March 12th, 2023

बजारमा चलेको ब्याजदर: आन्दोलनको भ्रम र यथार्थता


बैंकिङ खबर/ बैंकवित्तले लामो समयदेखि चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनरत छन् । उनीहरुको आन्दोलन अझै पनि रोकिएको छैन । आइतबार फागुन २८ गते पनि उनीहरुले विद्यमान चर्को बैंक ब्याजदर तथा वित्तीय समस्याले धारासायी उद्योग, व्यापार तथा व्यवसायमा परिरहेको समस्या समाधानार्थ काठमाडौं माइतीघरमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्दैछन् । विगतमा पनि उनीहरुले देशभर सडक आन्दोलन गर्दै आएका थिए ।

उद्योगी व्यवसायीहरु आन्दोलित भइरहँदा वाणिज्य बैंकहरुले भने चैतबाट लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजसँगै ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम दर(आधार दरमा थप गर्ने दर) घटाउने निर्णय गरेको हो । योसँगै अब चैतदेखि कर्जाको ब्याजदर घट्नेछ । गत माघमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका थिए । निक्षेपको ब्याज घटेपछि बैंकहरूको आधार दर (बेस रेट) घट्छ । आधार दरमा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर पनि घटाउनुपर्छ ।

यही व्यवस्थाअनुसार वैशाखदेखि (तेस्रो त्रैमासमा आधार दरमा आएको परिवर्तनका अनुसार) कर्जाको ब्याजदर घट्ने अनुमान गरिएको थियो । तर, हालै बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले चैत १ देखि ५ प्रतिशतभन्दा प्रिमियम लिन नपाउने र यसअघि बढी लिएको भए त्यो पनि घटाउने निर्णय गरेको छ । उक्त निर्णयकै कारण चैतदेखि नै धेरै प्रिमियम जोडेर कर्जा लिएका ऋणीको ब्याजदर पनि घट्ने भएको हो । आधार दरमा कमी आएपछि नयाँ ऋणीले भने चैतदेखि नै पहिलेभन्दा कम ब्याजदरमा ऋण पाउनेछन् ।

चैतदेखि वाणिज्य बैंकहरूले आधार दरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न पाउँदैनन् । यसअघि ६ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने संघको निर्णय थियो । यसकारण हाल ५ प्रतिशतभन्दा बढी प्रिमियम जोडेर कर्जा लिएका ऋणीको ब्याजदर चैतदेखि कम्तीमा १ प्रतिशत बिन्दुले घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी बताउँछन् ।  केसी भन्छन्, ‘साना ऋणीको ब्याजदर घटाउनकै लागि ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम घटाउने निर्णय भएको हो । यो निर्णयबाट सबैभन्दा धेरै लाभ साना ऋणीलाई हुन्छ ।’ यो निर्णय चैत १ देखि नै कार्यान्वयन हुने भएकाले ऋणीले तत्काल ब्याजदर घटेको अनुभूति गर्न सक्ने केसी अध्यक्ष बताउँछन् । 

बजारमा चलेको व्याजदर

हाल वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत लिँदै आएका छन् । यस्तै बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत रहेको छ । बैंकर्स संघले चैत १ गतेदेखि लागू हुने गरी बचतको ब्याजदर ६ देखि ८ प्रतिशत कायम गरिएको छ । हाल ६.४२ देखि ८.४२ प्रतिशतसम्म रहेको थियो ।

हाल कुल निक्षेपमा बचत र कल निक्षेपको हिस्सा ३६ प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ पुसमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ५.०७ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.८९ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ पुसमा ४.७६ प्रतिशत रहेकोमा २०७९ पुसमा ७.४८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ४.७७ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ पुसमा ८.४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९१ प्रतिशत कायम भएको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ६.३७ प्रतिशत र ९.४४ प्रतिशत रहेका थिए ।

वाणिज्य बैंकहरुले ब्याजदर घटाइ रहँदा विकास बैंकहरुले भने छिट्टै निर्णय गर्ने तयारी गरेका छन् । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलले छिट्टै बैठक डाकेर चैतको ब्याजदरका विषयमा निर्णय गर्ने बताए ।

