February 12th, 2023

मोबाइल बैंकिङ तथा साइबर सुरक्षाबाट कसरी जोगिने ?

बैंकिङ खबर/ पछिल्लो एक वर्षमा ३८ लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्। गत पुसयता वाणिज्य, विकास बैंक र वित्त कम्पनीबाट मोबाइल बैंकिङ लिनेको संख्या ३८ लाख ४० हजार ९५२ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तो सेवा प्रयोगकर्ताको कुल संख्या दुई करोड ५३ हजार ४२० रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको पुसमा यो संख्या एक करोड ६२ लाख १२ हजार ४६८ थियो। डिजिटल कारोबार बढ्दै जाँदा मोबाइल बैंकिङसँगै, इन्टरनेट बैकिङ, डेबिट, क्रेडिट कार्ड प्रयोगकर्ता पनि बढेका छन्।

राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ६८ हजार ९३२ पुगेका छन्। पछिल्लो एक वर्षमा मात्रै दुई लाख १२ हजार ६१ सेवाग्राहीले इन्टरनेट बैकिङ लिएका छन्।

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले एक करोड २२ लाख २२ हजार ३८७ थान डेबिट कार्ड जारी गरेका छन्। यस्तै क्रेडिट कार्ड लिनेको संख्या दुई लाख ७६ हजार ८९ पुगेको राष्ट्र बैंकले जनाएको छ। यसरी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिँएसँगै जोखिम र चुनौती समेत बढ्दै गएको छ । मोबाइल बैंकिङकै माध्यमबाट ठगीका घटनाहरु समेत बढ्ने गरेका छन् ।  अर्कोतर्फ नेपालमा साइबर हमलाको जोखिम निकै उच्च छ । 

मोबाइल बैंकिङ तथा साइबर सुरक्षाबाट  कसरी जोगिने ? साइबर ब्यूरो उपरीक्षक पशुपति रायका केहि टिप्सहरु 

तपाईहरुलाई बैंकले, अथवा कुनै पनि पेमेन्ट गेट वेले फोन गरेर यूजर नेम के हो ?, पासवर्ट के हो ? भनेर माग्दैन । यदि माग्छ भने त्यो पक्कै फ्रड हो भनेर बुझ्नु पर्छ र त्यो दिनु हुँदैन ।

अर्को जुन आफ्नै बैंकिङ एकाउन्टहरु छ त्यसमा खाताहरूमा मल्टीफ्याक्टर अथेन्टिकेशन (मोबाइल र इमेलमा कारोबारबारे जानकारी आउने व्यवस्था) राख्नुपर्छ ।

अनावश्यक मान्छे, कहिल्यै नभेटेको मान्छे, नचिनेको मान्छेले यदि कुनै जानकारी माग्यो भने दिनु हुँदैन । अर्को – स्टप, थिंक र कनेक्ट अर्थात् हामीले के–कस्तो लिंकमा क्लिक गर्न लाग्दैछौँ त्यसबारे रोकिएर, विचार गरेर अनि मात्रै क्लिक गर्नुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]