May 19th, 2022

तरलता समस्या तत्काल समाधान गर्न राष्ट्र बैंक समक्ष लगानीकर्ताको माग

बैंकिङ खबर/ चालु आर्थिक वर्ष शुरु भएको २, ३ महिनादेखि नै बैंक वित्तमा देखिएको तरलता अभाव अझै समाधान हुन सकेको छैन । तरलता अभावकै कारण वित्तीय क्षेत्रमा अल्पकालीन ब्याजदर बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट उल्लेख्य मात्रामा स्थायी तरलता सुविधा प्रयोग गरेका छन् भने तरलता सहजताको लागि नेपाल राष्ट्र बैंकले रिपो र सोझै खरिद बोलकबोलमार्फत तरलता प्रवाह गरिरहेको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सेयर लगानीकर्ताले ४ बुँदे माग पेश गरेका छन् । बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताका संघले गभर्नर अधिकारीलाई नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले मागपत्र पेश गरेका हुन् ।

दुई वटा संघले पेश गरेको मागपत्रमा ४ करोड एउटा बैंक र १२ करोड सम्मको सेयर कजाए ऋणको सिमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई राष्ट्र बैंकबाट फिर्ता लिने रहेको छ । उनीहरूले यो व्यवस्था तत्काल हटाउन समेत माग गरेका छन् ।
यस्तै आर्थिक वर्ष २०७९/८० को साउन १ देखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुरोध गरेको छ ।

अर्को मागमा मर्जर एक्यूजिसनले सेयर कारोबार रोकिदा आम लगानीकर्ताको चल अचल सम्पति बन्ध भइ नोक्सानीर राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परेको छ । उक्त कार्य काल बैंक तथा वित्तीय संस्थाले बार्षिक साधारणसभाको लागि दाखिल खारेजी गर्ने व्यवस्था गरे जस्तै गरी केही सिमित अवधिको लागि मात्रै कारोबार रोक्का रहने व्यवस्था गर्न अनुरोध गरेको छ ।

दुवै वटा संघले राखेको मागमा देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना भएकोले राष्ट्र बैंक जस्तो संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

एकैदिन लिए ९५ अर्ब सापटी !

मंगलबार राष्ट्र बैंकसँग एकैदिन ९५ अर्ब रुपैयाँभन्दा बढी सापटी लिएका छन् ।

केन्द्रीय बैंकका अनुसार मंगलबार बैंकहरुले ९५ अर्ब २५ करोड ९० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा लिएका छन् । यो वैशाख २१ गतेपछिको सबैभन्दा ठूलो सापटी हो । वैशाख २१ गते बैंकहरुले ९८ अर्ब २२ करोड रुपैयाँको स्थायी तरलता सुविधा लिएका थिए । सो पश्चात बैंकहरुले यति ठूलो रकमको स्थायी तरलता सुविधा लिएका थिएनन् ।

अहिले बैंकहरुमा निक्षेप संकलन बढ्न नसक्दा बैंकहरुले केन्द्रीय बैंकसँग सापटी लिएर तरलता व्यवस्थापन गर्दै आएका छन् । उनीहरुले चालु आर्थिक वर्षमा ७० खर्ब ११ अर्ब २२ करोड रुपैयाँको स्थायी तरलता सुविधा लिइसकेका छन् । अहिले पनि २ खर्ब रुपैयाँ बराबरको केन्द्रीय बैंकलाई तिर्नुपर्ने सापटी रकम बैंकहरुसँग नै छ ।

यति मात्रै होइन मंगलबार बैंकहरुले ५५ करोड रुपैयाँको ओभरनाइट रिपो सुविधा पनि लिएका छन् । यो पनि केन्द्रीय बैंकले एक दिनको लागि बैंकहरुलाई उपलब्ध गराउने सापटी हो । केन्द्रीय बैंकको तथ्याँक अनुसार बैंकहरुको अन्तरबैंक सापटीको ब्याजदर पनि ७.०४ प्रतिशत पुगेको छ ।

के हो स्थायी तरलता सुविधा ?

बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।

बैंकिङ तरलता के हो ?

निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता नै तरलता हो । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकमा व्यक्ति तथा विभिन्न संघसंस्था, कम्पनी, संस्थान आदिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं बैंकको हुन्छ । यसरी सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदीजस्ता बहुमूल्य धातुमा अत्यधिक तरलताको गुण रहेको हुन्छ । साथै, कुनै पनि वित्तीय सम्पत्ति सजिलै खर्चयोग्य रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई बजारको तरलता भनिन्छ ।

कुनै पनि देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतिको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । तरलता बढ्यो भने ब्याजदर घट्छ र मुद्रास्फीति बढ्छ । साथै, तरलतामा संकुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीतिमा दबाब कम हुन्छ । मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् । तरलता न्युन हुनु मात्रै नभएर अधिक हुनु पनि समस्या नै हो ।

किन हुन्छ समस्या ?

अहिले बजारमा न्युन तरलताको समस्या छ । अनुत्पादक क्षेत्रमा बैंकहरुको लगानी बढ्नु र सरकारले विकास खर्च बढाउन नसक्नु नै नेपालमा पटक पटक दोहोरिरहने तरलता अभावका मूख्य कारकका रुपमा देखा परेका छन् । कर्जाको माग भयो रे भन्दैमा आफ्नो क्षमता नै नहेरी लगानी गर्दा तरलता समस्या सिर्जना हुन्छ । त्यस्तै, यदि बैंकको कुल निक्षेपमा संस्थागत निक्षेप बढी छ र सर्वसाधारणको निक्षेप कम छ भने निक्षेपकर्ता र बैंक दुवैका लागि यो जोखिम हुन सक्छ । त्यसैले संस्थागत निक्षेपकर्ताले एकैपटक निक्षेप झिके भने सम्बन्धित बैंकलाई तरलताको समस्या आउँछ । सानो पुँजी भएको बैंकले धेरै निक्षेप उठाउने र कर्जा पनि धेरै प्रवाह गर्ने गर्दा पनि तरलता जोखिम बढ्न सक्छ । किनकि, सानो पुँजी भएको बैंकले जोखिमका समयमा निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सक्दैन ।

यता, बजारमा कर्जाको माग बढेन र लगानी गर्ने वातावरण भएन भने बजारमा अधिक तरलताको समस्या हुन्छ । नेपालमा प्रायः बैशाख लागेपछि अधिक तरलताको समस्या देखिने गरेको छ । किनकि, वर्षभरि नभएर सरकारको विकास खर्च रिपोर्टमा देखाउनकै लागि भएपनि रातारात गरिन्छ र सरकारी ढुकुटी खुल्न थाल्छ । त्यस्तै, वर्षात् सुरु हुने भएकाले यो समयमा अन्य भौतिक निर्माणका काम खासै गरिँदैन, जसकारण कर्जा माग कम हुन्छ ।

न्युन तरलताको प्रभाव

मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चा पदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ ।

बैंकमा तरलता अभाव हुँदा कर्जा प्रवाहमा संकुचन आउँछ । उद्योग व्यवसायहरुले कर्जा नपाएपछि विकासका काम अघि बढ्न सक्दैन र अन्ततः समग्र अर्थतन्त्र नै प्रभावित बन्न पुग्छ ।

तरलता अभावका कारण निक्षेपको व्याज अस्वभावित रुपले बढ्न जान्छ । निक्षेप तान्ने होडबाजीमा बैंकहरुले सीमा नै नाघेर व्याजदर तोक्न थाल्छन् । निक्षेपमा दिने व्याजको खर्च उठाउन उता कर्जाको पनि व्याजदर बढ्न थाल्छ र ऋणीहरु प्रभावित हुन थाल्दछन् । यस्तो अवस्थामा उद्यमीहरु निरुत्साहित बन्न पुग्दछन् भने बैंकहरुलाई कर्जा असुलीमा समेत समस्या पर्न सक्छ ।

अधिक तरलताको प्रभाव

तरलता अभावका जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्दछ । फलस्वरुप बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाल्दछन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । उता कर्जाको पनि व्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ ।

एकातिर उपभोग बढेपछि बढ्ने आयातले मुलुकको भुक्तानी सन्तुलनमा समेत असर पुर्याउँछ भने अर्कोतर्फ उपभोग बढेपछि हुने मूल्यवृद्धि नियन्त्रण गर्न पनि कठिन पर्ने हुन्छ । समग्र मूल्यस्तरमा हुने वृद्धिले छिट्टै मुद्रास्फीतिको अवस्थासमेत सृजना हुन्छ ।

अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पूँजी पलायनको अवस्था सिर्जना गर्छ । त्यस्तै, बैंकमा कम व्याज पाउने भएपछि सुपरीवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।

तरलता व्यवस्थापन

तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस भन्ने उद्देश्यले केन्द्रीय बैंकले तरलताको व्यवस्थापन गर्ने काम गर्दछ । विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैंकले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रभाव गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरि तरलता प्रशोचन गरिन्छ । बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थितिदेखिन आएमा खुला बजार कारोबार सञ्चालन समितिकोनिर्णयानुसार बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्न निक्षेप संकलन गरिन्छ वा सोझै विक्री उपकरण प्रयोग गरिन्छ । त्यस्तै, सोझै खरिद उपकरणमार्फत तरलता प्रभाव गरिन्छ । यसबाहेक, राष्ट्र बैंकले ऋणपत्रहरुमार्फत पनि तरलता व्यवस्थापन गर्दछ । यसबाहेक, व्याजदर करिडोर, सीसीडी रेसियो, अन्तरबैंक कारोबार लगायतका नीतिगत व्यवस्था एवम् मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने गर्दछ ।

दीर्घकालीन समाधान के हुन सक्छ ?

नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित छ । तर, विप्रेषणको आम्दानीबाट आएको पैसाले हामी चालू खर्चसमेत धान्न सक्ने अवस्थामा छैनौं । यस्तो समस्याकोे दीर्घकालीन समाधानका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ । घरगाडीमा गरेको लगानी एकपटक गरेपछि सकिन्छ, तर जलविद्युते, कृषि, पर्यटन, उद्योग लगायतमा गरिएको खर्चबाट आम्दानी भइरहन्छ, जसले नगद प्रवाह बढाउँछ र वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम रहन्छ । त्यस्तै, विकास खर्च पनि समयमा नै सन्तुलित तवरले गर्दै जानुपर्छ । राज्यसँग भएको पैसा खर्च गर्दै जाँदा नगद प्रवाह बढ्न गई तरलता समस्या कम हुन्छ ।

अब त मुलुक संघीय संरचनामा गइसकेको छ । स्थानीय तहका लागि भनेर छुट्टै बजेट बनाइएको छ । यस्तो बजेट वित्तीय संस्थामा राखेर खर्च गर्दा पनि वित्तीय तरलतामा सहजता हुन्छ । यसबाहेक, हुण्डी नियन्त्रण गरी रेमिट्यान्सलाई वित्तीय प्रणालीमा ल्याउने, गाउँगाउँमा छरिएर रहेका ससाना पुँजी बैंकसम्म ल्याउनका लागि वित्तीय साक्षरताका साथै बैंकिङ पहुच बढाउने लगायतका उपाय अपनाएर तरलतामा देखिने असन्तुलित अवस्थालाई दीर्घकालीन रुपमा नै समाधान गर्न सकिन्छ ।

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]