बैंकिङ खबर/ आर्थिक अवस्थामा सुधार गर्न सरोकारवालाको ध्यानाकर्षण ध्यानाकर्षण गराएका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ विषयक अन्तरक्रिया सहभागीले सो कुरामा जोड दिएका हुन् ।
नेपाल बैकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले वित्तीय प्रणालीमा तरलता सहज भएकाले अब ब्याजदर घट्ने ठाउँ रहेको बताए । ‘गत वर्ष वित्तीय प्रणालीमा तरलता अभावले ब्याजदर उकालो लागेको हो,’ उनले भने, ‘अहिले त्यो अवस्था छैन । बैंकहरुसँग लगानी गर्न सक्ने करिब २ खर्ब रुपैयाँ छ । प्रणालीमा तरलता सहज भएकाले अब ब्याजदर घट्ने ठाउँ छ ।’
लगानीयोग्य रकम अभावका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको उनले बताए । उद्योगी र व्यापारी छुट्याउनु पर्ने व्यवसायीको मागलाई नियामकले पनि सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीले नेपालका लघुवित्त वित्तीय संस्थाको ब्याजदर अन्य देशको तुलनामा निकै कम भएको बताएका छन् । ‘लघुवित्तको ब्याजदर अत्यन्त महंगो भयो भन्ने छ । तर नेपालका लघुवित्तको जति सस्तो ब्याजदर अन्य देशमा छैन,’ उनले भने, ‘अहिले लघुवित्तकै बेस रेट १३.५ प्रतिशत छ । तर कर्जा लगानी १५ प्रतिशतमा गिररहेका छन् ।’ विपन्न वर्गलाई कर्जा दिन र उनीहरुको बचत वृद्धि गर्ने उदेश्यले लघुवित्तको स्थापना गरिएको तर पछिल्लो समय केही संसथाहरुका कारण विकृति आएको उनले बताए ।
राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरका कारण व्यवसायी आक्रान्त भएको बताएका छन् । ‘यहाँ उत्पादन नभएका वस्तुहरू बाहिरबाट आयात गर्ने र यहाँबाट उत्पादित वस्तु निर्यात गर्ने माध्यम व्यवसाय हो,’ उनले भने, ‘यसरी गर्दा हाम्रो पूँजीले मात्र धान्दैन । जसको लागि बैंक तथा वित्तीय संस्थाबाट एक चरण पार गरेर पूँजी लिन्छौं । त्यसले हामीलाई आक्रान्त बनाएको छ ।’ बैंक तथा वित्तीय संस्थाले उच्च लागतमा निक्षेप संकलनमा गर्दा त्यसको असर कर्जामा देखिएको उनले बताए ।
नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक तथा शेयर बजार विज्ञ निरज गिरीले पूँजी बजारमा एसएमइ ( साना तथा मझौला उद्यम व्यवसाय)लाई स्थान दिन नसकिएको बताए । ‘वित्तीय क्षेत्रको पुनरूत्थान गर्ने भनेपछि बैंकिङ क्षेत्र मात्र नीति र प्राथमिकतामा आयो,’ उनले भने, ‘एसएमइ प्ल्याटफर्महरूलाई पनि स्थान दिन सकिएन । यसले एकातिर उद्मशिलता र अर्कोतिर लगानीको सम्भावना हुँदाहुँदै पनि निरूत्साहित बनायो ।’ पूँजी बजारमा रियल सेक्टरका कम्पनीको संख्या न्यून रहेको उनले बताए । फन्ड कलेक्सनका लागि पनि पूँजी बजारमा हो भन्ने अझै मुख्य व्यवस्थापकले नबुझेको उनले बताए । क्रेडिट रेटिङ पनि कर्मकाण्डी भएको उनको विश्लेषण छ ।
हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले व्यापार व्यवसाय गर्न अवस्था सहज नभएको बताए । ‘प्रत्यक्ष रूपमा व्यापार व्यवसायमै लाग्नेहरू विदेशीएका छन्,’ उनले भने, ‘उत्पादन बढाउनुपर्छ । व्यापार व्यवसाय बढाउनुपर्छ भन्ने नीति र बहसहरू चल्छन् तर त्यसको लागि अवस्था सहज छैन ।’
वरिष्ठ चार्टर एकाउन्टेन तथा सहकारी विज्ञ भोलानाथ पाठकले ब्याजदर वृद्धिले समस्या ल्याएको भन्दै नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने बताए । ‘हाम्रो अर्थतन्त्रको माध्य कहाँबाट परिचालित छ भन्ने महत्त्वपूर्ण विश्लेषणको पाटो छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १७ प्रतिशत पुगेको छ । यसरी बढिरहेको ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ ।’ योजना छनोटमा समस्या रहेकोले अर्थतन्त्रका अन्य क्षेत्रमा समेत समस्या ल्याएको उनले बताए ।
