March 17th, 2022

राजस्व संकलन उत्साहजनक, पुँजीगत खर्च निराशाजनक

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ८ महिनामा सरकारले २० प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने प्रतिबद्धताका बाबजुद सरकारले यो अवधिमा ७७ अर्ब १४ करोड रुपैयाँ अर्थात् २०.४ प्रतिशतमात्र खर्च गर्न सकेको हो।

सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। तर, खर्च नहुने देखेपछि मध्यावधि समीक्षामार्फत खर्चको लक्ष्य झण्डै १० प्रतिशतले घटाएर ३ खर्ब ४० अर्ब कायम गरिएको छ। चालू आवको ८ महिनामा सरकारले गरेको खर्च गत आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिको तुलनामा दुई प्रतिशतले कम हो। गत वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा २२.६४ प्रतिशत अर्थात् ७९ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको थियो ।

विकासे मन्त्रालयहरुले योजना कार्यान्वयन गर्न नसक्दा खर्च हुन नसकेको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताए। उनका अनुसार विकास खर्च बढाउन अर्थ मन्त्रालयले निरन्तर पहल गरिरहेको छ। “पुँजीगत खर्च बढाउन विकाससँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल भइरहेको छ। खर्च बढाउन एक साताभित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशनसमेत दिएका छौं,” उनले भने ।

चालूतर्फ भने सरकारले ५० प्रतिशतभन्दा बढी खर्च गरिसकेको छ। १० खर्ब ६५ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरिएकोमा सरकारले ५०.५४ प्रतिशत अर्थात् ५ खर्ब ३८ अर्ब रुपैयाँ खर्च गरेको छ। गत वर्ष भने सरकारले सो अवधिमा ४८.०५ प्रतिशत अर्थात् ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च गरेको थियो ।

वित्तीय व्यवस्थातर्फ पनि खर्च बढेको छ। विगत ८ महिनामा सरकारले ३१.५२ प्रतिशत अर्थात् ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ। गत वर्ष भने २०.५५ प्रतिशत अर्थात् ३५ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो।

अघिल्लो वर्षको तुलनामा राजस्वतर्फ भने सरकारको प्रगति राम्रो देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ८ महिनामा ६ खर्ब ८४ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ५८ प्रतिशत राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष भने सोही अवधिमा सरकारले लक्ष्यको ५६.४६ प्रतिशत अर्थात् ५ खर्ब ७१ अर्ब रुपैयाँ संकलन गरेको थियो।काराेबार दैनिकबाट


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]