बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६६ वर्ष पूरा गरी ६७ औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । यस अवसरमा बैंकको उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंक सञ्चालक समिति र बैंकका सम्पूर्ण कर्मचारीलाई गभर्नर महाप्रसाद अधिकारी धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बैंकको कार्यसम्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य निकाय, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्था, सञ्चार माध्यम तथा शुभेच्छुकहरूप्रति अधिकारीले हार्दिक आभार व्यक्त गर्नुभएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरूद्धको खोपको उपलब्धताका कारण महामारीको असर क्रमशः कम हुँदै गएको छ । कोभिडको असर कम भएसँगै आर्थिक गतिविधिमा सुधार आएको छ । उद्योगको क्षमता उपयोग तथा होटेलको अकुपेन्सीलगायतमा सुधार आएको उहाँले बताउनुभएकोा छ ।
यस्तो छ भगर्नर अधिकारी राख्नुभएको मन्तव्यको पूर्णपाठ
पुनरुत्थानको वर्ष
वि.सं. २०७६ को अन्त्यतिरबाट सुरू भएको कोभिड–१९ को संक्रमणका कारण वि.सं. २०७७ सालका सुरूआती महिनामा आर्थिक गतिविधि शिथिल रहे । कोभिड–१९ को संक्रमण रोक्न गरिएका बन्दाबन्दी खुकुलो बनाइएपछि आर्थिक गतिविधि सुचारू हुन थाले । २०७८ वैशाखको सुरूआतमा सम्पन्न गरिएको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण’ले ४.२ प्रतिशत उद्योग-व्यवसाय
मात्र पूर्ण रुपमा बन्द रहेको देखिएको थियो ।
तर २०७८ वैशाखको दोस्रो हप्तादेखि फैलिएको कोभिड–१९ को डेल्टा भेरियन्टको संक्रमणका कारण सरकारले पुनः लकडाउन गर्दा आर्थिक गतिविधिहरू केही प्रभावित भए । तर संक्रमणको दर कम भएकोले लामो समय लकडाउन नरहेकाले पुनः आर्थिक गतिविधिहरू
चलायमान भए ।
२०७८ कात्तिकमा गरिएको पुनरावृत्ति सर्वेक्षणले जम्मा २.३ प्रतिशत उद्योग-व्यवसाय मात्र बन्द रहेको पाइएको थियो । कोभिड–१९ विरूद्धको खोपको उपलब्धता बढ्दै गएकोले २०७८ माघमा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट देखिए पनि छिट्टै संक्रमणको दर कम भएकोले आर्थिक गतिविधिहरू रोकिएनन् । यसले गर्दा अर्थतन्त्रका अधिकांश क्षेत्र पुनरूत्थानको दिशातर्फ अघि बढेका छन् । विदेशी पर्यटक आगमन र वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढेको छ ।
अर्थतन्त्रको पुनरूत्थानका लागि सहयोग पुर्याउन यस बैंकले गत वर्ष अवलम्बन गरेको लचिलो मौद्रिक तथा नियमनकारी नीतिहरूलाई यथावत् राखियो । पुनरकर्जाको व्यवस्थालाई निरन्तरता दिइयो । दोस्रो लहरमा अक्सिजनको अभावले धेरै जनाले ज्यान गुमाउनु परेको स्थितिलाई दृष्टिगत गरी अक्सिजन प्लाण्ट स्थापना गर्न आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्थाका अतिरिक्त एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध हुने व्यवस्थासमेत गरियो ।
बाह्य क्षेत्रमा दबाब र नीतिगत सम्बोधन
अर्थतन्त्र पुनरूत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरूआती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण आर्थिक वर्ष २०७८/७९ को सुरूआतदेखि नै शोधनान्तर स्थिति घाटामा रहन गयो । उक्त घाटा क्रमशः बढ्दै गएकोले विदेशी विनिमय सञ्चिति घट्न गएको छ । विदेशी विनिमय सञ्चितिको अवस्था सात महिनाको भन्दा कम समयको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबको अवस्थामा रहेको छ ।
विदेशी विनिमय सञ्चितिमा परेको दबाबलाई कम गर्दै बाह्य क्षेत्र स्थायित्व कायम गर्न समीक्षा अवधिमा विभिन्न नीतिगत प्रयास भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिङ प्रणालीमार्फत विप्रेषण पठाएर बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत बिन्दुले अतिरिक्त ब्याज पाउने व्यवस्था मिलाइएको छ ।
