कसरी गर्ने जीवन बीमाको दाबी ? कसरी हुन्छ भक्तानी ? 

September 21, 2018

बैंकिङ खबर । बीमा समिति (बीमा क्षेत्रको नियामक निकाय) ले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः जीवन बीमा भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अवस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । 

त्यस्तै, सावधिक जीवन योजनाअन्तर्गत बीमा अवधि समाप्त भएपश्चात् यदि बीमित जीवित नै छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई दाबी भुक्तानी गर्नु पर्दछ । यदि व्यक्ति जीवित नै लछ भने उसले सिधै बीमा कम्पनीमा गएर रकम लिन सक्छ । तर आजीवन बीमा दाबी लिनको लागि बीमितको मृत्यु भएपछि मात्र उसको इच्छाएको व्यक्तिले पाउँछ । 

बीमितको मृत्यु भएको खण्डमा निजले इच्छाएको व्यक्तिले र यदि इच्छाएको व्यक्तिको पनि निधन भईसकेको अवस्था भए निम्नानुसार जीवित हकवालाले रकम प्राप्त गर्नेछन् ।

इच्छाएको व्यक्तिले पाउने 
कुनै जीवन बीमालेख अवधि समाप्त हुनु अगावै सो बीमालेख लिने व्यक्तिको मृत्यु भएमा बीमालेख अनुसारको रकम निजले आफ्नो बीमालेखमा इच्छाइएको व्यक्तिले पाउँछ । निजले कसैलाई इच्छाएको रहेनछ वा इच्छाइएको व्यक्तिको अघि नै मृत्यु भईसकेको भए बीमालेख लिने व्यक्तिको देहायबमोजिम नाता पर्ने आश्रित क्रमानुसार र एकै क्रमका एकभन्दा बढी जीवित नातेदार भएमा दामासाहीले जीवित सदस्य पाउँछ ः
क) सगोलका पति वा पत्नी,
ख) सगोलका छोरा, छोरी, विधवा छोरा बुहारी,
ग) सगोलको बाबु आमा ( विवाहित महिलाको हकमा सासूृ ससूरा)
घ) आफैंले पालनपोषण गर्नुपर्ने बाजे बज्यै र छोरापट्टिको नाति, नातिनी,
ङ) भिन्न बसेको पति पत्नी, 
च) भिन्न बसेको अविवाहित छोरी, छोरा, विधवा छोरा बुहारी,
छ) भिन्न बसेको बाबु आमा,
ज) सगोलको सौतेनीआमा,
झ) सगोलको सौतेनी छोरा छोरी,
ञ) सगोलको दाजु भाइ, दिदी बहिनी,
ट) विवाहित महिलाको हकमा भिन्न बसेका सासू ससुरा, 
ठ) भिन्न बसेका छोरापट्टिका नाति, अविवाहित नातिनी,
ड) भिन्न बसेको सौतेनी आमा, 
ढ) भिन्न बसेको सौतेनी छोरा, अविवाहित सौतेनी छोरी
ण) विवाहित महिलाको हकमा सगोलको जेठाजु, जेठानी, देवर, देउरानी,
त) सगोलको भतिजा, भतिजी,
थ) सगोलको काका, विधवा काकी, भाउजु, भाइ बुहारी,
द) भिन्न बसेका दाजु भाइ, दिदी बहिनी, 
ध) भिन्न बसेका बाजे, बज्यै, नातिनी बुहारी, भतिजा, भतिजी,
न) बिमितसँग अन्तिम अवस्थामा सँगै बसी निजको हेरचाह गर्ने व्यक्ति । 
उक्त बमोजिम इच्छाइएको व्यक्तिको मृत्यु भएमा र इच्छाइएको व्यक्तिले बदल्न चाहेमा बीमालेख लिनेले अर्को व्यक्तिलाई इच्छाउन सम्बन्धित बिमकलाई लेखी पठाउनुपर्छ । बिमकले पनि बीमालेख लिनेको अनुरोधबमोजिम इच्छाइएको व्यक्ति राखी त्यसको लिखित सूचना सम्बन्धित बीमालेख लिनेलाई दिनुपर्छ । 
बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्ति वा हकवालाले छिटोभन्दा छिटो बीमा कम्पनीमा जानकारी गराउनु पर्दछ । जानकारी गर्दा निधन भएको समय, उमेर, कारण आदि कुरा उल्लेख गर्नुपर्दछ । जानकारी प्राप्त भएपछि बीमा कम्पनीले उपलब्ध गराउने दाबी फारामसहित अन्य पेस गर्नुपर्ने कागजातहरु जस्तै मृत्यु दर्ता प्रमाणपत्र, नातासम्बन्धी प्रमाणपत्र, बीमालेख, दुर्घटनाबाट मृत्यु भएको भए प्रहरी प्रतिवेदन आदि कागजातहरु बीमा कम्पनीमा पेस गर्नुपर्दछ ।  
दाबी गर्दां इच्छाइएको व्यक्तिको पनि मृत्यु भईसकेको छ भने माथि उल्लेख गरिएबमोजिमका सबैभन्दा पहिला क्रममा आउने हकवालाले नाता प्रमाणित गराई बीमा कम्पनी समक्ष पेश गर्नुपर्दछ । सम्पूर्ण प्रमाण र कागजात पूरा भएपछि बीमा कम्पनीले सम्बन्धित व्यक्तिलाई नियमानुसार दाबी भुक्तानी गर्दछ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *