January 6th, 2022

विपन्न बर्गको जीवनस्तर उकास्ने काममा लघुवित्तहरु लक्षित छन् : रामचन्द्र जोशी

बैंकिङ खबर, व्यूरो टिम / नेपालका ग्रामिणभेगहरुमा वित्तीय कारोबार गर्ने संस्थाहरुको पहुँच कम छ । यस्तो अवस्थामा लघुवित्तहरुले समुहगत रुपमा आर्थिक गतिविधीहरुलाई तिव्रता दिइरहेका छन् । लघुवित्तहरुले गाउँ केन्द्रीत कार्यक्रमहरु संचालन गरिरहेका छन् । गाउँमा सिप सिकाउने र त्यहिँ पुँजी परिचालन गरि रोजगारी श्रृजनामा उनीहरुको भूमिका महत्वपूर्ण हुँदै आएको छ । हामीले यसपटक छिमेक लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत भएर लामो समय काम गरिसक्नृुभएका बरिष्ठ लघुवित्त बैंकर, वित्तीय साक्षरताका अभियन्ता तथा छिमेक संस्थाका अध्यक्ष रामचन्द्र जोशीसँग कुराकानी गरेका छौं । 

तपाईं लामो समयदेखि लघुवित्तको क्षेत्रमा हुनुहुन्छ । नेपालको सन्दर्भमा लघुवित्तको योगदानलाई कसरी लिनु भएको छ?

सरकार सुगम ठाउँमा मात्र केन्द्रीत भएको छ । गाउँका कुनाकाप्चामा सरकार पुगेको छैन । यतिसम्म की गाउँमा हुने सामान्य घटनाक्रमहरुको लागि बोलिदिने पनि कोही हुँदैनन् । यस्तो बेलामा लघुवित्तका कर्मचारीहरुले उनीहरुका समस्या सुनिदिने गरेका छन् । कतिपय अवस्थामा उनीहरु नै मध्यस्तकर्ता भएर समस्या समाधान गरिदिने गरेका छन् । कर्जा प्रवाहको काममा त लघुवित्तको भूमिका छँदैछ । यसका अतिरिक्त गरिबहरुको साथी भएर लघुवित्तहरुले काम गरिरहेका छन्।

उद्यमशीलताको लागि लघुवित्त नै महत्वपूर्ण छ भन्ने तपाईंको आशय हो ?

हो, पक्कै पनि गाउँमा लघुवित्तले कसैले नपत्याउने काम पनि गरिरहेका छन् । अब गाउँमा रोजगारी श्रृजनामा उनीहरुको भूमिका महत्वपूर्ण हुनेछ।

ग्रामिणभेगमा कस्ता कस्ता काममा लघुवित्तले भूमिका निभाएका छन् त?

आय आर्जनको विकल्प नदेखेर आत्महत्यासम्म गर्न तयार रहेका र कामको लागि के गरौं, कसो गरौंको अवस्थामा रहेका ग्रामिण महिला र गरिब किसानहरुका लागि लघुवित्तहरुले आयआर्जनका कामहरु सिकाउँदै आएका छन् । बाख्रापालन, भैंसीपालन, मौरीपालन, तरकारी खेती लगायतका सीप सिकाउँदै आम्दानीको बाटो देखाउने काम गरिरहेका छन् । अहिले ती किसानहरुले एउटा बाख्राबाट सुरु गरेको व्यवसायमा ७०/८० वटासम्म बाख्राको संख्या पुर्याएका छन्। उनीहरुलाई हामीले तपाईंहरु निराश बन्नु पर्दैन, तपाईंहरुसँग के छैन र ? पुँजी नभएको त हो, त्यो हामी लगानी गर्छौं, तपाईंहरु काम गर्नुस् भनेर प्रेरित गर्यौं । उनीहरुले काम सुरु गरेर आफ्ना छोराछोरीलाई राम्रो स्कुलमा पनि पढाएका छन्। यसले गर्दा लघुवित्तहरु अहिले गाउँका लागि बरदानसिद्ध भएका छन् ।

नेपालमा मान्छेहरु काम नै छैन भन्दै विदेशिने परिपाटी छ। देशको अर्थतन्त्र पनि खराब छ । यसलाई सुधार गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

