February 24th, 2019

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा उल्लेख भएका विषयले शेयर बजारमा सकारात्मक प्रभाव पार्छ – दिपेन्द्र बाँस्कोटा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट ब्याजदरमा नियन्त्रण गर्न खोजेको देखिन्छ । जसले गर्दा बैंकर्सहरुले पनि समिक्षामा उल्लेख भएका केही विषयहरु लागु भएमा बैंकको नाफामा उच्च गिरावट आउने बताइरहेका छन् । यसको प्रभाव शेयर बजारमा देखिने चर्चा समेत हुँदै आएको छ । त्यसैले हामीले ब्याजदरमा भएको परिवर्तन र बैंकको नाफामा अउन सक्ने गिरावटले शेयर बजारलाई कस्तो असर पार्छ भनेर शेयर बजारलाई नजिकबाट नियालिरहनुभएका व्यक्ति दिपेन्द्र बाँस्कोटासँग कुराकानी गरेका छौं । जो लामो समयदेखि फाइनान्सियल डेरिभेटिभ सम्बन्धि अध्ययन र काम गरिरहनु भएको छ । 

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजानीक भएपछि वित्तीय बजारमा ब्याजदरका विषयमा निकै चर्चा भएको छ । समिक्षाबाट बैंकिङ क्षेत्रका गतिविधीलाई समस्या पार्छ भनिएको छ । यसले शेयर बाजरमा पनि गिरावट ल्याउँछ भनिएको छ । तपाईले के देख्नुभएको छ ?  
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट बैंकले कर्जामा लिने ब्याजदरमा केही कडाई गर्न लागेको देखिन्छ । तर सबै क्षेत्रमा प्रवाह हुने कर्जामा ब्याजदरमा कडाई गर्नलागेको हो जस्तो मलाई लाग्दैन् । ती विषय कार्यान्वयनमा आएपछि थप स्पस्ट होला । बैंकहरुलेपनि विरोध गरेका हुन जस्तो पनि लाग्दैन् । तर कुरा के हो भने अत्यन्तै आकाशिएको ब्याजदर केही तल आउने संकत दिएको छ । कृषि, उर्जा र पर्यटन लयाएत पुर्वाधार विकासमा लामो समयको असर पार्ने देखिएकाले यसले दिर्घकालमा राम्रो प्रतिफल दिन्छ जस्तो लाग्छ । यस्तो व्यवस्थाले ब्याजदरमा देखिदै आएको तीब्र उतारचढावलाई नियन्त्रण गर्छ । यसले त अर्थतन्त्रका परिसूचकहरुलाई राम्रै फाइदा पुग्ने देखेको छु । तत्कालका लागि शेयर बजारमा केही असर पारेपनि लामो समयका लागि त राम्रो हुने देखिन्छ । 

व्यवासयीहरु आन्दोलीत भएपछि सरकारले ब्याजदरमा हस्तक्षेप गरेको देखिन्छ । यसले बैंकको नाफामा उच्च गिरावट आउने छ । त्यसले त शेयर बजारका परिसूचकहरु घटने स्पस्ट भइसक्यो । यस्तो सम्भावना छ ?
क्षणिक रुपमा हामीले देख्दा ब्याजदर घटने वित्तीकै बैंकहरुको नाफा घटन जान्छ । किनभने बैंकहरुको कमाई वा आम्दानी भनेकै व्याज हो । अहिले सबै वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भएको छ । अघिल्लो आर्थिक बर्ष २०७४/७५ करिब ४४ अर्बको नाफा गरेका बैंकहरुको नाफ चालु आर्थिक वर्षको छ महिनामो वित्तीय विवरण हेदा ६० अर्ब भन्दा माथि पुग्ने देखिन्छ । यो बर्ष अत्यन्तै धेरै नाफा कमाएको दखियो जुन ब्याज आम्दानीकै कारण सम्भव भएको हो । बैंकहरुको नाफा गत वर्षभन्दा ३० प्रतिशतको हाराहारीमा वृद्धि भइराखेको छ। त्यसैले नाफाकै कारण शेयर बजार गिरावट आउँछ भन्ने चाँहि होइन् । किनभने ब्याजदरका कारण पनि शेयर बजारमा उतारचढाव हुन्छ । अहिले बजारमा ब्याजदर घटन जाने देखिएको छ । ब्याजदर घट्दा परिसूचकहरुमा वृद्धि हुन्छ ।  

