बैंकिङ खबर/ लघुवित्त संस्थाहरुबाट ऋण लिनेको संख्या घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुुस मसान्त (दोस्रो त्रैमासिक समीक्षा अवधि) सम्मको लघुवित्त संस्थाहरुको सुपरीवेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।
‘समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार थोक तथा खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरुको निष्क्रिय (खराब) कर्जामा वृद्धि भएको उल्लेख छ। पुष मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये खराब कर्जा ५२ करोड अर्थात ०.८७ प्रतिशत रहेको छ।
असार मसान्तसम्म उक्त कर्जाको अनुपात ०.४१ प्रतिशत थियो। अघिल्लो बर्षको सोही अवधिमा ०.३४ प्रतिशत थियो। यता, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तिय संस्थाको निष्क्रिय कर्जा पुष मसान्तसम्म १८ अर्ब ३४ करोड पुगेको छ। उक्त रकम कूल कर्जा तथा सापटीको ४.६८ प्रतिशत हो। असार मसान्तमा उक्त खराब कर्जाको अनुपात २.५६ प्रतिशत थियो।
‘पुष मसान्तसम्मको अवधिमा खराब कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षको सोहि अवधिमा १७.०३ प्रतिशतले बढेको थियो,’ प्रतिवेदनमा उल्लेख छ। लघुवित्त संस्थाले कृषि क्षेत्रमा कर्जा बढाएका छन्। लघुवित्त संस्थाहरुले पुष मसान्तमा प्रवाह गरेको कूल कर्जाको ४७.४२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ। ०७९ असार मसान्तमा कृषि क्षेत्रमा ४६.११ प्रतिशत कर्जा प्रवाह भएको थियो। सेवा व्यवसाय र घरेलु तथा लघु उद्योग भने कर्जा कम प्रवाह गरेका छन्।
यस्तै, लघुवित्त संस्थाहरुको सम्पत्तिमा बढवा भएको छ। उक्त प्रतिवेदन अनुसार पुष मसान्तसम्ममा लघुवित्त संस्थाहरुको कुल सम्पत्ति ५ खर्ब ११ अर्ब ८ करोड पुगेको छ।
उक्त रकम असार मसान्तको तुलनामा ०.६२ प्रतिशतले बढी हो। अघिल्लो बर्षको सोहि समयमा १२.२९ प्रतिशतले सम्पत्ति बढेको थियो।
त्यस्तै, जोखिम भारित सम्पत्ति पनि बढेको छ। पुष मसान्तमा कुल सम्पत्तिको ९४.४१ प्रतिशत जोखिम भारित सम्पत्ति रहेको छ। असार मसान्तमा ९३.९९ प्रतिशत रहेको थियो।
यस्तै लघुवित्त संस्थाहरुले अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफा तुलनामा केहि गिरावाट आएको छ। ‘समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले ७९ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रयमासको तुलनामा ४.२० प्रतिशतले कम हो,’ प्रतिवेदनमा उल्लेख छ।
लघुवित्त संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको छ।
‘अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक वर्षको दोस्रो त्रयमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको देखिन्छ,’ समीक्षा प्रतिवेदनमा उल्लेख छ।
यस्तै, संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेका छन्। २०७९ असार मसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७९ पुस मसान्तसम्ममा ६४ वटा कायम भएका छन्। ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन्।