June 27th, 2022

मौद्रिक नीतिको अर्थ, विशेषता र प्रकारहरू(तिलक महराको लेख)

तिलक महरा

यस लेखमा मौद्रिक नीतिको अर्थ र प्रकारहरू संक्षिप्त रूपमा व्याख्या गर्ने प्रयास गरिएको छ । मुलुकको आर्थिक स्थायित्वका लागि वृहत आर्थिक नीतिको आधारभूत अंगका रूपमा मौद्रिक नीतिले महत्वपूर्ण भूमिका खेल्छ ।

मौद्रिक नीतिको अर्थ

मौद्रिक नीति देशको केन्द्रीय बैंकद्वारा तर्जुमा गरिने र कार्यान्वयनमा ल्याइने समष्टि आर्थिक नीतिको एक रूप हो । त्यसकारण मौद्रिक नीति भनेको सरकारको त्यस्तो नीति हो जसले उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, मूल्य स्थायित्व, बाह्य क्षेत्रको स्थायित्व,र आर्थिक स्थिरता जस्ता पूर्वनिर्धारित समष्टि आर्थिक लक्ष्यहरू प्राप्त गर्न मुद्रा प्रदाय, ब्याजदर र ऋण व्यवस्थापनको माध्यमबाट समग्र आर्थिक गतिविधिहरूलाई प्रभाव पार्छ ।

नेपालको केन्द्रीय बैंकका अनुसार मौद्रिक नीति भनेको वृहत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक गतिविधि विस्तार गर्न केन्द्रीय बैंकले तयार गर्ने नीति हो । यसले मुद्रा आपूर्ति, ऋण र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक वृद्धि र रोजगारी सृजनालाई सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

समग्र मौद्रिक नीतिलाई छोटोमा बुझ्न सम्झनुपर्ने मुख्य बुँदाहरुः

यो के होः सरकारले पुर्वातः निर्धारण गरेको सामाजिक–आर्थिक विकासको कार्यदिशालाई सघाउन देशको केन्द्रीय बैंकद्वारा तर्जुमा गरिने एक प्रकारको समष्टि आर्थिक नीति हो ।

यो किन आवश्यक छ ?

उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, मूल्य र ज्याला स्थिरता, बाह्य क्षेत्रमा स्थायित्व कायम राख्ने, आर्थिक स्थायित्व कायम गर्ने जस्ता पूर्वनिर्धारित समष्टिगत आर्थिक लक्ष्यहरू हासिल गर्न आवश्यक छ ।

लक्ष्यहरू प्राप्त गर्ने तरिकाः यसले मुद्रा प्रदाय, ब्याजदर र ऋण आपूर्तिलाई समयमै व्यवस्थित गरी समग्र आर्थिक गतिविधिलाई सही दिशामा परिचालन गरी लक्ष्य प्राप्त गर्न मद्दत गर्छ ।

मौद्रिक नीतिका विशेषताहरू

  • मौद्रिक नीति अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्याउन प्रयोग हुने वृहतआर्थिक औजार हो ।
  • यसले आर्थिक गतिविधिको समग्र स्तरलाई देशको राजनीतिक र आर्थिक उद्देश्यहरू अनुरूप तुल्याउन मुद्राको आपूर्ति र उपलब्धतालाई नियन्त्रण गर्ने लक्ष्य राख्दछ ।
  • सामान्यतया मौद्रिक नीतिको प्रमुख लक्ष्य न्यून बेरोजगारी, न्यून मुद्रास्फीति, आर्थिक वृद्धि र बाह्य भुक्तानी सन्तुलन कायम गरी समष्टिगत आर्थिक स्थायित्व प्राप्त गर्नु हुन्छ ।
  •  मौद्रिक नीति सामान्यतया सरकार द्वारा नियुक्त केन्द्रीय बैंक जस्तै बैंक अफ क्यानाडा, बैंक अफ इङ्गल्याण्ड, र नेपालको लागि नेपाल राष्ट्र बैंक द्वारा तर्जुमा, कार्यान्वयन र प्रशासित गरिन्छ ।
  • अर्थतन्त्रको स्थितिका आधारमा आधारित मौद्रिक नीति विस्तारकारी र संकुचनकारी गरि दुइ प्रकारको
    हुन सक्छ ।

