October 11th, 2018

पोहोरको भन्दा यसपाली नोट साट्न सहज

निर्जला खड्का/बैंकिङ खबर । स्थायी घर धादिङ भई भएका हाल बनस्थलीमा बस्दै आएका टेक बहादुर अधिकारीले यसपाली झन्डै दुई घण्टा लाइन बसेपछि दशैँका लागि नयाँ नोट साट्न पाए । बिहान ११ बजेदेखि नेपाल राष्ट्र बैंकको थापाथली भवनमा लाइन बसेका उनले दिउसोको १ नबज्दै नोट साट्न पाए । तातो घाममा झन्डै दुई घण्टा लाइन बस्दा पनि पोहोर सालको तुलनामा छिटो र सहज तरिकाले नोट साट्न पाएकोमा उनी दंग छन् । ‘पोहोरको भन्दा यसपाली मानिसहरुको भिड कम छ, लाइन पनि व्यवस्थित छ,’ उनी भन्छन्, ‘यसप्रति म मात्र हैन सबै सर्वसाधरणहरु खुसि छन् ।’

असोज २१ गतेदेखि नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कार्यालयसहित केही बैंकका शाखाहरुबाट नोट सटही गर्ने व्यवस्था मिलाएको छ । एक दिनमा करिब एक देखि दुई हजारसम्म सर्वसाधरणहरुको भिड हुने गरेको छ । नयाँ नोट सटही बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ । अघिल्लो बर्षको भन्दा यो बर्ष मानिसहरुको चाप घटेको राष्ट्र बैंकले बताएको छ । नयाँ नोट सटहीका लागि बैंकले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गहरुलाई लाइनमा नबसाई सिधै काउन्टरमा लगेर नोट सटही गर्ने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकले अशक्तहरुका लागि सिधै काउन्टरमा गएर नोट लिने व्यवस्था मिलाएको भएतापनि कतिपयलाई यस बारेमा जानकारी नहुँदा सास्ती खेपिरहेका छन् । भक्तपुर घर भएका ६० बर्षीय केदारनाथ उलकले दुई घण्टा लाइन बसिसक्दा पनि मलाई सिधै काउन्टरबाट पैसा पाइने सुविधाबारे कसैले नबताइदिएको गुनासो पोखे । ‘लाइन बस्दा बस्दा गाह्रो भएपछि म भित्र गएँ,’ उनले भने, ‘भित्र गएपछि पो बृद्धवृद्धाहरुले लाइन बस्नुनपर्ने थाहाँ पाएँ ।’

नेपाल राष्ट्र बैंकले कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक गरी तीन वटै सरकारी बैंकलाई पनि नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरेको छ । यद्यपि, बैंकहरुमा राष्ट्र बैंकमा जस्तो भीड देखिँदैन । सिमित संख्यामा मात्रै टोकन दिएका कारण बैंकमा नोट सह्टही गर्न आउनेको चाप देखिएको छैन । कतिपय सर्वसाधारणले टोकन नपाएका कारण रित्तो हात फर्किनुपरेको गुनासो समेत पोखेका छन् । 

स्थायी घर बर्दिया भई कृर्तिपुरमा बस्दै आएका शरद बस्नेत दशैँका लागि नोट साट्न कृषि विकास बैंकको केन्द्रीय कार्यालय पुगे । विहान १० बजेदेखि दिउसो ३ बजेसम्म नोट सटही हुने भनिएकाले उनी १ बजे बैंक पुगे, तर टोकन नपाएर रित्तो हात फर्किए । अघिल्लो दिन टोकन नपाएपछि उनी भोलिपल्ट फेरि ११ बजे नै बैंक पुगे र अन्तिम टोकन पाउन सफल भए । बैंकहरुले आफ्नो व्यवस्थापन आफैँ गर्न नसक्दा यस्तो सास्ती पाउनुपरेको उनको भनाई छ । उनले भने, ‘टोकनको सीमा दुई सयभन्दा अलि बढी भएको भए सर्वसाधारणहरुले दुःख पाउने अवस्था आउने थिएन ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]