखा सञ्जालको देशभर बढोत्तरी भइरहँदा यो क्षेत्रका स्थानीयका हकमा बैङ्किङ सेवा आकाशको फलजस्तै बनेको छ । सो क्षेत्रका बासिन्दा अहिले पनि बैङ्किङ सेवा उपभोगका लागि तीन दिन लगाएर सदरमुकाम पुग्छन् । बैङ्किङ सेवाकै लागि गाउँपालिकाको सम्पर्क कार्यालयसमेत सदरमुकाममा खोल्नु परेको बाध्यता साइपाल गाउँपालिकाको छ ।
यतिबेला ७५३ पालिकामध्ये ७५२ पालिकामा विभिन्न वाणिज्य बैङ्कका शाखा खुलिसकेका छन् । लामो समय बैङ्क पुग्न नसकेका बागमती प्रदेश धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका, कर्णाली प्रदेश जाजरकोट जिल्लाको जुनीचाँदे र ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा पनि यतिबेला बैङ्क पुगेका छन् ।
वित्तीय साक्षरतामा नेपाल कमजोर
नेपाली समाज पछिल्लो समय निकै शिक्षित बनिसकेको छ तर वित्तीय साक्षरतामा भने कमजोर नै बनेको छ । वित्तीय क्षेत्रमा संलग्न व्यक्तिहरूका अतिरिक्त केही प्रतिशत व्यक्ति मात्र वित्तीय क्षेत्र र त्यससँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकार छन् । बैंकिङ कारोबार डिजिटलाइज्ड हुँदै गएपनि वित्तीय साक्षरतामा सुधार हुन सकेको छैन । युवापुस्ता वित्तीय साक्षरतामा अगाडि देखिए पनि ६० वर्षमाथिका पुस्तासम्म वित्तीय साक्षरता पुग्न सकेको छैन।
नेपाल राष्ट्र बैंकले केहि समयअघि सार्वजनिक गरेको प्रदेशका साथै जिल्लास्तरमा वित्तीय साक्षरताको अवस्था र वित्तीय समावेशिताको स्थिति सम्बन्धमा गरेको सर्वेक्षणले ६० वर्ष काटेकाको वित्तीय साक्षरता २७.९ प्रतिशतमात्रै रहेको देखाएको छ।
युवा पुस्ता वित्तीय साक्षरता र यसका आयाम सबैमा अगाडि छन्। वित्तीय ज्ञानमा युवा पुस्ता बढी अगाडि देखिएका छन्। सर्वेक्षण अनुसार १८–३० वर्षका मानिसको वित्तीय साक्षरता अंक ६३.२ प्रतिशत छ। शिक्षाको तह बढ्दै जाँदा पनि वित्तीय साक्षरता बढ्दै गएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
राष्ट्रियस्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पाइएको छ। वित्तीय साक्षरताको तीन आयामको रूपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको छ। वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयाममा न्यूनतम अंक प्राप्त गरेका छन्।
पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको छ। यो महिलाको तुलनामा ७.५ प्रतिशतले बढी हो। पुरुषको वित्तीय ज्ञानमा अंक ५६.५ प्रतिशत छ। यो महिलाको तुलनामा १७.९ प्रतिशतले बढी हो। वित्तीय ज्ञानमा लैंगिक भिन्नता सबै प्रदेशमा पाइन्छ।
वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसले न्यूनतम अंक प्राप्त गरेका छन्। वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक बागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ।
केन्द्रीय बैंकले अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका ९ हजार ३ सय ६१ नेपाली नागरिकलाई छनोट गरेको थियो। व्यक्ति चयन गर्नको लागि बहुचरण नमुना छनोट विधि प्रयोग गरिएको थियो। प्रश्नावलीका आधारमा अन्तर्वार्ताको माध्यमबाट २०७८ पुस महिनामा तथ्यांक संकलन गरिएको हो। तथ्यांकलाई प्रत्येक व्यक्तिको वित्तीय साक्षरता र वित्तीय उपकरणको प्रयोगको अवस्थालाई जनसंख्याको भारका आधारमा राष्ट्रिय, प्रादेशिक, जिल्ला र स्थानीय तहको प्रकारअनुसार सूचकहरू निकालिएको छ।
रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेसा र कृषि क्षेत्रभन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रूपमा धेरै रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
प्रायः सबै सूचकमा तुलनात्मक रूपमा बागमती प्रदेशमा जनसंख्याको सबैभन्दा बढी हिस्साले र मधेस प्रदेशमा सबैभन्दा कम हिस्साले प्रयोग गर्ने गरेका छन्। भुक्तानी सेवाका प्रयोग सबैभन्दा बढी महानगरपालिकामा ९१.९ प्रतिशत वयस्क जनसंख्याले गर्ने गरेको पाइएको छ। कृषि, निर्माण र अन्य क्षेत्रमा रहेका कामदार कम प्रतिशतले भुक्तानी उपकरणको प्रयोग गर्छन्।
अझै पनि ठूलो संख्यामा (४५.५४ प्रतिशत) मानिस सामूहिक बचत ऋण प्रयोग गरिरहेका छन्। २३.९७ प्रतिशत वयस्क जनसंख्याले स्टक तथा सेयर राखेका छन्। तुलनात्मक रूपमा युवा पुस्ताको उच्च हिस्साले बचत, लगानी उपकरणको प्रयोग गर्ने गरेको पाइएको छ। अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसको थोरै हिस्साले मात्र बचत उपकरण प्रयोग गरेका छन्।
१७.६० प्रतिशतले मात्र बैंक कर्जा उपयोग गरेका छन्। कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् भने होटल र रेस्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन्। राष्ट्रियस्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन्। सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका उल्लेख छ ।