June 7th, 2016

९३० उद्योगमार्फत साढे २५ अर्ब चिनीयाँ लगानी भित्रिँदै 

dv1260006मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९ सय ३० उद्योगले २५ अर्ब ४८ करोड ८० लाख रुपैँयाभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दै आएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८ सय ६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।

चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९ सय ३० उद्योगबाहेक चीन (हङकङ) बाट ३१ उद्योगले २५ अर्ब १८ करोड २० लाख रुपैँयाभन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् । त्यस्तै चीन (ताइवान) बाट १५ उद्योगले करिब २७ करोड ४० लाख रुपैँया लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले ५ हजार २ सय ६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।

नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५ सय ७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन् भने त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग रहेका छन् । विदेशी उद्योगको जम्मा लगानी १ खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रुपैँया रहेको छ भने उक्त लगानीबाट २ लाख १४ हजार १ सय २१ रोजगारी सिर्जना भएको अनुमान छ ।

विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिए । यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उनले बताए । झन्डै १ बर्षअघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।

अनलाइन सेवा सुरु गर्ने तयारी
विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताए । यसका लागि विभागले गत वैशाख २२ गते परीक्षण सेवा समेत सुरु गरिसकेको छ । अनलाइन सेवा सुरु गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले प्राविधिक सहयोग गर्नुका साथै विभागका जनशक्तिलाई प्रशिक्षित गर्दै आएको छ ।

नेपालमा दर्ताका लागि स्वीकृति प्राप्त गरेका विदेशी उद्योगमध्ये सबैभन्दा बढी १ हजार १ सय ८३ उद्योग सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका छन् । त्यस्तै, कृषि र वनमा आधारित २ सय २२, ऊर्जा क्षेत्रका ७४, उत्पादनमूलक ९ सय ७२, प्रशोधन क्षेत्रका ६५ र पर्यटन क्षेत्रका १ हजार १५ उद्योग छन् । दर्ता भएका विदेशी उद्योगमध्ये २ सय ६५ ठूला, ३ सय ७५ मझौला र २ हजार ९ सय ३८ साना प्रकृतिका छन् ।

नेपालमा ३ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् । ३ करोड देखि १० करोडसम्म स्थिर पुँजी भएका मझौला र १० करोड भन्दा बढी स्थिर पुँजी भएका उद्योग उद्योग विभागमा दर्ता हुने कानुनी व्यवस्था छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]