January 31st, 2023

मोबाइल एप वा क्यूआरमार्फत प्रतिदिन ३ लाखसम्म कारोबार गर्न सकिने

बैंकिङ खबर/ अब सेवाग्राहीले मोबाइल एप वा क्यूआर कोडबाट भुक्तानीमार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी ‘एकीकृत निर्देशन–२०७९’ ले मोबाइल एप वा क्यूआर कोडबाट गरिने भुक्तानीको सीमा बढाएको हो। सोहीअनुसार यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने प्रावधानलाई बढाएर ३ लाखसम्म कारोवार गर्न सकिने बनाइएको हो।

राष्ट्र बैंकको एकीकृत निर्देशनले इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख भुक्तानी गर्ने व्यवस्था, बैंक खाताबाट वालेटमा प्रतिदिन दुई लाख रुपैयाँसम्म लोड गर्न सकिने व्यवस्था र प्रतिमहिना १० लाख रुपैयाँ लोड गर्न सकिने व्यवस्थालाई भने यथावत् राखेको छ।

प्रयोगकर्ताले एउटा वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउन सक्ने नयाँ व्यवस्था जारी भएको छ भने वालेटबाट वालेटमा मासिक ५ लाख रुपैयाँको कारोबार गर्न सकिने व्यवस्था भने यथावत् राखिएको छ। यसअघि वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा दैनिक १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्थालाई परिवर्तन गरी हाल २ लाख रूपैयाँसम्मको कारोबार गर्न सकिने बनाइएको छ। यसमा प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न सकिने व्यवस्थालाई भने यथावत् राखिएको छ।

नयाँ व्यवस्थाले डिजिटल वालेटबाट सरकारको राजश्व भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा पनि परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार वालेटबाट पाँच हजारसम्म भुक्तानी गर्दा अधिकतम पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ, पाँच हजारदेखि १० हजारसम्म आठ रुपैयाँ र १० हजारभन्दा माथि अधिकतम १० रुपैयाँ सेवा शुल्क लाग्ने छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]