November 27th, 2022

ब्याजदर र तरलताले खुम्चियो लघुवित्तको कारोवार


बैंकिङ खबर/ बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेपछि त्यसको असर लघुवित्त क्षेत्रमा पनि परेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको ब्याजदर नै १३ प्रतिशत जति पुगेपछि कर्जाको ब्याजदर स्वभाविक रुपमा त्यो भन्दा चर्को भएको छ ।

गत वर्ष ७/८ प्रतिशतमा पाइने ऋणको ब्याजदर केही समय अघिदेखि नै १५ प्रतिशत भन्दा माथि पुगिसकेको छ । बैंकहरुले कात्तिक र मंसिरमा असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुमा एकाएक ब्याजदर ह्वातै बढ्दा यसको असर लघुवित्त क्षेत्रमा पनि परेको छ ।

एकातिर चर्को ब्याजदर त अर्कोतिर तरलता अभाव कारण लघुवित्तहरु थप मारमा परेका छन् । विगत लामो समयदेखि तरलता अभाव अझै समाधान हुन सकेको छैन् । जसले गर्दा पनि लघुवित्तको कारोवार घटेको हो ।

पहिलो त्रैमाससम्मको वित्तीय विवरण

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा अधिकांश लघुवित्तको कारोबार घटेको छ ।  संचालनमा रहेका मध्ये चार दर्जन बढी माइक्रोफाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । ५८ वटा लघुवित्तले प्रकाशित गरेको विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीहरुले १ अर्ब ७२ करोड ४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ३९.३९ प्रतिशतले कमी हो ।

गत वर्षको असोज मसान्तसम्ममा कम्पनीहरुले २ अर्ब ८३ करोड ८४ लाख ३ हजार रुपैयाँ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा ९ वटा कम्पनीहरुको नाफा वृद्धि गरेका छन् । यस्तै, उक्त अवधिमा १३ वटा लघुवित्त नोक्सानीमा रहेका छन् भने करिब तीन दर्जन कम्पनीको नाफामा गिरावट देखिएको छ । गत वर्षको असोज मसान्तसम्मको तुलनामा ९ वटा लघुवित्तको नाफामा बढोत्तरी देखिएको छ ।

चालु आवको पहिलो त्रैमासमा छिमेक लघुवित्त, साना किसान, इन्फिनिटी, आरएमडीसी, फस्र्ट माइक्रोफाइनान्स, आरएसडीसी, नेष्डो समृद्धि, गणपति र उपकार लघुवित्तले नाफा बढाएका छन् । उक्त अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्त वित्तीय संस्थाको देखिएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनमा ५३.७१ प्रतिशतले बढी हो ।

चालु आवको असोज मसान्तसम्ममा साना किसान लघुवित्तले २३ करोड २७ लाख ७९ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ४१.८२ प्रतिशतले बढी हो । चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा गणपति लघुवित्त देखिएको छ । पहिलो त्रैमासमा कम्पनीको नाफा १५४.६९ प्रतिशतले वृद्धि गरि ६८ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्षको सोही अवधिमा भने कम्पनीको नाफा २७ लाख ६ हजार रुपैयाँ मात्र रहेको थियो । चालु आवको तीन महिनामा इन्फिनिटी लघुवित्तको नाफा १९.१३ प्रतिशतले वृद्धि भई १५ करोड २ लाख १३ हजार, आरएमडीसी लघुवित्तको ५४.१५ प्रतिशतले बढेर १० करोड ८८ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, चालु आवको पहिलो त्रैमासमा आरएसडीसी लघुवित्तको नाफा १०१.९८ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको नाफा ६१.७९ प्रतिशत, नेष्डो समृद्धिको ११.३०, उपकार लघुवित्तको ३.८९ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पहिलो त्रैमासमा एक दर्जन कम्पनीको नोक्सानीमा देखिएका छन् । वित्तीय रिर्पोट अनुसार चालु आवको असोज मसान्तसम्ममा १३ वटा लघुवित्त घाटामा देखिएको हो ।

उक्त अवधिमा सबैभन्दा बढी नोक्सानीमा किसान लघुवित्त रहेको छ । कम्पनी चालु आवको असोज मसान्तमा ४ करोड ३७ लाख १० हजार रुपैयाँ घाटामा रहेको छ । यस वर्षको असोज मसान्तसम्ममा सबैको लघुवित्त पनि २ करोड ९६ लाख ८८ हजार र ग्रामिण विकास लघुवित्त १ करोड १८ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् ।

यस्तै, चालु आवको पहिलो त्रैमासमा एनएमबी लघुवित्त ८० लाख १० हजार, जनउत्थान लघुवित्त ७६ लाख ७४ हजार, स्वाभिमान लघुवित्त ६७ लाख ८२ हजार, गुराँस लघुवित्त ६० लाख २२ हजार, मनकामना स्मार्ट लघुवित्त ४३ करोड ५४ लाख र लक्ष्मी लघुवित्त ४१ लाख १४ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।

त्यसैगरि चालु आवको असोज मसान्तसम्ममा विन नेपाल लघुवित्त २३ लाख ७१ हजार, युनिक नेपाल २२ लाख ७५ हजार, जाल्पा सामुदायिक १० लाख ३० हजार र खप्तड लघुवित्त ४ लाख १३ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् ।

चालु आवको पहिलो त्रैमासमा करिब तीन दर्जन लघुवित्तको नाफामा गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा नोक्सानीमा रहेका अभियान लघुवित्त र नाडेप लघुवित्तले नाफामा सुधार गरेका छन् । यी दुवै कम्पनीले नाफा सुधार गरि क्रमशः ३ लाख १५ हजार र १ करोड २२ लाख ४६ हजार रुपैयाँ नाफा गरेका छन् । चालु आवको असोज मसान्तसम्ममा ३४ वटा लघुवित्तको नाफा घटेको छ । उक्त अवधिमा सबैभन्दा धेरै नाफा उन्नती सहकार्य लघुवित्तको घटेको छ । कम्पनीको नाफा ८९.२६ प्रतिशतले घटेर ७ लाख ६७ हजार रुपैयाँमा सिमित भएको छ ।

प्रतिशतकै आधारमा मेरो माइक्रोफाइनान्सको ८४.३६ प्रतिशत, निर्धन उत्थानको ८३.८८ प्रतिशत, आँधीखोला लघुवित्तको नाफा ७८.७२ प्रतिशत, मिथिला लघुवित्तको ७८.२९, विजय लघुवित्तको ७५.९७, कालिकाको ७२.५७ प्रतिशतले नाफामा गिरावट आएको छ ।

लघुवित्तले बैंक तथा वित्तीय संस्थासँग कर्जा लिई आफ्ना ग्राहकलाई लगानी गर्दै आएका छन् । जब लघुवित्त वित्तीय संस्थाहरुले लिने कर्जाको ब्याजदर नै महंगो परेपछि लघुवित्तहरुको प्रथम त्रैमासको रिपोर्ट सन्तोष जनक नआएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सिईओ) हरिकृष्ण जोशी बताउनुहुन्छ ।

एकातिर लघुवित्त वित्तीय संस्थाहरुले लिने कर्जाको ब्याजदर नै महंगो पर्ने तथा अर्कातर्फ ऋणी तथा ब्यवसायीहरुले कर्जा मिनाहा हुन्छ भनि गरिएका आन्दोलनहरुले कर्जाको असुलिमा समेत प्रभाव परेका कारण प्रथम त्रैमासको रिपोर्टमा असर पर्ने नै छ । यहि अवस्था रहने हो भने धेरै लघुवित्त वित्तीय संस्थाहरु घाटामा जाने देखिन्छ ।

२०७९ श्रावणको रिपोर्ट हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४७ खर्ब प्लस रहेको छ भने विपन्न वर्ग कर्जा भनेर ३ खर्ब प्लस रहेको छ । जसमा लघुवित्तलाई २ खर्ब प्लस मात्र लगानी रहेको छ ।

लघुवित्तलाई मात्रै दिएको ऋणको औषत हेर्ने हो भने अहिले पनि ५ प्रतिशत पुगेको देखिदैन । बैंक तथा वित्तीय संस्थाहरु आफैँले विपन्न वर्ग कर्जा गरिरहेका छन् । लघुवित्तहरुलाई कमर्सीयल रेटमा कर्जा प्रवाह गरिरहेका छन् जसले गर्दा पनि लघुवित्तहरुको झन् लागत बढेको देखिन्छ ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा बैंकहरुमा ब्याजदर बढेपछि लघुवित्त क्षेत्रमा समस्या देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘लघुवित्त वित्तीय संस्थाहरुले बैंकहरुसँग कर्जा लिएर आफनो सदस्यहरुलाई कर्जा लगानी गर्दछन । हाल यस्तो कर्जा लिँदा १५ प्रतिशत भन्दा बढी व्याजदर लाग्ने गरेको छ । १५ प्रतिशत भन्दा बढीमा कर्जा लिएतापनि हामीले हाम्रा ग्राहक सदस्य सँग १५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैनौं । किनभने लघुवित्त संस्थाहरुले लिने व्याजदरमा नेपाल राष्ट्र बैंकले १५ प्रतिशतको सीमा तोकेको छ । त्यसैले अहिले लघुवित्त संस्थाहरुले घाटाको कारोबार गरिरहनु परेको स्थिति छ ।’

उहाँले यस्तो स्थिति कायम रहिरहे धेरै लघुवित्त संस्थाहरु समस्यामा पर्ने निश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल लघुवित्त बैंकर्स संघले पटकपटक भनिरहेको कुरा के हो भने लघुवित्तहरुको ब्याजदरको सीमा नै समस्याको कारण भएकोले लघुवित्त संस्थाहरुको व्याजदर निर्धारण पनि अरु बैंक जस्तै आधार दरमा आधारीत हुने व्यवस्था हुनु पर्‍यो । यो व्यवस्था लागु भयो भने हामीले महंगो व्याजदरमा कर्जा पायौ भने हाम्रो कर्जाको व्याजदर पनि बढ्नेछ भने सस्तो व्याजदरमा कर्जा पायौं भने हाम्रो कर्जाको व्याजदर पनि सस्तो हुनेछ । तर अनुरोध हालसम्म पनि सम्बोधन हुन सकेको छैन ।’

आ.व.२०७९/८० को मौद्रिक नीतिले बैंकहरुले विपन्न वर्ग कर्जा अन्तरगत कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने व्यवस्था ग¥यो, तर लघुवित्त संस्थाहरुले यो सुविधा पूर्ण उपभोेग गर्न पाएका छैनन् । किनकी यो व्यवस्था नयाँ कर्जाको लागि र विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने कर्जा सीमासम्मको लागि मात्र हो भनिएको छ ।

बैकहरुले विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने कर्जा सीमाभन्दा बढी लगानी गरिसकेकोले नयाँ कर्जा लगानी गर्दा समेत आधार दरमा ५, ६ प्रतिशत प्रिमियम तिर्नुपर्ने अवस्था छ । अहिले बैंकहरुको वेश रेट औसतमा १० प्रतिशत जति रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम लगायो भने व्याजदर १५ प्रतिशत हुन्छ । १५ प्रतिशत ब्याजदरमा लघुवित्तहरुले कर्जा लिँदा १५ प्रतिशत भन्दा बढी लगानी गर्न पाउँदैन ।

उहाँले भन्नुभयो,‘कर्जाको व्याज खर्च बाहेक हामीहरुले कर्मचारी, सदस्यरुको निक्षेपमा व्याज, प्रशासनिक, लोन लस रिजर्भ खर्च आदिमा खर्च गछौँ । त्यसैले अहिले लघुवित्तहरुले घाटाको बिजनेश गरिरहनुपरेको अवस्था छ । लघुवित्तले विपन्न वर्गहरुसँग काम गर्ने हो । संस्थालाई जतिसुकै घाटा भए पनि सेवा दिनैपर्छ तर यस्तो कारोबार लामो समयसम्म टिक्न सक्दैन ।’

लघुवित्तहरुमा स्रोतको अभाव रहेको छ । भएका स्रोतहरु पनि एकदमै महँगो छ । जसले गर्दा कर्जाहरु पाउन एकदमै समस्या रहेको छ । अहिले लघुवित्तहरुले खासै कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]