काम गर्ने वर्ग गरिब हो । उसलाई पैसा मात्र दिएर हुँदैन । पैसालाई सदुपयोग गर्न पनि सिकाउनु पर्छ । विदेशमा गएर पैसा कमाएर आएर पनि कुनै सिप सिकेनन् भने मान्छेले पैसा छँदासम्म मात्र खान पाउँछ । त्यसैले सिप सिकाउँदै काममा लगाउने हो भने पैसा पनि कमाउँछ र उसले अरुलाई पनि सिकाउँदै आय आर्जन गर्न सक्छ । लघुवित्तले पनि सोचे जसरी त काम गर्न सकेका छैनन् , सकेसम्म उनीहरुले पनि प्रयास गर्दैछन्। सिप स्वदेशमै परिचालन गराउने र दीर्घकालिन रोजगारीको बाटो देखाउने हो भने देशको अर्थतन्त्रमा सुधार आउँछ।

राज्यले के गर्यो भने युवाहरुले अब म यो काम गर्न सक्छु भन्ने आँट गर्न सक्लान् ?

देशको श्रम निती नै युवा लक्षित छैन । नेपालमा अहिले पनि विदेशबाट श्रमिक ल्याएर काममा लगाउने परिपाटी छ । स्वदेशका युवाहरु काम नपाएर विदेशिने गरिरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै परिचालन गर्ने निती सरकारले अवलम्बन गर्नु पर्छ । कृषिमा युवाहरुलाई परिचालन गर्ने निती, सिप र क्षमतालाई उपयोग गराउने नितीमा सरकार लाग्नु पर्छ । गाउँमा गरिवलाई ऋण पत्याउँदैनन्, उनीहरुले तिर्न सक्दैनन् भन्ने सोचले पनि काम गर्ने अवसरबाट युवाहरु बञ्चित भएका छन् । उनीहरुलाई सरकारले सिप सिकाएर व्यवसायमा लगाउनु पर्छ । ऋण तिर्ने व्यवसायले हो, व्यक्तिले होइन। यसमा सरकारले कर्जाको सदुपयोग भयो की भएन भनेर ध्यान दिनु पर्छ । व्यवसाय गर्नका लागि सम्बन्धित पक्षसम्म पुगेर काम गर्ने हो भने, बेरोजगारहरुले रोजगार पनि पाउँछन् । देशको अर्थतन्त्र पनि बलियोतिर जान्छ ।

तपाईं त लामो समयदेखि यहि क्षेत्रमा हुनुहुन्छ, लघुवित्तका समस्याहरु चाहिँ के के पाउनु भएको छ नि?

गरिब वर्गमा लघुवित्तको पहुँच पुर्याउन अझै सकिएको छैन । लघुवित्तहरुको संख्या धेरै भए तर उनीहरुले गरिव लक्षित कार्यक्रमहरु गर्नु पर्ने जति गरेका छैनन् । लघुवित्तहरुको काम त गरिवहरुको उत्थान गर्नु पर्ने हो तर त्यो अनुसार हुन सकेन । वचत र कर्जा लगानी गर्दै नाफा केन्द्रीत बन्दै जाने गरेका लघुवित्तहरुको संख्या धेरै भए पछि अहिले समस्या हुन गएको छ । लघुवित्तहरुले अस्वस्थ प्रतिश्पर्धा होइन, स्वच्छ प्रतिश्पर्धा गरेर गरिव लक्षित कार्यक्रमहरु प्रवाह गराउन सक्नु पर्छ । राष्ट्रबैंकले पनि यहि खालको निती निर्माण गराउनु पर्छ । जसले गर्दा लघुवित्तहरु गाउँमा सिप सिकाउने वातावरणमा पुग्न सकुन्।

यस्तो अवस्थामा लघुवित्तहरुको काम के के हुनु पर्ने हो त ?

माछा किनेर खान पैसा दिने होइन, उसलाई माछा मार्ने तरिका के हो, कसरी मार्ने भनेर सिकाउनु पर्छ । यस्तो काम लघुवित्तहरुले गर्नुपर्छ, ताकी पछि पनि उसले माछा मारेर खान सिकोस्, किनेर खानु नपरोस् ।

हुन त अहिले पनि लघुवित्तहरुले के गरेका छन् र, भन्नेहरु पनि छन् । मान्छेहरुलाई तुरुन्तै आम्दानी गर्ने काम चाहिएको छ तर कृषि व्यवसायहरुमा लगानी गरेर तुरुन्तै पैसा कमाइ त हुन सक्दैन । यो दीर्घकालिन व्यवसाय हो । यसबाट पछिसम्म कमाई हुन सक्छ । तर यी व्यवसायहरुलाई सुपरभिजन गर्नु आवश्यक छ ।

नेपालमा व्यवसायका सम्भावना के के छन्?

