February 26th, 2016

६ महिनामा १७ प्रतिशत बढ्यो रेमिट्यान्स

remitanceगत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा रेमिट्यान्स बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा तीन सय २३ अर्ब ६९ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह १७ .३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.९ प्रतिशतले मात्र बढेको थियो । विप्रेषण आप्रवाहमा भएको उच्च वृद्धिका कारण खुद ट्रान्सफर आय २० दशमलव पाँच प्रतिशतले बढेर तीन सय ७८ अर्ब ८५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर आय ३ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीमा जाने घटे
प्रतिवेदनअनुसार विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भने कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७२÷०७३ को छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा २२.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा सोे संख्या २०.२ प्रतिशतले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएसँगै तेल निर्यातकर्ता खाडी मुलुकहरुबाट नेपाली श्रमिकहरुको मागमा कमी आउनुका साथै वैदेशिक रोजगारीसम्बन्धी मलेसियन सरकारको पछिल्ला कदमबाट त्यसतर्फको वैदेशिक रोजगारीमा समेत कमी आउने देखिएकोले आगामी दिनमा विप्रेषण आप्रवाह अझ धेरै प्रभावित हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 


वित्तीय संस्थामा विदेशी विनियमय सञ्चिती बढ्यो
वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आए पनि कुल विदेशी विनिमय सञ्चिति २०७२ असार  मसान्तको ८ सय २४ अर्ब ६ करोडबाट १९.९ प्रतिशतले बढेर चालू आवको पुस मसान्तमा ९ सय ८८ अर्ब ४० करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र« बैंकमा रहेको सञ्चिति २०७२ असार मसान्तको  तुलनामा २०७२ पुस मसान्तमा २१.४ प्रतिशतले बढेर ८ सय ५३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । 

यसबाहेक बैंक तथा फाइनान्स कम्पनीहरु (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले बढेर १ सय ३४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । कुल  सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ महिना ७ दिनको वस्तु आयात र १७ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपातहरु क्रमशः ४६.५ प्रतिशत, १४.७ प्रतिशत र ४८.३ प्रतिशत रहेका छन् । २०७२ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३८.३ प्रतिशत, ९३.३प्रतिशत र ४३.९ प्रतिशत रहेका थिए ।