बजारलाई तलमाथि बनाउनका लागि पनि हल्ला गर्ने प्रवृति देखिन्छ। अहिले पनि बजारलाई प्रभाव पार्नेखालका गतिवधिहरु भएका छन् । यस्तो अवस्थाले स्टक मार्केटमा कस्तो प्रभाव पार्ला ?
बजार चल्ने भनेको हल्ला ले नै हो । अहिले स्टक मार्केटमा यो मौद्रिक नीतिको समिक्षाले केही मात्रामा बजार प्रभावित भएको छ । पहिलो समिक्षा सार्वजनिक भएपछि पहिलो दिन ब्याजदर घटने भयो भनेपछि उच्च वृद्धि भयो । त्यसपछि विरोध आउन थाल्यो त्यसले फेरी घटाएको छ । यस्तो भइरहन्छ । एक त बजार घट्दो अवस्थामा नै भएको कारणले पनि खासै वृद्धि भएको छैन् । मानिसहरुले लामो समयसम्म पूँजी परिचालन गर्नका लागि लगानी गर्ने हो । त्यसैले पनि हल्लाले क्षणिक गिरावट ल्याउन सक्ला तर ब्याजदरमा तिब्र उतारचढाव भएन भने दिर्घकालमा शेयर बजारल बढ्दो ट्रेण्डमा जान सक्छ । 

ब्याजदरको प्रभावमा शेयर बजार परेको लामो समय भइसक्यो । ब्याजदर र शेयर बजारका परिसूचकहरु बीचको सम्बन्ध कस्तो हो ?  
ब्याजदरको समान्य सिद्धान्त भनेको ब्याजदर घटने वित्तीकै पैसाको आपूर्ति बढ्छ । पैसाको आपूर्ति बढने वित्तीकै शेयर बजारमा प्रयाप्त लगानी आउँछ, शेयरको माग बढ्छ, माग बढेपछि शेयरको मूल्य बढ्छ, शेयरको मूल्य बढनुभनेको परिसूचकहरु सकारात्मक बन्नु हो । त्यसैले जतिबेला व्याजदर कम हुन्छ त्यतिबेला शेयर बजार सकारात्मक बन्छ । अर्थात परिसूचकहरुमा वृद्धि हुन्छ । नेपालमा के देखिएको छ भने जब ५/६ प्रतिशत निक्षेपमा ब्याजदर निर्धारण हुन्छ त्यसबेला कर्जामा पनि ब्याजदर एकल अंकमा देखिन्छ । त्यस्तो अवस्थामा शेयर परिसूचकहरु बढेको छ । जब निक्षेपका ब्याजदर १२÷१३ प्रतिशतमा हुन्छ तब शेयर बजार घट्दो ट्रेण्डमा गएको छ । यस्तो चक्र बजारमा देखिएको छ । त्यसैले अहिले बजारमा ब्याजदर घट्ने सम्भावना देखिएकाले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने दिन आउँछै छ भन्ने देखिन्छ ।   

मौद्रिक नीतिले खासगरी मुद्रा बजारलाई निर्देशित गर्छ । तरपनि पूँजी बजारमा यसको प्रभाव उच्च पर्ने कारण के हो ? 
मौद्रिक नीतिमार्फत कर्जाको ब्याजदर निर्धारण गर्दा सरकारको प्राथमिकता प्राप्त क्षेत्रमा तोकिने ब्याजदरमा आधारदरमा प्रिमियमा राष्ट्र बैंकले तोक्ने भन्ने छ । यसले ब्याजदर घटाउँछ भन्ने अपेक्षा हो । तर बैंकहरुकै वित्तीय विवरणहरु हेर्दा केही राम्रा बैंकहरुको आधार ब्याजदर एकल अंकमा झरेको पनि छ । यसले आगामी चैत पछि आधारदरमा आफैपनि अलिकति घटने र २०७६/७७ को असारपछि अलि राम्रोसँग घटने सम्भावना पनि देखाउँछ । आधार दर पनि घटने, ब्याजदर पनि घटदै जाने र आर्थिक गतिविधिहरु बढ्दै जाने प्रवृतिले गर्दा शेयर बजारमा लागनीकर्ताहरुले दिर्घकालमा राम्रै फाइदा लिन सक्ने देखिन्छ । अर्कोतर्फ नेपालको पूँजीबजारमा बैंकको हिस्सा बढी भएकाले पनि मौद्रिक नीतिको प्रभाव उच्च हुने गरेको हो । यसले मुद्रा बजारलाई रेगुलेट गर्दैगर्दा त्यसको असर पूँजीबजारमा उच्च हुनु पनि यही कारण नै हो । 

