February 9th, 2023

हिमालयन–सिभिल बैंकको मर्जर लफडा : सिभिलका कर्मचारीलाई हटाउने रणनीति

बैंकिङ खबर/ एकीकृत कारोबारको अन्तिम तयारीमा रहेको सिभिल बैंक लिमिटेडका कर्मचारीहरु आन्दोलित बनेका छन् । नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि ‘डेडलाइन’ समेत तोकेको छ ।

राष्ट्र बैंकले दुई वटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मका लागि डेडलाइन तोकेको हो ।

तर कर्मचारीको आन्दोलनले मर्जर के हुने हो ? भन्ने आशंका उत्पन्न भएको छ । हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् ।

सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा बुधबार बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेको बताए । कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दबाब बढाउन पेन डाउन गरेको उनले बताए ।

हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो । तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ । अहिले सफ्टवेयर मिलान, कर्मचारी समायोजन लगायतका काम भइरहेको छ ।

सिभिल बैंकका अर्का एक उच्च तहका कर्मचारीले हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा पिता हिमालय शमशेरको निधनको शोकमा रहेकाले कर्मचारीको असन्तुष्टिको विषयमा छलफल गर्न समस्या भएको बताउँछन् ।

सिभिल बैंकमा सुपरभाइजर भन्ने तह छ । हिमालयन बैंकमा सुपरभाइजर भन्ने तह खारेज भइसकेको छ । मर्जरपछि अहिलेको सिभिल बैंकका सुपरभाइजर तहका कर्मचारी पनि सिनियर असिस्टेन्ट हुने भए । यसले बैंकमा नै काम गर्छु भन्ने कर्मचारीलाई समस्या पर्दैन । तर, अन्य बैंकमा अवसर आउँदा भने उसलाई समस्या हुन्छ ।

एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्नु सिभिलका कर्मचारीलाई हटाउने रणनीति भएको बैंकका एक कर्मचारीले बताए ।  हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा असार २९ गते, बुधबार हस्ताक्षर भएकाे थियाे । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । जस अनुसार सिभिल बैंककाे १०० कित्ता सेयर हुनेले हिमालयन बैंककाे ८१ कित्ता सेयर प्राप्त गर्नेछन् ।