fbpx

लघुवित्तको शतप्रतिशत कर्जाको सदुपयोग आम्दानीमूलक कार्यमा 

September 28, 2018

जनार्दन देव पन्त ।  लघुवित्त भनेको थोरै आय आर्जन गर्ने वा प्रचलित बैंकहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरू प्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त सेवाको धारणा अनुसार न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्याउन सकियो भने यसले गरिबीबाट माथि उठ्न सहयोग पुर्याउँछ । लघुवित्त सेवाले सर्वसाधारणलाई गरिबीबाट माथि उठाउन सक्ने भए पनि यो आफैँमा गरिबी निवारणको साधन भने होइन ।
                                                                                                                                                                                                                        कमर्सियल बैंककोे पहुँच नपुगेको र निम्न वर्गका जनताहरु जसको बैंकिङ कारोबारसम्मको पहुँच हुँदैन, जसलाई बैंकिङ कारोबार सम्बन्धी ज्ञान हुँदैन, उनीहरुलाई बैंकिङ च्यानलको मूल प्रवाहमा आबद्ध गर्नका लागि लघुवित्त वित्तीय संस्था स्थापना भएका हुन् । लघुवित्त वित्तीय संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई विना धितो कर्जा प्रवाह गर्दै आएको छ । लघुवित्त वित्तीय संस्थाहरुबाट गरिब तथा विपन्न वर्गहरुले स्रोत, साधन र सीप प्राप्त गरी जीविकोपार्जन गरेका छन् । एक छाक टार्न धौ धौ हुने मानिसहरु आज उद्यमी बनेका छन् । जसको आधरशिला लघुवित्त वित्तीय संस्था नै हो । 

लघुवित्त वित्तीय संस्थाले सर्वसाधरणहरुलाई कर्जा प्रवाह मात्रै गर्दैन, वित्तीय साक्षरता सम्बन्धि तालीम, सीपमुलक तालीम, उद्यमशिलता तालीम तथा परामर्शहरु पनि दिने गर्दछ । त्यसरी विभिन्न तालीमहरु प्रदान गरी सानो सानो कर्जा प्रवाह गरी व्यवसाय सुरु गर्न लगाईएका ग्राहकहरु लघुवित्त वित्तीय संस्थाप्रति विश्वस्त छन् । उनीहरु आर्थिक तथा सामाजिक रुपले प्रतिष्ठित र सफल व्यवसायी समेत बन्न सफल भएका छन् । 

लघुवित्त गरिबी न्युनीकरणको औजार मात्र नभई उद्यमी बनाउने स्रोत केन्द्र पनि हो । यसरी लघुवित्त वित्तीय संस्थाबाट सानो सानो कर्जा लिई साना उद्यमीहरुले आफुलाई स्वरोजगार तथा अरु मानिसहरुलाई रोजगारीको सिर्जना गरी ठुला उद्योगहरु स्थापनाको मुख्य आधार तयार गर्न भुमिका खेलेका छन् । गरिब तथा विपन्न वर्गहरुको आर्थिक अवस्थालाई सुधार गर्नका लागि नै लघुवित्त वित्तीय संस्थाको विकास भएको हो ।

विपन्न वर्गको उत्थानका लागि राज्यबाट दिइएका सेवा तथा सुविधाहरु टाठाबाठा मानिसहरुको लागि मात्र सिमित रह्यो । समाजमा अपहेलित, गरिब तथा विपन्न वर्गहरु विभिन्न सेवा तथा सुविधाबाट वञ्चित रहे । उनीहरुलाई बिहान बेलुकाको छाक टार्न समेत गाह्रो भयो । धनी मानिसहरुको काम गर्दा पनि अत्यन्त न्युन पारिश्रमिकमा मजदुरी गरी जिवन निर्वाह गर्न बाध्य भएका थिए । त्यसकारण लघुवित्त वित्तीय संस्थाले ती गरिब सीमान्तकृत वर्गहरुलाई कर्जा प्रवाह गरेर उद्यमी बनाउने मान्यता अनुरुप गाउँ गाउँमा अर्थात विकट ठाउँहरुमा लघुवित्त संस्थाहरु स्थापना भए । 

नेपालको समग्र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन, रोजगारी सिर्जना गरी आय आर्जन बढाउन र अति विपन्न महिलाहरुलाई सशक्त बनाउन लघुवित्त वित्तीय संस्थाले महत्वपुर्ण भुमिका खेलेको छ । लघुवित्तले आर्थिक मात्र नभई सामाजिक क्रान्ति ल्याउनमा पनि त्यतिकै भुमिका खेलेको छ । लघुवित्त वित्तीय संस्थाले वित्तीय तथा गैरवित्तीय सेवा दिएका विपन्न महिलाहरुको हरेक महिना हुने समुह भेलामा बचत गर्ने बानीमा विकास भएको तथा बचतको सही परिचालन गर्ने, विना धितो ऋणको रकमलाई कसरी उत्पादनशिल बनाउने, कसरी आफु स्वरोजगार बनी अरुलाई रोजगारी दिने जस्ता कुराहरुलाई समेट्दै सकारात्मक सोचसहित अरुलाई मद्दत गर्न सक्ने क्षमताको समेत विकास गर्ने भएकोले आज लघुवित्तसँग आवद्ध भएका मानिसहरु सामाजिक र आर्थिक रुपमा सबल भएका छन् । 

नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या सन् १९९५ मा ४२ प्रतिशत रहेको थियो । उक्त गरिबी घटेर सन् २०१८ मा २१.६ प्रतिशतमा झरेको छ । यसरी लगातार गरिबी घट्दै जानुमा लघुवित्त वित्तीय संस्थाको महत्वपुर्ण भुमिका रहेको छ । लघुवित्त वित्तीय संस्थाले गरिब समुदायमा स्रोत र साधनको परिचालन गराई उनीहरुको समग्र विकासमा उल्लेखनीय सहयोग पुर्याएको छ । 

पानी आउँदा घरभित्रै पस्ने, हावाहुरीले उडाउने झुपडी भएका ती विपन्न मानिसहरुको आज राम्रो घर बनेको छ । खानाको अभावमा कुपोषणग्रस्त व्यक्तिहरु स्वस्थ भएका छन् । उनीहरुको अनुहारमा खुसिको संचार भएको छ । यसरी लघुवित्त वित्तीय संस्था गरिब तथा विपन्न मानिसहरुको एउटा मेरुदण्डको रुपमा स्थापित भएको छ । 

लघुवित्तले कर्जा प्रवाह मात्रै नभएर कर्जा अनिवार्य रुपमा सदुपयोग गराउन, व्यवसाय शुरु हुने अवधिदेखि सफलता प्राप्त गर्दासम्म बारम्बार ग्राहकहरुको घरदैलोमा पुगेर आवश्यक सल्लाह र सुझाव दिने गर्दछ । त्यसकारण लघुवित्त संस्थाबाट ग्राहकहरुलाई प्रवाह हुने कर्जा शतप्रतिशत नै आम्दानीमुलक कार्यमा सदुपयोग हुने गर्दछ । लघुवित्तबाट प्रवाह गरेको कर्जा शतप्रतिशत नै सदुपयोग हुने भएकाले विपन्न तथा गरि मानिसहरुको आर्थिक अवस्थामा आमुल परिवर्तन आएको छ । सर्वसाधरणहरु भन्छन्, “हामीले लघुवित्तहरुलाई तिर्ने व्याज भन्दा पनि लघुवित्तको सहयोग र सेवा नै हाम्रो लागि अमुल्य बनेको छ । हामी गरिबीको दलदलबाट माथि उठ्न सफल भएका छौँ ।” 

जसरी एउटा गमलामा रोपेको विरुवाले विशाल वृक्षको रुप लिनका लागि पछि उसको आवश्यकता अनुसारको माटो, मल, पानी र क्षेत्रफलको आवश्यकता पर्दछ, त्यस्तै उद्यमीको क्षमता र सम्भावनाअनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउन आवश्यक छ । आज सुरु गरेको सानो स्तरको व्यवसाय भोली बृहत स्तरको रोजगारीको सिर्जना गर्न सक्ने उद्योग बन्न सक्छ । तसर्थ विपन्न वर्गहरुलाई स्वरोजगार बनाउने मात्र नभई उनीहरुको क्षमताअनुसार सीप, स्रोत तथा बजारको पहुँच पुर्याइ उत्पादकत्व बढाउन सक्यो भने समग्र देशको अर्थतन्त्र नै मजबुद हुन्थ्यो । 

ग्रामीण क्षेत्रको विकासमा खास गरेर पिछडीएका महिलाहरुको आर्थिक तथा सामाजिक उत्थान नभईकन नेपालको गरिबी निवारण नहुने ठहर गर्दै वि.स २०४९ सालमा डा. हरिहरदेव पन्तको अग्रसरतामा  सरकारी स्तरमा ग्रामीण विकास बैंकहरु र गैरसरकारी क्षेत्रबाट निर्धन संस्थाले नेपालमा लघुवित्त कार्यक्रमको शुरुवात गर्यो । विपन्न वर्गहरुलाई वित्तीय साक्षरतासहित सानो सानो कर्जा प्रवाह गरी आय आर्जनमा लगाई नियमित रुपमा बचत गर्न लगाउने लघुवित्त कार्यक्रम आज देशव्यापी रुपमा आफ्नो संजाल विस्तार गरी विपन्न वर्गको आशाको केन्द्र र गरिबी निवारणको अस्त्र भएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.