November 25th, 2022

हरि ढकाल : सेयर लगानीमा चम्किँदै निर्वाचित सांसदसम्म

बैंकिङ खबर/ हरि ढकाल सेयर बजारमा खुबै चर्चित नाम हो । उनी लामो समयदेखि सेयर बजारमै आवद्ध थिए । तर एकाएक प्रतिनिधिसभा निर्वाचन जितेसँगै उनको चर्चा नेपालको राजनीतिकमा खुबै चुलिएको छ । 

निर्वाचनमा हेब्बी वेटका पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्व पौडेललाई उनले हराए । चितवन क्षेत्र नम्बर १ बाट चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पूर्व अर्थमन्त्री पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै विजय हासिल गरे ।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे । सोही क्षेत्रबाट चुनाव लडेका नेपाली कांग्रेसका डा. पौडेलले २४ हजार नौ सय नौ मत मात्र प्राप्त गरे ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । चुनाव लड्न उनले योजना आयोगबाट राजीनामा दिएका थिए । 

को हुन् ढकाल ?

ढकाल २०४० सालमा पूर्वी चितवनको रत्ननगर–१५ पिठुवामा जन्मिएका हुन् । उनी विद्यालय र शहीद स्मृति क्याम्पसमा पढ्दा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएका थिए । उनी अनेरास्ववियु चितवनको सचिव समेत बने ।

टाँडीमा कपडा पसल चलाएका उनी त्यहाँ असफल भएपछि काठमाडौं आएर सेयर बजारमा लगानी गर्न थाले ।  ठमेलमा क्याफे सञ्चालन गरे, गार्मेन्ट व्यवसायमा पनि आकर्षित थिए । उनी राजनीति छाडेर आध्यात्मिक मार्गमा समेत लागे ।

विभिन्न योग, ध्यान र तपस्याका विभिन्न कार्यक्रममा सक्रिय रहे । धेरैजसो काठमाडौं बस्ने ढकाल पेप्सीकोलामा बस्छन् । लामो कपाल पालेका ढकालले चुनावी अभियानका क्रममा मात्रै कपाल काटेका हुन् । लामो कपाल अनि दाह्री पालेर हिंड्ने ढकालको हक्की र विद्रोही व्यवहारकै कारण उनी बेलाबखत विवादमा समेत आउने गर्दछन् ।

१५ वर्ष  सेयर कारोबारी

उनी  झण्डै १५ वर्ष जति सेयर कारोबारीका रूपमा सक्रिय भए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका बारेमा लिएको नीति चित्त नबुझेका कारणले उनले एमाले छाडेको बताउँदै आएका छन् । सेयर कारोबारी ढकाल लगानीकर्ता दबाब समूहका अध्यक्ष समेत भए ।

उनी गत स्थानीय तहको निर्वाचनमा ढकाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउने अभियानमा सक्रिय भएर लागे । त्यसपछि उनी आफू पनि राजनीतिमा आउने तयारीमा लागे । सुरुमा स्वतन्त्र उम्मेदवार भएर बालेनको चुनाव चिन्ह लौरो लिएर उठ्ने तयारीका साथ चितवन आएका ढकालको सम्पर्क राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भयो ।

उपयुक्त पात्रको खोजीमा रहेका लामिछानेले ढकाललाई उम्मेदवार बनाए । ढकालले मूलधार र अझै गठबन्धन समेत गरेर आएका दलहरुलाई पन्छाएर जित निकाले ।

उत्साहित सेयर लगानीकर्ता

हरि ढकालले चुनाव जितेसँगै यतिबेला सेयर लगानीकर्ताहरु उत्साहित भएका छन् । सेयर बजारमा लामो समयदेखि गिरावट आएको छ । जसले गर्दा लगानीकर्ताहरु निरासा छाएको थियो । तर ढकालले चुनाव जितेसँगै संसदमा सेयरबजारका विषय निकै गहन रुपमा उठ्ने अपेक्षा गर्दै लगानीकर्ता उत्साहित भएका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]