August 2nd, 2019

राष्ट्र बैंकको नियमनमा बीमाको दायरा सुस्ताउने संकेत

बैंकिङ खबर । धेरै समयसम्म सुस्त रहेर २ बर्ष यता नै १८ प्रतिशत पुगेको बीमाको दायरा पुनः सुस्ताउने भएको छ । नेपाल राष्ट्र बैंकले बीमा पोलिसीहरु बैंकहरुबाट बिक्री रोक लगाए पश्चात बीमा पहुँच बिस्तारमा असर पर्ने भएको हो ।

पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुबीच बढ्दो प्रचलनमा रहेको बैंकास्योरेन्सको नाममा बैंकहरुले आफ्नो कर्तव्य भुलि कारोबार गरेको ठहर गरि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुले बीमाका पोलिसीहरु बिक्री गर्न नपाउने निर्देशन दिएको छ । बैंकका कर्मचारीहरु बैंकिङ कारोबारमा नभई बीमा पोलिसी बिक्री गरि कमिसन कमाउन तर्फ लागेको हुँदा यस्तो नियमन गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए । ‘बैंकका कर्मचारीहरु बैंकिङ कामभन्दा पनि बढि कमिसनको लोभमा बीमातर्फ केन्द्रित भएका कारण त्यसलाई रोक्ने काम गरिएको हो’ उनी भन्छन् ‘ ग्राहकलाई अनावश्यक बीमा गराउन फोर्स गरे, अब ऋणीले जुन कम्पनीको जति आवश्क पर्ने हो त्यति मात्र बीमा पोलिसी किन्न पाउँछ ।’ बैंक र बीमा कम्पनीहरुले सेवाग्राहीहरुलाई आवश्यकता भन्दा बढी बीमाका पोलिसी खरिद गर्न बाध्य बनाएको हुनाले राष्ट्र बैंकले यस्तो नियमन गरेको डेपुटी गभर्नर शिवाकोटीको भनाई हो ।

बीमा समिति भन्छः बीमाको दायरा विस्तारमा केही असर पर्ला
राष्ट्र बैंकले बैंक तथा बीमा कम्पनीहरुलाई बीमा पोलिसी विक्रीमा कडाई गर्दा बीमाको पहुँच बिस्तार केही हदसम्म सुस्ताउने देखिएको छ । बैंकहरु मार्फत धेरै बीमा कम्पनीहरुले बीमा व्यवसाय बढाएको हुँदा राष्ट्र बैंकको नीतिबाट दायरा विस्तारमा केही हदसम्म भएपनि असर गर्ने बीमा समितीका निमित्त कार्यकारी निर्देशक राजु रमन पौडेलले बताएका छन् । तर बैंकास्योरेन्सलाई बन्देज गराउँदा बीमा अभिकर्ताहरु आफैं परिचालित हुन पाउने हुँदा समस्या पछि आझै समाधान हुने उनको विचार छ । बैंकास्योरेन्सले बैंकलाई अभिकर्ताको रुपमा प्रयोग गरिरहेको बताउँदै उनले, ‘अब बीमा अभिकर्ताहरु आफैँ परिचालित हुन्छन् ।’ ७७ वटै जिल्लामा बीमा अभिकर्ता छरिएर रहेको बताउँदै बीमाको पहुँचमा पनि खासै असर नपर्ने उनको भनाई छ ।

राष्ट्र बैंकले बीमा पोलिसीमाथि सिधा नियन्त्रण नगरेर घुमाउरो शैलीमा गरेको भए बीमा कम्पनीहरुलाई झनै राम्रो हुने विचार कार्यकारी निर्देशक पौडेलको छ । उनी भन्छन् ‘सिधै ढोका बन्द नगरेर राष्ट्र बैंकले घुमाउरो शैलीमा, बिस्तारै बिस्तारै नियन्त्रण गरेको भए हुन्थ्यो ।’ बीमा बजारमा पहिला बैंकास्योरेन्सको आवश्यकता भएको तर हाल त्यसमा विकृती आएर राष्ट्र बैंकले बंदेज लगाएको उनको भनाई हो ।

बीमा बजारमा प्रभाव
बैंकास्योरेन्समाथि बन्देज लगाउने राष्ट्र बैंकको नीतिसँगै जिवन बीमा कम्पनीहरु भने प्रभावित हुने भएका छन् । हाल नेपालमा १९ जिवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । यी कम्पनीहरु प्रायः सबैले विभिन्न बैंकहरुसँग बैंकास्योरेन्स गरेका छन् । राष्ट्र बैंकले बैंकास्योरेन्सलाई रोकेसँगै बीमा कम्पनीहरुको पहुँच बिस्तारमा प्रश्न उठेको छ ।

बैंकास्योरेन्सलाई रोक्दा समग्र बीमा कम्पनीहरुलाई असर पर्ने युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बताउँछन् । राष्ट्र बैंकको नियमनले विषेश गरि जीवन बीमा कम्पनीहरुको व्यापारमा असर पर्ने उनको भनाई हो । ‘भर्खरै चुक्ता पुँजी २ अर्ब पु¥याउन लागेका जिवन बीमा कम्पनीहरुलाई बढि मात्रामा असर पुगेको उनले बताए । बैंकहरुले पनि केही न केही गल्ती गरेकै कारण राष्ट्र बैंकले यस्तो नीति ल्याएको आरोप बैंकहरुलाई लगाए । बैंकास्योरेन्सको बन्देजपछि बीमा कम्पनीहरु तथा अभिकर्ताहरुले ‘विकल्प’ खोजेर अघि बढ्नुपर्ने उनको तर्क छ ।

राष्ट्र बैंकले बैंकास्योरेन्समा बन्देजमा निर्जीवन कम्पनीहरुले भने धेरै वास्ता दिएका छैनन् । बैंकास्योरेन्समा लगाइएको बन्देजबाट निर्जिवन बीमा कम्पनीहरुलाई असर नपर्ने युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । जीवन बीमा कम्पनीहरुलाई भने केही असर पर्ने उनको विचार छ । अहिले बैंकका कर्मचारीहरु नै बीमामा संलग्न भई कमिसन खाने प्रवृति बढेको कारणले नै राष्ट्र बैंकले उचित निर्णय उनको विचार छ ।

राष्ट्र बैंकको निर्णयले बीमा अभिकर्ताहरुमा खुसी  
राष्ट्र बैंकले ल्याएको बैकान्सोरेन्सलाई बन्देज लगाउने नीतिबाट बीमा अभिकर्ताहरु भने निकै खुसी छन् । बैंकास्योरेन्सका कारण आफुहरुको रोजीरोटी नै गुम्ने खतरा भएको भन्दै विरोध जनाउँदै आएका बीमा अभिकर्ताहरु राष्ट्र बैंकको यस निर्णयबाट राहत महसुस गरेको बताउँछन् ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले राष्ट्र बैंकको यस नीतिलाई खुलेर स्वागत गरे । यस नीतिबाट अभिकर्ताहरुलाई धेरै राहत मिलेको उनले बताए । आफुहरुको रोजीरोटीमा नै प्रश्न उठेको समयमा राष्ट्र बैंकले यस्तो नीति ल्याउनु सुखद् भएको उनको भनाई छ ।
बीमा कम्पनीहरुले अभिकर्तालाई विश्वास नगरेर सबै बीमा पोलिसीहरु बैंक मार्फत गराउन थालेका थिए । बीमाका सबै काम बैंकबाट गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने उनको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]