यसअघि वाणिज्य बैंकहरुले फागुनमा ब्याज स्थिर राख्ने निर्णय गर्दा विकास बैंकहरुले घटाउने निर्णय गरेका थिए । विकास बैंकहरुले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाएका थिए। फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए । विकास बैंकहरुले माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

यस्तै लघुवित्तहरु र सहकारी १५ प्रशित भन्दा बढी ब्याज नलिएको बताउँदै आएका छन् । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लघुवित्त संस्थाले १५ प्रतिशत भन्दाबढी ब्याजदर नलिएको दाबी गर्छन् । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपाल कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज नलिएको बताउँछन् । उनले यदि बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन अनुरोध समेत गरेका छन्।

आन्दोनकारीले उठाएको ब्याजदरको मुद्दा

अहिले ब्यावसायीहरु ब्याजदरकै विषयलाई लिएर आन्दोलनमा छन् । बैंकहरुले ब्याजदर बढाएर ज्यादती गरेको उनीहरुको आरोप छ । केहि दिन अगाडि कैलालीका उद्योगी व्यवसायीले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी नै गरेका थिए ।

बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका हुन्।

बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचन, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएको थियो । उद्योगी व्यवसायीहरुले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैङ्कको ब्याजदरमा एकरूपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’ लगायतका नाराहरू लगाएका थिए ।

ब्याजदर घटाउन भन्दै वित्तीय सेवा नै अवरोध गर्ने कार्य अराजक भएको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । उनी विगतमा पनि ‘ब्याजदर बढी भयो’ भन्दै आफूलाई ३ पटक प्रधानमन्त्रीकोमा उभ्याइएको स्मरण गर्छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र भन्छन् ‘व्याज र लघुवित्तकै कारण आत्महत्या गर्ने भनेर कुरा बाहिर आएको छ । यसमा राष्ट्र बैंक कन्सन छ । बैंक वित्तबाट कसले कर्जा दिइको छ ?, अब कर्जा तिर्दिन भनेर क्याम्पियन गर्न मिल्छ ?,’ संसारका धेरै बैंकले व्याज बढाएको र त्यसैको फलस्वरुप नेपालमा पनि व्याज बढेको उनको भनाइ छ । आयतमा सकुंचन आएका कारण ब्याजमा पनि यसको असर परिरहेको उनी बताउँछन् ।

बैंकवित्त, लघुवित्तका कर्मचारीमाथि कालो मासो लगाउने जस्ता कुराहरुले समाजमा विशृंखल पैदा गरेको उनको भनाइ छ । उनले भने, ‘लोन र कर्जा बैंकको पैसा होइन् । सबै साधारणको पैसा हो । त्यो नतिर्दा अरुले कसरी पाउने ?, ’तिर्नु पर्दैन भन्ने क्याम्पियन गर्न नहुने पनि उनी बताउँछ् । यसमा भाग नलिन पनि उनी आग्रह गर्छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकवित्तविरुद्धका भ्रमहरुलाई चिर्न आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘कर्जा लिएपछि तिर्नुपर्छ, यसमा कुनै छुट हुँदैन, राष्ट्र बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भनिरहेको छ, अहिले कर्जा नलिने मान्छेले आन्दोलन गरेका छन्, कर्जा लिनेहरुले चुक्ता गरिरहेका छन्, यस विषयमा राष्ट्र बैंक सजग छ ।’

महासंघका दुई धार

ब्याजदरका विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघमा पनि दुई धार उत्पन्न भएको छ । वरिष्ठ उपाध्यक्ष बन्न लागेका दिनेश श्रेष्ठ ब्याजदरका विरुद्धमा लागेका छन् स्वतः अध्यक्ष बन्न लागेका अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल ऋण लिएपछि ब्याज तिर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । यस्तै एक पक्ष भने बैंककोविरुद्धमा आन्दोलनमा रहेका छन् ।

ब्याजदरका विषयमा उपाध्यक्ष दिनेश श्रेष्ठ बैंकहरूले ब्याजदर घटाउनु सकारात्मक कुरा भए पनि त्यो पर्याप्त नभएको बताउँछन् । उनी भन्छन्, “एकल अंकमा ब्याजदर नझरेसम्म अब त्यो आन्दोलन रोकिँदैन ।”

आन्दोलनमा सामन्ज्यता कति ?

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्दै आएको कर्जामा अस्वाभाविक ब्याज वृद्धि र पुनर्कर्जा फिर्ता र विभिन्न नीतिविरुद्ध व्यवसायीले पुनःसडक आन्दोलनको चेतावनी दिँदै आएका छन् । एक वर्षदेखि उद्योग–व्यवसायीप्रति बैंक तथा वित्तीय संस्थाले कठोर नीति लिएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरुले बताएका छन् ।

एकल अंकको ब्याजदर कायम हुनुपर्ने, उद्योग र व्यापारमा २ प्रतिशत फरक ब्याजदर हुनुपर्ने, आधार दरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्नेलगायत उनीहरुको माग छ । विभिन्न वित्तीय सेवा शुल्क कम गरी सर्वसाधारणलाई वित्तीय सेवा ५० प्रतिशत निःशुल्क गरी नयाँ उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने, संस्थागत ब्याजदर बचत ब्याजसम्म कायम हुनुपर्ने, स्प्रेड दर बढीमा २ प्रतिशत र आधार दर गणना तरिका सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।
यस्ता मागहरु राखेर आन्दोलनमा उत्रिरहँदा कतिपय उशृंखलका गतिविधिहरु समेत भएका छन् । केहि दिन अघि धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरु समेत बन्द भए ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक सार्वजनिक कार्यक्रममै बैंकवित्तविरुद्ध उत्रिए । झापामा आयोजित कार्यक्रममा उनले भने, ‘बैंकहरुलाई जता भेट्यो, त्यतै कालो मोसो दल्नु । यो तरिकाले बैंकहरु भोलिदेखि बन्द हुन्छन् । अब यी टाई लगाएका गुण्डाहरुले होसियार हुँदा हुन्छ ।’

प्रसाईंले निजी क्षेत्रका बैंकबाट पैसा निकालेर सरकारीमा राख्ने तर कारोबार नगर्ने, सामान आयात नगर्ने, मालपोत तथा राजस्व पनि नतिर्ने अभियान हुने बताए । ‘म केही दिनमा बाहिर (विदेश) जाँदै छु, रेमिट्यान्स पनि नपठाउन आग्रह गर्नेछु,’ उनको घोषणा थियो । बैंक तथा वित्तीय संस्थाबाट करिब ५ अर्ब रुपैयाँ ऋण लिएको सार्वजनिक गरेका उनले तिनका कर्मचारीलाई लक्षित गर्दै आक्रमण गर्ने घोषणा समेत गरे । जसका लागि झापामा २ सय १ सदस्यीय युवा दस्ता पनि उनले तयार पारेको बताए । जसमा २०–२१ वर्षका युवा रहेको उनले बताएका थिए ।

‘अब लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने, भित्र पसे डाँका मुद्दा लागिहाल्छ,’ उनले भीडलाई उचाल्दै भनेका थिए, ‘मोसो दल्दा केही समस्या पर्दैन । जम्मा ५ दिन लगेर हिरासतमा राख्छ ।’ उनले २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा लिन नहुने बताए ।

कतिपय बैंकरहरुले उनको अभिव्यक्तिपछि बैंकको आईडी कार्ड झुण्ड्याएर बाहिर निस्कन पनि डर लागिरहेको बताएका छन् । गत फागुन ३ गते नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमासंघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले अहिले विभिन्न व्यक्तिहरुले बैंकरलाई धम्क्याउने अभिव्यक्ति दिइरहेकोले बैंकरलाई कार्ड लगाएर बाहिर निस्कन पनि डर लाग्ने गरेको गुनासो गरेका थिए ।
उनले भनेका छन्, ‘हामी सबैतिरबाट च्यापिँदै गएका छौं, अहिले हाम्रा साथीहरु बजारमा टाई लगाएर जान पनि डर लाग्न थाल्यो भनिरहनु भएको छ, कतिपयले जता भेट्यो त्यतै कालोमोसो दल्ने भनिरहेका छन्, यो प्रवृतिको अन्त्य सबै मिलेर गर्नु पर्छ, अहिले देखिएको परिस्थितिको सामना गर्नको लागि हामी सबैले सहकार्य गर्नु पर्छ ।’

 

 

 

 

 

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]