म देश विदेश घुमेको छु । जहाँ गएँ, नेपालमा भन्दा बढी सम्भावना अन्यत्र देख्दै देखेको छैन । यहाँ के छैन र ? जे पनि उत्पादन गर्न सकिन्छ । अहिले भारतबाट कृषि उत्पादन ल्याएर खानु पर्ने अवस्था छ । तर त्यो कृषि उत्पादन स्वदेशमा जति पनि गर्न सकिन्छ । देशका कुना कुनामा उत्पादन गरेका तरकारी लगायतका अन्य उत्पादनहरु बजारमा लैजान सकिएको छैन। जसले गर्दा किसानको लगानी डुबेर गएको छ । सडक यातायातको पनि समस्या छ । अझ ठूलो समस्या त व्यापारीहरुको मनलाग्दी भाउ छ । किसानले उत्पादन गरेको तरकारीको मूल्य व्यापारीले तोक्ने परिपाटीले किसानको स्तर उकास्न सकिँदैन । काम गर्ने किसान र फाइदा लिने व्यापारी, यसले समस्या आएको छ । सरकारले किसानको उत्पादन किनिदिनु पर्छ।

एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिनु पर्ने अवस्था कसरी आयो ?

यसको मूख्य कारण अस्वस्थ प्रतिश्पर्धा हो । अहिले धेरै संख्यामा खुलेका लघुवित्तहरुले तिर्न सक्नेलाई मात्र कर्जा दिएका कारण पनि यस्तो समस्या आएको हो। पहिले लघुवित्तहरु घाटामा थिए । अहिले नाफामुखी बनेका छन्। तत्कालिन फाइदा भन्दा पनि दीर्घकालिन फाइदाका काममा लघुवित्तहरु लाग्न सक्नु पर्छ।

तपाईंले छिमेक लघुवित्तलाई कसरी बैंक बराबरको बनाउन सक्नु भयो?

लघुवित्तमा नाफा ठूलो कुरा होइन, गरिवहरुको मन जित्न सक्नु पर्छ । छिमेक लघुवित्तमा सुरुमा त वित्तिय साक्षरता दिने मान्छे मात्र थिए । २८ जना व्यक्तिले गाउँ गाउँमा पुगेर माछा पालन, मौरी पालन, कृषि उत्पादन लगायतका सिपहरु गरिवहरुलाई सिकाउन मात्र पनि छिमेक लघुवित्तले सुरुमा काम गरेको थियो । गरिवहरुलाई माथि उकास्ने त छिमेक नै हो भन्नेमै हामी केन्द्रीत भयौं । गाउँमा यसरी सिप सिकाएपछि सबैले राम्ररी बुझे, व्यवसाय गर्न थाले, कर्जा लगानी पनि हुन थाल्यो। अनि त नाफा हुने नै भयो नि।

हरेक ठाउँ समृद्ध बनाउन सकिन्छ तर यो कसरी सम्भव हुन्छ? यहाँको अनुभव बताइदिनुस न।

कुन व्यवसाय कुन ठाउँमा हुन्छ, कहिले गर्दा राम्रो हुन्छ भन्ने ज्ञान सबैलाई गराउनु आवश्यक छ । एउटा ठाउँमा फल्ने फलफूल अर्को ठाउँमा उत्पादन नहुन सक्छ । ठाउँ र सिजन बुझेर लगानी गर्नु पर्छ । सम्बन्धित किसानलाई कसरी उत्प्रेरित गराउने भन्नेमा लघुवित्तले ध्यान दिनु पर्छ । यसमा एउटा लघुवित्तले मात्र सम्भव हुँदैन । किसान, स्थानिय सरकार र केन्द्र सरकारले पनि ध्यान दिनु पर्छ । काम नगरि केही हुँदैन । सिप र श्रमको सहिसदुपयोग गर्न सक्ने हो र राज्यले पनि यसमा चासो दिने हो भने केही वर्षमै देशको अर्थतन्त्र उकास्न सकिन्छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]