त्यसोभए शेयर बजारका लागि मौद्रिक नीतिको समिक्षामा उल्लेख भएका राम्रा पक्षहरु के–के हुन् ?   
मौद्रिक नीतिको समिक्षामा उल्लेख भएका राम्रापक्षहरु जसले शेयर बजारलाई राम्रो गर्छ ति विषयहरु भनेको पहिलो सीसीडी रेसियोमा कृषि, उर्जा, पर्यटन लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा सरकारले ब्याजदरमा दिएको सुविधाको गणना गर्नुनपर्ने व्यवस्था गरेको छ । यसले सिसिडी रेसियो भन्दा बाहीरबाट यस क्षेत्रमा लगानी गर्न पाउने भन्ने हो । त्यसका लागि कस्तो फण्ड चलाउने भन्नेमा छुट्टै व्यवस्था गरिएको हुन सक्छ । दोस्रोमा करिब ३ महिना अघि डेपुटी गभर्नरको नेतृत्वमा गठन भएको समितिले शेयर कर्जामा वृद्धि गरि बैंकहरुले ४० प्रतिशत सम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ जुन सकारात्मक हो । तेस्रोमा बैंकमा तरलता बढाउन विदेशी ऋणको दायरा बढाएको छ, स्थानीय तहको बजेटको पचास प्रतिशत पैसा चलाउन दिएको छ। जसले बैंकमा तरलता बढाउँछ । तरलता बढेपछि ब्याजदर घटन थाल्छ । यस्ता व्यवस्थाले नै बजारलाई सकारात्मक बनाउँछ भन्ने हो । त्यसैले दिर्घकालका लागि सोचेर लगानी गर्ने लगानीकर्ताले क्षणिकरुपमा आत्तिनुपर्ने अवस्था छैन् ।

बैंकको प्रभाव शेयर बजारमा उच्च हुने भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाबाट ल्याएका विषयहरुको महत्व बढी नै छ भन्न सकिन्छ हो ?
हो यस्तै अवस्था हो । किन भने केन्द्रिय बैंकले आधार ब्याजदर गणना पनि नयाँ तरिकाबाट गणना गर्दै छ । स्प्रेडदरमा पनि नयाँ व्यवस्था ल्याउदै छ । कतिपय क्षेत्रमा गरिने लगानीमा प्रिमियम तोक्ने नै भनिएको छ । अहिले बैंकहरुले चिनेजानेका र नचिनेकाहरुलाई फरक फरक प्रिमियम तोक्ने गरेको पाइन्छ । त्यसकाराण प्रिमियम राष्ट्र बैंकले तोकेपछि ब्याजदरमा एकरुपता आउँछ भन्ने हो । यस्तो व्यवस्था लागु हुने वित्तिकै बजारमा राम्रो प्रभाव पर्छ । 

अन्त्यमा शेयर बजारमा लामो समयदेखि आएको गिरावटको अवस्था कहिले सम्म रहने देख्नुहुन्छ ? 
बजार बढेपछि घटनै पर्ने अवस्था हो । जतिबेला बजार उच्च रुपमा बढेको थियो त्यतिबेला शेयर सप्लाई अत्यन्त बढेको थियो । यो माग र आपूर्तिको नियममा आधारीत पनि छ । २ अर्ब पूँजी भएका बैंकहरु ८ अर्ब पूँजी पुग्ने अवस्थामा थिए ।  त्यसबेला उत्साहित भएर लगानीकर्ताले लगानी बढाए । तवर विस्तारै शेयरको सप्लाई बढ्यो । जसले गर्दा बजारमा ठुलो गिरावट आयो । अब भने पूँजी वृद्धिको स्टेज करिब सकिएको छ । अब सप्लाई कम हुदै जान्छ र शेयरको माग बढन थाल्छ । तरपनि केहीसमय शेयर बजार १ हजार १ सयको वरिपरी नै रहला । यसले अबको एकदुई वर्षमा बाटो परिवर्तन गर्ने छ । शेयर बजारलाई अर्थतन्त्रले पनि प्रभाव पार्छ । विश्वव्यापी रुपमा हेर्ने हो भने करिब पाँच छ वर्षको अन्तरालमा अर्थतन्त्रमा परिवर्तन भएको देखिन्छ । यसले शेयर बजारलाई पनि प्रभाव पार्छ । नेपालमा लगानीकालागि वातावरण बनेको छ । जसले गर्दा शेयर बजारमा गरिने लगानीको भविश्य राम्रो देख्न सकिन्छ ।   

    
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]