२०७८ पुस र माघ महिनामा केही वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली र उनीहरू संलग्न विदेशी संस्थालाई विदेशी मुद्रामा निक्षेप खाता खोल्न सहजीकरण गरिएको छ । विदेशी लगानी तथा विदेशी मुद्रा आप्रवाहलाई सहजीकरण गर्न ‘विदेशी लगानी तथा विदेशी विनिमय व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिएको छ । विदेशी मुद्राको ननडेलिभरेवल फरवार्ड कारोबारको सीमा र Document Against Payment / Document Against Acceptance को सीमा घटाइएको छ । साथै, चाँदी आयातको लागि विदेशी मुद्रा सटही सीमा तोकिएको छ भने सुन आयातको कोटा घटाएर प्रतिदिन १० किलोग्राम बनाइएको छ ।
२०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नीतिगत दरलाई दुई प्रतिशत बिन्दुले बढाइएको छ । यसअनुसार स्थायी तरलता सुविधा उपलब्ध हुने बैंकदर र पुनरकर्जाको अधिकतम ब्याजदरलाई सात प्रतिशत बनाइएको छ । साथै, ट्रष्ट रिसिटलगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिका कर्जाको जोखिम भार बढाइएको छ । विप्रेषण कम्पनीले आफ्ना एजेन्ट र सब–एजेन्टमार्पmत आन्तरिक विप्रेषणको कारोबार गर्दा सम्बन्धित विप्रेषण कम्पनीको System अनिवार्य रुपमा प्रयोग गरी प्रतिव्यक्ति प्रतिकारोबार प्रतिदिन अधिकतम रु.पच्चीस हजारसम्म मात्र गर्न सक्ने व्यवस्था गरिएको छ ।
कानुनी तथा कार्यविधि तर्जुमा र सुधार
लिज फाइनान्स, वित्तीय ग्राहक संरक्षण कानुन र एसेट म्यानेजमेन्टसम्बन्धी कानुनको मस्यौदा तयार भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को तेस्रो संशोधनको मस्यौदाको अतिरिक्त प्रस्ताव र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को पहिलो संशोधन अतिरिक्त प्रस्ताव नेपाल सरकारसमक्ष पेस गरिएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को संशोधन प्रस्ताव, वित्तीय सम्पत्ति पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्युरिटाइजेसन) सम्बन्धी कानुन मस्यौदाको चरणमा रहेको छ ।
मौद्रिक तथा तरलता व्यवस्थापनलाई थप प्रभावकारी तवरले सञ्चालन गर्न ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७१’ खारेज गरी ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८’ जारी गरिएको छ । साथै, ‘निक्षेप सङ्कलन उपकरणसम्बन्धी कार्यविधि, २०७७’, ‘ब्याजदर कोरिडोरसम्बन्धी कार्यविधि, २०७६’ र ‘स्थायी तरलता सुविधासम्बन्धी कार्यविधि, २०७३’ खारेज गरी एकीकृत रुपमा ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८’ कार्यान्वयनमा ल्याइएको छ । बैंकको कार्यसम्पादनलाई व्यवस्थित गर्न ‘नेपाल राष्ट्र बैंक सुरक्षा व्यवस्था सञ्चालनसम्बन्धी कार्यविधि, २०७८’, ‘सरूवा नीति, २०७८’, ‘पदपूर्ति समितिको बैठकसम्बन्धी कार्यविधि, २०७८’, ‘नेपाल राष्ट्र बैंक सेवा पुरस्कारसम्बन्धी कार्यविधि, २०७८’ र ‘विद्युतीय सूचना व्यवस्थापन एकीकृत कार्यविधि, २०७८’ लागू गरिएको छ ।
‘नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन २०७४)’ मा समसामयिक संशोधन गर्न ‘नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली संशोधन एवम् परिमार्जन सिफारिस समिति’ गठन गरी विनियमावली संशोधन एवम् परिमार्जनको प्रक्रिया अगाडि बढाइएको छ । ‘नेपाल राष्ट्र बैंक सहयोगी सेवाका लागि करारमा लिनेसम्बन्धी कार्यविधि, २०७७’ मा संशोधन गरिएको छ । साथै, ‘नेपाल राष्ट्र बैंक,
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्नेसम्बन्धी कर्मचारी आचारसंहिता, २०७८’ लागू गरिएको छ ।
कोभिड–१९ संक्रमण जोखिमको व्यवस्थापन र बैंकको सेवा सुचारू राख्ने कार्ययोजना, २०७७ (दोस्रो संशोधन) मा थप व्यवस्था गरी संक्रमणको जोखिम व्यवस्थापन गर्दै बैंकको सेवा सुचारू राख्ने कार्य जारी छ । साथै, बैंकमा प्रयोगमा रहेका सूचना प्रविधि प्रणालीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि
Active Directory System सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ र Olympic Banking System सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।