कफि व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमेरेले कफी व्यवसायीले आन्तरिक बजार पाउन नसकेको बताए । ‘जब उत्पादन बढ्दै गयो, बिक्री भएन् । नेपालमा कफि खाने प्रचलन नहुँदा २०६३ साततिर समस्या भयो,’ उनले भने, ‘त्यसपछि करिब ८० प्रतिशत कफि व्यवसाय विदेशीकै भरमा छ । सरकारले उद्योगी केहो व्यवसायी केहो भन्ने नै चिनेको छैन । राज्यले यो कुरा नबुझ्दा व्यवसायीले समस्या भोगिरहेका छन् ।’
ट्रेकिङ एजेन्सी एशोसियसन (टान)का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले होलसेलमा निर्णय गर्दा साना व्यवसायी समस्यामा परेको बताए । ‘सम्पूर्ण व्यवसायीको एकै समस्या छ । कोही पनि सन्तुष्ट छैनन् । व्यवसायी हामीहरू सबै समस्यामा छन् । सरकारबाट उद्योग व्यवसाय गर्न चाहानेहरूलाई काउन्सिलिङ नभएको पाइन्छ,’ उनी भन्छन्, ‘होल सेलमा गरेको निर्णयले सबै व्यवसायीलाई सम्बेधन गर्न सकेन ।’
मिनरल वाटर एसोसियसनका पूर्व अध्यक्ष तथा वरिष्ठ व्यवसायी धर्मनन्द श्रेष्ठले उत्पादनसँग जोड्न नसक्दा अहिलेको अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । ‘कृषिमा दिएको अनुदान केहीले मात्र पाएका छन्,’ उनले भने, ‘सरकारले काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । देशमा ब्याज, भाडा खानेहरूको मात्र जीवन स्तर बढेको छ ।’ बैंकले हरेक कुरा गर्न सक्ने तर ऋणी निरीह हुनुपर्दा समस्या आएको उनले बताए । ‘बैंकले उत्पादन अघि नै रकम उठाउँदा व्यापार व्यवसायीमाथि शोषण भएको छ,’ उनले भने, ‘कुनै वस्तु उत्पादन गर्न १०-१५ वर्ष लाग्छ भने त्यो अवधिसम्मका लागि बैंक तथा वित्तीय संस्थाले साँवा ब्याजमा क्याप लगाउनुपर्छ ।’
हर्बल क्षेत्रका उत्पादनकर्ता शोभाकान्त बस्यालले उत्पादनमा कच्चापदार्थको समस्या रहेको बताए । ‘उत्पादनमा कच्चापदार्थको समस्या छ । उत्पादन हुने ठाउँ समेत छोडेर विदेशीन थालेका छन्,’ उनले भने, ‘जटिबुटी नै अहिले नपाईने, कृषकलाई तालिम र सीपको अभावले कच्चापदार्थको अभाव भएको छ।’
भिष्टा इन्टरनेशनल एजुकेसन प्रालिका सिइओ तथा शैक्षिक परामर्श विज्ञ श्रीराम पौडेलले विद्यार्थीहरू विदेशीन बाध्य भएको बताए । ‘विद्यार्थीहरू विदेशिन बाध्य छन् । सीपमुलक शिक्षा नहुँदा दक्ष जनशक्ति उत्पादनमा चुनौती थपिएको छ,’ उनले भने, ‘डिग्री गरेर पनि त्यस अनुसारको सीप हासिल गर्न सकेको देखिदैन ।’
महिला सहकारी नेतृ अमरावती महर्जनले सहकारी क्षेत्र अर्थतन्त्रको पेट्रोलको रूपमा रहेको बताएकी छन् । ‘सरकारले अर्थतन्त्रको तीन खम्बे नीतिलाई अबलम्बन गरेर सहकारीलाई एक स्थान दिए पनि राज्यले महत्त्व दिएको छैन,’ उनले भनिन्, ‘सहकारी अर्थतन्त्रको पेट्रोल हो । त्यसकारण यसको महत्वको बारेमा राज्यले पनि ध्यान दिनुपर्छ । सहकारीलाई बचाउनुपर्छ । जसले अर्थतन्त्रलाई टेवा पुर्याउँछ ।’ सहकारीको संरक्षण गर्न सबै लाग्नुपर्ने उनले बताइन् । सहकारी संस्थाको कार्य क्षेत्र अनुसार अघि बढ्न दिए त्यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
वरिष्ठ चार्टर एकाउन्टेन दिलमान सिंहले ब्याजदरका कारण अडिटमा समेत असर पुर्याएको बताए ।
सामाजिक अगुवा दिनेश न्यौपानेले नेपालको अर्थतन्त्र संकटमै रहेको भन्दै भारतसँगको व्यापारघाटा कम गर्नुपर्ने बताए ।
व्यवसायी उचिता महर्जनले जैविक मलले रसायनिक मललाई विस्तापित गर्न सकिने बताइन् । व्यवसायी महर्जनले रसायनिक मलको विकल्प जैविक मल हुने बताउँदै त्यसको प्रयोग र उत्पादनलाई व्यापक बताइन् । सरकारले जैविक मल उत्पादनलाई रसायनिक मल जस्तै प्राथमिकता दिनुपर्ने व्यवसायी उचिता महर्जनले बताइन् । ‘हाम्रो देशको कति रूपैयाँ पैसा रसायनिक मलमै विदेशीएको छ । यो जैविक मललाई स्थान दिनको लागि सरकारले नै प्रोत्साहन गर्नु पर्छ,’ उनले भनिन् । कृषि क्षेत्रमा यस प्रकारको मलको प्रयोग बढाएर वायो फर्टिलाइजरको लागि अध्ययन र नीति बन्नु आवश्यक रहेको उनको भनाइ छ ।
मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले विगतदेखि नै संस्थाले यस्ता अन्तरक्रियालाई निरन्तरता दिँदै आएको भन्दै आगामी दिनमा पनि यसलाई अगाडि बढाउँदै लैजाने बताए ।