मौद्रिक नीतिका प्रकारहरू

मौद्रिक नीतिका प्रमुख प्रकार वा अवस्थाहरूलाई संक्षिप्त रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

विस्तारवादी मौद्रिक नीति

अर्थतन्त्रमा समग्र माग बढाई यसलाई चलायमान बनाउन मुद्रा प्रदाय, र बैंक कर्जा बढाउने र ब्याजदर घटाउनेतर्फ निर्देशित मौद्रिक नीतिलाई विस्तारवादी मौद्रिक नीति भनिन्छ । विस्तारित मौद्रिक नीतिको मुख्य उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाइ यसको बलियो आधार बनाउनु हो ।

स्रोत साधनको कम उपयोग, मागको कमी, पूर्वाधार विकासको आवश्यकता र अर्थतन्त्र संकुचन र मन्दीको सामना गरिरहेको अवस्थामा यस्तो प्रकारको मौद्रिक नीति लागू हुन्छ ।

विस्तारवादी मौद्रिक नीतिलाई लुज मौद्रिक नीति वा मौद्रिक सहजता पनि भनिन्छ र यसलाई सी आर आर, बैंक दर, र वैधानिक तरलता अनुपात लाइ कम गर्ने (घटाउने), खुल्ला बजारबाट सरकारी प्रत्याभुतिहरु खरिद गर्ने, मार्जिन आवश्यकता घटाउने, उपभोक्ता कर्जा सहज बनाउने लगायतका माध्यमबाट कार्यान्वयनमा ल्याइन्छ ।

संकुचनकारी मौद्रिक नीति

अर्थतन्त्र अत्यधिक चलायमान भएको बेलामा समग्र मागलाइ नियन्त्रण गरि अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन मुद्रा प्रदाय घटाउने, बैंक कर्जालाइ कम गर्ने, र ब्याज दर वृद्धि गर्ने तर्फ निर्देशित मौद्रिक नीतिलाई संकुचनकारी मौद्रिक नीति भनिन्छ। यस्तो मौद्रिक नीतिको मुख्य उद्देश्य अर्थतन्त्रमा अस्वभाविक रुपमा बढ्दो परिदृश्यहरूलाई जाँच गर्नु (नियन्त्रण गर्नु) हो ।

खासगरेर अर्थतन्त्रमा मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्ने लक्ष्य राखिएको हुन्छ । त्यसैले स्रोतहरूको अत्यधिक उपयोग हुन्छ, कुल मागमा आक्रामक विस्तार, र अर्थव्यवस्थाले विस्तार र बूमको चरणहरू सामना गरिरहेको बेलामा संकुचनकारी मौद्रिक नीति लागु हुन्छ ।

संकुचनात्मक मौद्रिक नीतिलाई टाइट मौद्रिक नीति वा मौद्रिक कडाइ पनि भनिन्छ । यसलाई सीआरआर, एसएलआर, र बैंक दर बढाएर, खुल्ला बजारबाट सरकारी प्रत्याभुतिहरु बिक्री गरेर, मार्जिन आवश्यकताहरू बढाएर, उपभोक्ता ऋणमा प्रतिबन्ध लगाएर कार्यान्वयनमा ल्याउने गरिन्छ ।

सारंश

सारंसमा भन्नुपर्दा कुनैपनि मुलुकले पुर्वतः परिभाषित गरेका विभिन्न सामाजिक–आर्थिक उद्देश्यहरु प्राप्त गरी आर्थिक स्थायित्व कायम गर्दै मुलुकको आर्थिक विकासका लागि सरकारले अथवा अख्तियार प्राप्त निकाय (केन्द्रीय बैंक) ले तर्जुमा गर्ने बृहतआर्थिक नीतिको अभिन्न अंग नै मौद्रिक नीति हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]