March 20th, 2016

‘नयाँ प्रविधिको मूल्य धान्न सक्दैनन् बैँकहरु’ 

anil kesari shahहामी सूचना तथा प्रविधिको युगमा छौँ । प्रविधिको प्रयोगले सिंगो संसारलाई नै एक ग्लोबल भिलेजमा परिणत गरिसकेको छ । हरेक क्षेत्रमा प्रविधिको प्रयोग अत्यावश्यक भइसकेको छ । बैँकजस्तो पैसाको कारोबार हुने क्षेत्रमा त झन् प्रविधिको आवश्यकता दिनदिनै बढिरहेको छ । संसारका प्रायः बैँकहरु प्रविधिमा नै निर्भर भइसकेका छन् । यता, नेपाली बैँकहरुले भने अझै पनि परम्परागत शैलीमा नै कारोबार गरिरहेको देख्न सकिन्छ । बैँकहरु प्रविधिमुखी हुनुपर्ने विचारहरु नउठेका पनि हैनन् । यद्यपि, व्यववहारिक रुपमा त्यो हुन सकिरहेको छैन । नेपालका बैँकहरुमा प्रविधिहरु त भित्रिइरहेका छन् तर निकै सुस्त र अपर्याप्त रुपमा भित्रिइरहेका छन् । यसले गर्दा, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली बैँकहरु आउन सकिरहेका छैनन् । यसैबिच, नेपाली बैँकहरुमा प्रविधिको प्रयोगको सम्बन्धमा बैँकिङ खबर डट कमले मेगा बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग कुराकानी गरेको छ । उनै शाहसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

नेपाली बैँकमा प्राविधिक विकास
संसारका प्रायः बैंकहरु प्रविधिमा निर्भर भइसक्दा पनि नेपाली बैंकहरु भने परम्परागत शैली नै अपनाइरहेका छन् । अबको बैंकिङ प्रविधिमुखी हुनुपर्छ । जुनसुकै देशमा पनि बैंकिङ प्रविधिलाई प्राथमिकतामा राख्नुपर्छ । विगतमा यस्ता दिन पनि थिए जुन बेला बैंकिङ रेकर्डहरु ढड्डामा राखिन्थ्यो । अहिले वित्तिय संस्था खोल्न राम्रो प्रविधिको आवश्यकता पर्दछ । वित्तिय संस्थाको ‘नर्भस सिस्टम’ भनेकै प्रविधि हो । प्रविधिको विकास यतिसम्म भइसकेको छ कि आज हाम्रा सबै शाखाहरु एकअर्कासँग जोडिएका छन् । काठमाडौँबाट डिपोजिट गर्नासाथ स्याफ्रवेशीबाट पैसा निकाल्न सकिन्छ । हामीले नयाँ बैंक, आइफ्लेक्स पनि चलाइसकेका छौँ । हामीले मेगा बैंकमा कोर बैंकिङ् सिस्टममा आइफ्लेक्स सञ्चालन गरिरहेका छौं । एटिएम पहिला हाइटेक लाग्थ्यो, अहिले साधरण भइसकेको छ । प्रविधि नभएको भए मान्छेले अमेरिका देखि यहाँ आँउदा गोजिभरी पैसा बोक्नु पर्ने स्थिति हुन्थ्यो । तर प्रविधि क्षेत्रमा आएको फड्कोसँगै मानिसले ढुक्क भएर कारोबार गर्न सक्ने अवस्था सिर्जना भएको छ । मेगा बैंकले डेविट कार्ड पनि प्रयोगमा ल्याएको धेरै भइसकेको छ । यसवाहेक क्रेडिट कार्ड पनि सञ्चालनमा ल्याउदैछौँ । हामीले सञ्चालनमा ल्याएको प्रविधिमध्ये नौलो सेवा भनेकै शाखारहित बैंकिङ् हो । यस बैंकिङ सेवामा चारवटा औँलाबाट व्यक्तिको पहिचान हुन्छ । पैसा निकालेपछि अर्थात जम्मा गरेपछि मेसिनबाट नेपालीमा आवाज आँउछ ‘तपाइको खातामा पैसा यति छ ।’ हाम्रो नेपाली कम्पनीले नै डिजाइन गरेर बनाएकोे प्रविधि हो यो । 

समस्या छ भनेर प्रविधिको प्रयोग गर्न छोड्नु गलत
हामीले तत्कालै ट्याव बैंकिङ सेवा भित्र्याउँदै छौँ । यो नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि हो । अरु कुनै पनि बैंकले यो सेवा प्रवाह गर्न सकिरहेका छैनन् । नयाँ प्रविधिको प्रयोग गर्दा समस्या त आउँछ । यद्यपि समस्या आयो भन्दैमा प्रविधिलाई नै प्रयोग गर्न छाड्ने होइन । इन्टरनेट बैंकिङ् हामीले बैंक स्थापना कालदेखि नै सुरु गरेका गरेका हौँ । त्यस्तै हलो देखि हाइड्रोसम्म हाम्रो बैंकको नारा नै हो । त्यसैअनुरुप कृषकहरुलाई ऋणको व्यवस्था पनि समेत गरेका छौँ । राष्ट्र बैंकले हालै एउटा नीति ल्याएको छ । त्यसमा आइटीमा काम गर्नेहरुसँग धितो विल्कुलै कम हुन्छ । उनीहरुको धितो भनेको दिमाग हो । सफ्टवेयर डेभलपमेन्ट गर्नेहरुको एउटा ल्यापटप मात्र हुन्छ, त्यो क्लिक भयो भने उहाँ अरबपति बन्नुहुन्छ । तर हामीलाई धितो जग्गा, घर चाहिन्छ । आइटीको धेरै ठूलो सभ्भावना छ । तर वातावरण कसरी बनाउने ? राष्ट्र बैंक,विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थमन्त्रालय, बैंक तथा वित्तिय संस्था बसेर यस सम्बन्धमा नीति बनाउनु आवश्यक छ । कुन चाँही राम्रो सफ्टवेयर भन्नु भन्दा पनि म कस्तो व्यवसाय गर्ने भन्ने महत्वपूर्ण कुरा हो । जस्तो खालको व्यवसाय हो त्यसअनुसारको सफट्वेयर छान्दा ठिक हुन्छ ।

प्रविधि क्षेत्रमा क्रान्ति ल्याउँछौ 
बैंकहरुले प्रयोग गर्ने प्रविधि प्राप्त गर्न कठिन भएर होइन मुल्य महङ्गो भएका कारणले सबैं बैंकहरुले प्रविधिलाई आत्मसाथ गर्न नसेकेका हुन् । अर्को कुरा नेपालमा आइटी क्षेत्रमा ज्ञान भएको मानिस यहाँ बस्दैन । विदेशतिरै जान खोज्छन् । उनीहरुलाई पनि स्वदेशमै काम गर्न सक्ने बनाउनु आवश्यक छ । यसका लागि, वित्तिय साक्षरताका कार्यक्रमहरु पनि हामी सञ्चालन गर्ने योजना बनाएका छौँ । बैंकहरुले प्रविधिमा जोड दिन थाले भने ग्राहकहरुले पनि त्यसबारे जानकारी पाउन जरुरी छ । नयाँ प्रविधिको बारेमा पनि चेनता जगाउनु उत्तिकै जरुरी छ । आइटीमा त झनै जरुरी छ । हामीले प्रयोगमा ल्याएको प्रविधिले ग्राहकलाई फाइदा हुनुपर्यो । प्रविधि क्षेत्रमा क्रान्ति ल्याउनको लागि मेगा बैंक प्रयासरत छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]