fbpx

‘लघुवित्तले सबैलाई विनाधितो कर्जा दिन सम्भव छैन’

September 20, 2018

उदय राज खतिवडा । लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने तथा सानो सानो कर्जा प्रवाह गर्ने गर्दछन् । लघुवित्त संस्थाहरुले गरीब तथा विपन्न व्यक्तिहरुलाई बिना धितो कर्जा उपलब्ध गराउँदै आइरहेका छन् । लघुवित्त वित्तीय संस्थाले देशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएका छन् । 

विनाधितो कर्जा
लघुवित्तबाट सर्वसाधरणहरुलाई प्रवाह गर्ने कर्जा बिनाधितो हुनुपर्छ भन्ने मान्यता छ । तर, लघुवित्त संस्थाहरुले सबै व्यक्तिहरुलाई बिनाधितो कर्जा दिन असम्भव हुन्छ । यद्यपि, धितो राख्न सम्पत्ति नहुने गरिब तथा विपन्न वर्गहरूका लागि उनीहरुको आर्थिक अवस्था मुल्यांकन गरेर लघुवित्तले बिनाधितो कर्जा प्रवाह गर्ने गर्दछ । लघुवित्त वित्तीय संस्थाहरुले बिनाधितो कर्जा लगानी गरेकाले ग्रामीण भेगका गरिब तथा विपन्न मानिसहरुले पनि वित्तीय सेवा पाईरहेका छन् । हाल लघुवित्त कार्यक्रममा पनि धितो लिने व्यवस्था गरिएको छ ।

उद्यमशीलता विकास
लघुवित्तले उद्यम गर्न पनि सिकाईरहेको छ । लघुवित्तकोे सहयोगबाट आज ठाउँ ठाउँमा महिलाहरुले साना तथा ठूला व्यापार, व्यवसाय गरेको देख्न सकिन्छ । महिलाहरुले किराना पसल, होलसेल पसल, नास्ता पसल, चिया पसल, तरकारी खेति, गाईपालन, कुखुरापालन, भैँसिपालन, बाख्रापालन जस्ता हरेक किसिमका कार्यहरु गरिरहेका छन् । यसरी व्यवसायीकरण हुने क्रममा लघुवित्तले सानोतिनो तालिमबाट, कर्मचारीको काउन्सिलिङबाट, संस्थाका अन्य काउन्सिलिङ माध्यमबाट, पैसा दिँदा वरिएन्टेन्सनबाट, संस्थाका विभिन्न सिसिडी पीसीडी गर्ने प्रक्रियाबाट उद्यमशीलता सिकाइरहेको छ ।

व्याजदर
लघुवित्त वित्तीय संस्थाले संसारभर आफ्नो सेवा प्रदान गरिरहेको छ । लघुवित्तको व्याज पहिले २४ प्रतिशतसम्म थियो, तर अहिले घटिरहेको छ ।  २०७४ साल साउन १ देखि राष्ट्र बैंकको निर्देशनले व्याज १८ प्रतिशतमा झारेको छ । गत वर्षको मौद्रिक नीतिले लघुवित्तहरुको क्याप हटाईदिएको छ । तर पनि लघुवित्तहरुले व्याजदर बढाएका छैनन् । लघुवित्तहरु पनि देशको एउटा जिम्मेवार संस्था हुन् । लघुवित्तहरुले आफ्ना सेवाग्राहीहरुलाई सस्तोदर र सजिलोमा कसरी सेवा प्रदान गर्न सकिन्छ भनेर सोचिरहेका छन् ।

संख्यात्मक वृद्धि
पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरुको संख्या बढ्दै आएको छ । गाउँ गाउँमा बैंकिङ पहुँच बृद्धि गर्ने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाहरुको संख्या बढ्दै आएको हो । असोज महिनाभित्रमा लघुवित्तहरुको संख्या १०८ पुर्याउने लक्ष्य राष्ट्र बैंकको छ । लघुवित्तको संख्या बढेसँगै प्रतिष्पर्धा अवश्य पनि बढ्छ, जुन स्वस्थ र अस्वस्थ दुबै हुन्छ । प्रतिष्पर्धा हुनु राम्रो हो । प्रतिष्पर्धाका कारण व्याजदर घटिरहेको छ, सेवाको विविधिकरण भइरहेको छ, दुरदराजसम्म सेवा प्रवाह भइरहेको छ । प्रतिस्पर्धाले लघुवित्तको समग्र दायरा र आयामलाई बढाइदिन्छ । राष्ट्र बैंक संख्या वृद्धिसँगै केही पहल गर्ने प्रयासमा छ । अब कर्जा सुचना लिएर मात्र लगानी एवम् जनताले लिने कर्जामा सिमितता लगायतका निर्देशन जारी गरेको छ । एउटा लघुवित्तको विना धितोको कर्जाले महिलाहरुलाई धेरै जाखिम हुने कुरालाई राष्ट्र बैंकको निर्देशनले अलि सुधार गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिष्पर्धा
लघुवित्तहरुको संख्या बढ्दा अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ । कुनै पनि क्षेत्रमा दुई वा दुई भन्दा बढि खालको सेवा प्रवाह भयो भने प्रतिस्पर्धा हुन्छ । स्वस्थ प्रतिस्पर्धामा सबै संस्थाहरुले काम गर्न पाउनुपर्छ । अहिले सहकारी र लघुवित्तमा प्रतिस्पर्धा छ । लघुवित्त लघुवित्तहरुमा पनि प्रतिस्पर्धा छ । तर, समग्रमा भन्दा धेरै अस्वस्थ प्रतिस्पर्धा भएको छैन । लघुवित्त वित्तीय संस्थाहरुले हाल २८ लाख महिलाहरुलाई उद्यमी बनाउनुका साथै सेवा दिईरहेका छन् । राष्ट्र बैंकको सिस्टम र नियमन, नियमभित्र बसेर सेवा पुर्याएको सबै सर्वसाधरणहरुलाई सेवा दिँदै आएको छ । 

पछिल्लो समयमा लघुवित्त संस्थाहरुको संख्यात्मक बृद्धिका कारण कर्जा दोहोरोपनाको समस्या बढ्दो रुपमा थियो । तर, अहिले यस लाई मौद्रिक नीतिले राहात दिएको छ । नेपाल राष्ट्र बैंकले ५० हजारभन्दा माथि कर्जा लगानी गर्दा कर्जा सुचना लिएर लगानी गर्नुपर्ने, सुचना लिँदा कुनै ऋणी डिफल्टर छ भने उसलाई कर्जा दिन नमिल्ने अथवा डिफल्टर होइन भने उक्त व्यक्तिले नेपाल राष्ट्र बैंकको लिमिटभित्र कर्जा लिएको छ भने नयाँ कर्जा दिन नमिल्ने र यदि डिफल्टर ऋणि छैन र राष्ट्र बैंकको लिमिटभित्रको मात्र कर्जा लिएको छ भने मात्र लगानी गर्नुपर्ने निर्देशन दिएको छ । त्यसले गर्दा, दाहोरोपना विस्तारै अब टाइट हुँदै गईरहेको छ । (स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक खतिवडासँग बैंकिङ खबर डटकमले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.